पाथीभरामा १६ लाख ५० हजार बढी भेटी संकलन
फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा जेठ महिनामा १६ लाख ५० हजार रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार ९ सय ५६ रुपैयाँ संकलन भएको छ । संकलित भेटी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा २ लाख २८ हजार ८ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।
भारतमा सबैभन्दा ठूलो आईपीओ ल्याउँदै हुन्डाई, ताेडिएला एलआईसीको कीर्तिमान ?
काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो भारतीय इकाईको करिब १७ प्रतिशत सेयर आईपीओमार्फत बेच्ने विचार गरेको छ । कम्पनीले यस आईपीओबाट २५ हजार करोड भारु (लगभग ३ अर्ब डलर) जुटाउनेछ । यसरी कम्पनीको मूल्यांकन करिब १८ अर्ब डलर वा १.५ लाख करोड भारु हुनेछ । एलआईसीले देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने कीर्तिमान राखेको छ । कम्पनीले मे २०२२ मा २१ हजार करोडको आईपीओ जारी गरेको थियो । पेटीएमको मूल कम्पनी वन९७ कम्युनिकेशनको आइपीओको आकार १८ हजार ३०० करोड रुपैयाँ थियो, कोल इन्डियाको करोड र रिलायन्स पावरको ११ हजार ५६३ करोड रुपैयाँ थियो । दुई दशकभन्दा बढी समयमा भारतमा अटो कम्पनीको यो पहिलो आईपीओ हुनेछ । यसअघि देशकै ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सन् २००३ मा आईपीओ ल्याएको थियो । भारतको अटो सेक्टरमा मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्स लिस्ट भइसकेका छन् भने ओलाले जारी गर्ने तयारी गरिरहेको छ । मारुती देशको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । महिन्द्रा एण्ड महिन्द्रा दोस्रो र टाटा मोटर्स तेस्रो स्थानमा छ । बजार नियामक सेबीले भर्खरै ओलाको प्रस्तावलाई अनुमोदन गरेको छ । हुन्डाईले गत वर्ष आईपीओको तयारी गरिरहेको थियो । कम्पनीले चाँडै एसबीआईमा ड्राफ्ट रेड हेरिंग प्रोस्पेक्टस (डिआरएचपी) फाइल गर्ने विश्वास लिइएको छ । यस आईपीओअन्तर्गत कुनै नयाँ सेयर जारी गरिने छैन र हुन्डाई इन्डियाको मूल कम्पनीले अफर फर सेलअन्तर्गत आफ्नो सेयर बिक्री गर्नेछ । सिटी इन्डिया, जेपी मोर्गन इन्डिया, कोटक महिन्द्रा क्यापिटल मर्चेन्ट बैंकरहरू छन् जसले यो मुद्दा व्यवस्थापन गर्ने बताइएको छ । एजेन्सी
आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले वातावरण निर्माण गर्छ : अर्थमन्त्री पुन
ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको र यस क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१’ मा उनले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले महत्वाकांक्षी योजना अघि सारेको जानकारी दिए । ‘सरकारले बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा लगानी दशक घोषणा गरेर यो क्षेत्रलाई महत्वका साथ अघि बढाएको छ । अबको १० वर्षमा करिब ३० खर्बको निर्यात र १५ लाख जनशक्तिलाई रोजगारीको सम्भावना देखिएको छ, यसका लागि सरकारले नीतिगत स्थिरता र सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माणलाई जोड दिइएको छ,’ उनले भने, ‘पाँच वर्षसम्म करका नीति नफेर्ने, काठमाडौं उपत्यकाका कम्तीमा १० ठाउँ र प्रत्येक प्रदेशमा आइटी पार्क बनाएर तीन वर्षसम्म कुनै शुल्क नलिने योजना सरकारले बनाइरहेको छ ।’ आगामी आवको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको र मुलुकको आर्थिक समृद्धिका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति सरकारले लिएको उनले जानकारी दिए । अर्थमन्त्री पुनले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स–एआई) को विकासलाई मानव सभ्यता माथिको चुनौतीका रुपमा समेत हेर्न थालिएको भए पनि यसलाई औद्योगिक क्रान्तिको अर्को चरणका रुपमा लिइनुपर्ने र समग्र विकासका लागि महत्वपूर्ण माध्यमका लागि विकास तथा प्रयोग गरिनुपर्ने बताए । ‘एआईसँग समुदाय नै आतंकित छ । कृतिम बौद्धिकतासँग मानव जाति नै चिन्तित छ। मान्छेले जस्तै सोच्न सक्नेजस्तै गरी एआइले पनि सोच्न सक्ने भएपछि यो प्रविधि मान्छेको सहयोगीको रूपमा रहन सक्छ कि सक्दैन भन्ने मुख्य चुनौती हो,’ उनले भने, ‘तर, मानव जीवनलाई सहज बनाउनका लागि प्रविधिको प्रयोग अति आवश्यक छ र यो जीवनको यथार्थ बनिसकेको छ ।’ वस्तु तथा सेवाको उत्पादनमा सूचना प्रविधिको प्रयोगलाई औद्योगिक क्रान्तिको पाँचौँ चरणका रूपमा लिने गरिएको उल्लेख गर्दै अर्थमन्त्री पुनले नेपालजस्ता मुलुकले यसलाई अवलम्बन नगर्ने हो भने आर्थिक र प्रविधिका क्षेत्रमा थप पछि पर्दै जाने बताए । कार्यक्रममा एआईविज्ञ डा. विवेक पौडेलले सूचना प्रविधि क्षेत्र र एआइले सरकारको नीति कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने, ‘पूर्वाधार निर्माण, कृषि क्षेत्र, सेवा प्रवाह, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा एआइको प्रयोगले उल्लेख्य नतिजा दिनसक्छ । मुलुकको अर्थतन्त्र र रोजगारी विकासमा यसको भूमिका महत्वपूर्ण हुन्छ ।’ डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास कमजोर रहेको जनाउँदै विश्वस्तरमा प्रतिस्पर्धाका लागि सरकारको नीति, लगानीलगायतका आवश्यक सहयोग आवश्यक पर्ने बताए । उनले भने, ‘सन् १९९५ देखि २००५ सम्ममा नेपाल सूचना प्रविधि क्षेत्रको विकासमा अन्य थुप्रै देशसँग प्रतिस्पर्धी भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपाल अहिले पछि परेको छ । सञ्चार क्षेत्रले पनि नयाँ प्रविधि अवलम्बन नगर्ने हो भने मूलधारका सञ्चारमाध्यमलाई वैकल्पिक सञ्चारमाध्यमले छायामा पार्न सक्छ ।’ सम्मेलनकासहभागीलाई एआइले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको थियो । अध्यक्ष सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिएका थिए । लगत्तै एआइ प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री पुनसहित अतिथिलाई मन्तव्यमार्फत स्वागत गरेको थियो । सम्मेलनमा एआइकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारिएको थियो । भिडियोमा कृत्रिम बौद्धिकतामार्फत तयार पारिएका टेलिभिजन कार्यक्रम प्रस्तोताझैँ लाग्ने एक युवकले सम्मेलनको आवश्यकता, एआइले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रस्तुति दिएका थिए ।
सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले ३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । चालु आवमा संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशका लागि ६० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । सशर्त अनुदान प्रदेशका लागि २५ अर्ब ८४ करोड रुपैयाँ, पूर्वाधारका आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान ६अर्ब २० करोड उपलब्ध गराउने छ । संघीय सरकारले हरेक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यस्तै प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसैबीच, बागमती प्रदेश सरकारले आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले ६० अर्ब बराबरको बजेट प्रस्तुत गर्ने भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । आर्थिक तरलता, न्यून आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भएको मन्त्री थपलियाले बताए । उनका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता दिनेछ । बागमती प्रदेश सरकारले चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट ल्याएको थियो ।
पार्टीलाई संगठनको आवश्यकता महसुस भयो : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘ तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं, संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो, सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरू नै भएनन् ।’ संगठन र कार्यकर्ता नहुँदा समुदायसम्म पुग्न कठिन भएको अनुभव उनको छ । यसको पछिल्लो उदाहरण तनहुँ र इलामको उपनिर्वाचन भएको बताए । तर, पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरू सचेत रहेको उनको भनाइ छ ।
उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारीखेती, वार्षिक ५ लाखसम्म आम्दानी गर्ने लक्ष्य
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छिन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा तरकारी खेती गरिरहेकी छिन् । उनी पशुपक्षी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् । उनले भनिन्, ‘गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छु ।’ उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बंगुरलगायतको प्रांगारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताइन् । ‘मैले दुई वर्षअघिबाट व्यावसायिक रूपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु,’ उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।’ विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । ‘कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर, हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु।’ उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उनले बताइन् । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ । कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन् । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् । ‘हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भनिन्, ‘एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ।’ उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ। गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उनले जानकारी दिइन् । ‘हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ,’ उपाध्यक्ष राईले भनिन्, ‘गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ। कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ । रासस
काठमाडौं उपत्यकामा आजदेखि मनसुन सक्रिय हुने
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
एमसीसीअन्तर्गत रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, ३९ महिनाभित्र निर्माण हुने
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ । ५ करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सबस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो । उक्त सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टिएसडिपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।’ निर्माण सम्झौतामा हस्ताक्षरपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ । आगामी केही वर्षमा एमसिसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ ।’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसिए नेपालले सवस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको छ । दमौलीमा निर्माण गरिने तेस्रो सवस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको छ भने १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागिपरेको बोलपत्रको मूल्यांकन भइरहेको छ । हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’ चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ । एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनःबोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।