विकासन्युज

सुदूरपश्चिममा ल्याइयो ३१ अर्ब बढीको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । यस्तै, मन्त्री पालले अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको जानकारी दिए ।

लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार चालु आर्थिक वर्षभन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री आचार्यद्वारा सार्वजनिक बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ काा लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो । यो बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रुपैयाँले कम हो । गण्डकी प्रदेशकाआर्थिक मामिला मन्त्री टकराज गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । चालु वर्षमा कोशीको बजेट ३६ अर्ब ६४ करोड थियो । आगामी आर्थिक वर्षका लागि कोशीले झन्डै एक अर्ब रुपैयाँको बजेट घटाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रानाले बजेटमार्फत कृषि क्षेत्रको उत्पादकत्व बढाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पुर्वाधार विकासमा जोड दिने घोषणा गरेका छन् ।

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ । शनिबार आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले संसदबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत रहेको छ । पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ अर्थात ५९.७ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उखु किसानले पाए १ अर्ब ६१ करोड भुक्तानी

जलेश्वर ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले १ अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।’ समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए । उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कुल २ लाख ६४ हजार ४ सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए ।

भानु स्मृति उद्यानमा धमाधम पूर्वाधार निर्माण

तनहुँ । तनहुँको भानु नगरपालिका–४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणले गति लिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति उद्यानअन्तर्गत विभिन्न संरचना बनिरहेको हो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित भानु स्मृति उद्यानमा पूर्वाधार निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार उद्यानमा गत चैतदेखि पूर्वाधार निर्माण जारी छ । विसं २०८० चैतमा स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको थियो । सोही बमोजिम यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण थालनी गरिएको उनले बताए । उनका अनुसार यहाँ पहिलो चरणमा स्वागतद्वार, टिकट काउन्टर, पालेघर र शौचालय निर्माण गरिनेछ । त्यसका लागि सहरी विकास मन्त्रालयमार्फत ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । आदिकवि जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति उद्यान निर्माण थालिएको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । उनले भने, ‘भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई पूरा गराउनका भानु उद्यान निर्माण सुरु भएको हो ।’ विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्यान निर्माणका लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने जनाइएको छ । उद्यानमा भानुभक्त आचार्य, मोतीराम भट्ट र भानुभक्तलाई चिनाउने घाँसीको मूर्ति निर्माण गरिनेछ । त्यस्तै हल, मन्दिर, पानीको फोहरा, सानो चिडियाखाना र बालबाटिका उद्यानमा निर्माण गरिनेछ । जन्मस्थल विकास समितिकै मातहत रहेको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको हो । गत वर्ष नै निर्माण सुरु भइसक्नुपर्नेमा मन्त्रालयबाट बजेट विनियोजन नहुँदा काम ढिलाइ भएको जनाइएको छ । जन्मस्थल विकास समितिकै सक्रियतामा चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको छ । उनले भने, ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचनाहरू र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन । चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।’ समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि एक करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । शिखर कटेरीमा भानुभक्तको घर खण्डहरमा अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनर्निर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । शिखरकटेरीमा भानुभक्तको घर शिलान्यास भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । अब पश्चिमाञ्चल विकास मञ्चको लगानीमा भानुगृह निर्माणको तयारी थालिएको हो । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिका तर्फबाट आवश्यक सहयोग रहने कार्यकारी निर्देशक रानाभाटले बताए । विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । उनले भने, ‘भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौं, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।’ यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायत कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनर्निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।

झापामा कृषि प्रवर्द्धनका लागि प्रदेश सरकारको १० करोड ५३ लाख अनुदान

बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ । चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई ९ करोड ५ लाख र कृषि ज्ञान केन्द्रमार्फत १ करोड ४८ लाख रुपैयाँ उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ । जिल्लाका ६ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि ३ करोड ४० लाख, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि ३ करोड रुपैयाँ ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए । जिल्लाका तीनवटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि रु ६० लाख उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ । नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्रांगारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख र तरकारी संकलन केन्द्र निर्माण गर्न २० लाख रुपैयाँ स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई रु एक(एक लाख अनुदान दिएको छ । यसैगरी, सुपारी प्रशोधन उद्योग पूर्वाधार यन्त्र उपकरण सहयोगअन्तर्गत सातवटा उद्योगलाई ४० लाख, जैविक विषादी उत्पादनका लागि एउटा कृषि सहकारी र फार्मलाई ७५–७५ हजार, जुटखेती प्रवर्द्धनका लागि ६ जना किसानलाई पाँच लाख, गड्यौँला मल तथा प्राङ्गारिक मल उत्पादनका लागि पाँच लाख, मागमा आधारित कार्यक्रमका लागि १२ लाख ५० हजार र केराखेतीका लागि ढुवानी साधनमा सहयोगका लागि १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ । कृषि प्रवर्द्धन कार्यक्रमले जिल्लामा मकै र धान उत्पादन बढेको बढेको छ । मकै उत्पादकत्व पाँच मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई सात मेट्रिकटन पुगेको तथा धानको चार दशमलव पाँचबाट वृद्धि भएर पाँच दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख विष्टले बताए ।