नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले शुक्रबारदेखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) सुरु भएको छ । आयोजकले एक्सपो भोलीसम्म चल्ने बताएका छन् । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । ‘सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ’, उनले भने । आगामी वर्षको बजेटमा पर्यटनका कतिपय विषयहरु छुटेको स्वीकार गर्दै मन्त्री तामाङले छुटेका विषयहरुलाई बजेटमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरे । नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढि आगन्तुक सहित मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापक/संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । एस्क्पोमा शुक्रबार र शनिबार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल (प्यानल डिस्कसन) हुने छ । जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरुमा मन्थन हुने आयोजको धारणा छ । एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाडौं र रे–जिन–टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।
सीआईटीको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ । सीआईटीको सञ्चालक समितिको जेठ ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७९/८० काे नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सीआईटीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । कोषले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश बाँडेको थियो ।
श्रीलंकाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान
श्रीलंका । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ । सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलंका लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलंकामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् । दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।
निर्देशक लालसहित तीन जनाले पाए बीमा प्राधिकरणबाट अवकाश
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारीले अवकाश पाएका छन् । निर्देशक दिनेश कुमार लालसहित तीन जना कर्मचारीले आज (जेठ ३२ गते) बाट अवकाश पाएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्देशक लालसहित उपनिर्देशक कुशुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले अवकाश पाएका हुन् । लाल र कार्की प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत थिए भने शर्मा बिरगन्ज शाखा प्रमुख थिए । तीनै जनाले ३० वर्षे सेवा अवधि पुरा गरी प्राधिकरणबाट अवकाश पाएका हुन् । केही दिनअघि कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि अवकाश पाएका थिए । उनले ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पदबाट प्राधिकरणबाट अवकाश पाएका थिए ।
बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा
काठमाडौं । बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि जयपृथ्वी नगरपालिका–१० बझङस्थित चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हाे । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन, एमसीसीको डबल सर्किट लाइन जोडिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । उक्त आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौँडा सबस्टेसन निर्माणका लागि २०१८ डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
वर्षमै आधाले घट्यो ब्याज, सरकारी बैंककै न्यून
काठमाडौं । बैंकरहरूले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएको एक वर्ष पुगेको छ । वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति गत वर्षको साउनमा खारेज भएको थियो । गत वर्षको साउनदेखि बैंकले तरलताको स्थिति हेरेर आफैं ब्याजदर निर्धारण गर्दै आएका छन् । भद्र सहमति टुटेपछि पछिल्लो एक वर्षमा ४६ प्रतिशतसम्म घटेको छ । २०८० असारमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ १०.०४ प्रतिशत बिन्दु थियो भने संस्थागततर्फ ८.०४ प्रतिशत बिन्द थियो । एक वर्षको अवधिमा व्यक्तिगततर्फ ३१.५१ प्रतिशत घटेर २०८१ असारमा औसत ६.८८ प्रतिशत बिन्दु र संस्थागततर्फ २९.४१ प्रतिशत घटेर ५.६८ प्रतिशत बिन्दुमा झरेको छ । बैंकरहरूबीच भद्र सहमति टुटेपछि ब्याजदर घटेको देखिन्छ । भद्र सहमति तोडेको १ वर्षको अवधिमा कृषि विकास बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले व्यक्तिगततर्फ ४३.२८ प्रतिशत र संस्थागततर्फ ४९.८१ प्रतिशत ब्याजदर घटाएको हो । यस्तै, एभरेष्ट बैंकले व्यक्तिगततर्फ ४२.४४ प्रतिशत र संस्थागततर्फ ४०.५५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ३८.६३ प्रतिशत र संस्थागततर्फ ४७.२२ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ३८.५४ प्रतिशत र संस्थागततर्फ ३७.६६ प्रतिशत ब्याजदर घटाएका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ३७.७३ प्रतिशत र संस्थागततर्फ ३४.९१ प्रतिशत, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ३६.९३ प्रतिशत र संस्थागततर्फ ३३.६६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ३४.९३ प्रतिशत र संस्थागततर्फ ३१.१६ प्रतिशत, ग्लोबल आइएमई बैंकको व्यक्तिगततर्फ ३४.९३ प्रतिशत र संस्थागततर्फ २९.९१ प्रतिशत ब्याजदर घटेको छ । प्राइम बैंकको व्यक्तिगततर्फ ३२.४३ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत, सानिमा बैंकको व्यक्तिगततर्फ ३१.९३ प्रतिशत र संस्थागततर्फ २७.४० प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगततर्फ ३०.९३ प्रतिशत र संस्थागततर्फ २६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २४.९० प्रतिशत, सिद्धार्थ बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत ब्याजदर घटेको छ । नबिल बैंकको व्यक्तिगततर्फ २९.९२ प्रतिशत र संस्थागततर्फ २४.९० प्रतिशत, प्रभु बैंकको व्यक्तिगततर्फ २४.९२ प्रतिशत र संस्थागततर्फ १८.६४ प्रतिशत, माछापुच्छ«े बैंकको व्यक्तिगततर्फ २४.९२ प्रतिशत र संस्थागततर्फ २८.०३ प्रतिशत, एनएमबि बैंकको व्यक्तिगततर्फ २३.०२ प्रतिशत र संस्थागततर्फ १६.६४ प्रतिशत, एनआइसी एशिया बैंकको व्यक्तिगततर्फ २३.०२ प्रतिशत र संस्थागततर्फ १६.२७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगततर्फ २२.१३ प्रतिशत र संस्थागततर्फ २८.४६ प्रतिशत र हिमालयन बैंकको व्यक्तिगततर्फ १७.४१ प्रतिशत र संस्थागततर्फ १२.३९ प्रतिशत ब्याजदर घटेको हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता उच्च भएपछि ब्याजदर स्वतः घट्न पुगेको बैंकरहरू बताउँछन् । ब्याजदर न्यून हुँदा उद्योगी व्यवसायीलाई सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको भएपनि कर्जाको माग भने न्यून रहेको बैंकरहरूको भनाइ छ ।
अर्बौं डुबेका बचतकर्ताप्रति वेवास्ता, ऋण तिर्न बारम्बार ताकेता
काठमाडौं । सहकारी क्षेत्रको नियामक सहकारी विभागले सहकारी संस्थाहरूबाट ऋण लिएकाहरूले तत्काल ऋण तिर्न ताकेता गरेको छ । सार्वजनिक सूचना जारी गर्दै विभागले पछिल्लो समय तरलताको अभाव भएकोले बचतकर्ताको बचत फिर्ताका लागि पनि ऋण तिर्न ताकेता गरेको हो । विभागले अर्बौं रुपैयाँ बचत डुबेका बचतकर्ताको समस्यालाई वेवास्ता गर्दै तत्काल ऋण तिर्न भन्दै सहकारी संस्थाहरूको पक्षमा सूचना जारी गरेको हो । सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेकोले तत्काल ऋण तिर्न ऋणीलाई विभागले ताकेता गरेको हो । सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमानै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । ‘सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० मा सहकारी संस्थाहरुले ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु रहेको व्यहोरा सबैमा विदित नै छ, अतः प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन जानकारी गराईन्छ,’ सूचनामा भनिएको छ । साथै, सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र ब्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागले आग्रह गरेको छ । बचतकर्ताको बचत फिर्ताका लागि खासै चासो नदेखाएको विभागले ऋण तिर्न भने बारम्बार ताकेता गर्दै आएको । विभागले सहकारी सञ्चालकहरूको प्रभावमा परेर बचतकर्ताको बचत फिर्ताको उजुरीतर्फ ध्यान नदिएर ऋणीबाट ऋण उठाउनका लागि बढी प्राथमिकता दिएको जानकारहरू बताउँछन् । अहिलेसम्म विभागले समस्यामा परेका सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि प्रभावकारी काम गर्न सकेको छैन । सहकारीलाई समस्याग्रस्त घोषणा गर्न पनि समस्यामा ठूलो बदमासी तथा कमजोर भए पश्चात् मात्रै समस्याग्रस्त संस्थाका लागि मन्त्रालय समक्ष सिफारिस गर्दै आएको छ । यस्तै, विभागले दोहोरो सदस्यतामा पनि कडाइ गरेको छ । विभागले एकै व्यक्ति दुई सहकारी संस्थामा सदस्यता हुन नदिनका लागि कडाइ गरेको हो । एकै स्थानीय तहमा एकभन्दा बढी सहकारी संस्थामा सदस्यता रहेका भए सदस्यहरुलाई त्याग्नु पर्ने सूचना विभागले जारी गरेको हो । सहकारी ऐन, २०७४ दफा ३२(१) ले कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ । ‘सहकारी ऐनको उक्त प्रावधान विपरित कसैले एकै स्थानीय तहभित्र कार्यससञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरुको सदस्यता लिनुभएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्य गर्नुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।