प्रतिकूल मौसमका कारण आन्तरिक उडान बन्द
काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए । उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक तर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’ अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडान तर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
नाकाहरूमा प्रहरीको माइकिङ, जोखिम छ, उच्च सतर्कता अपनाउनुहोला
काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङ सहित आग्रह गर्न थालेको छ । ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ । वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह सहित माइकिङ गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी बताए । उनले भने, ‘हालैको मौसम पूर्वानुमान अनुसार ३ दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समय सवारी सञ्चालनमा जोखिम रहन्छ । त्यसैले चालकहरूलाई सचेत गराउनका लागि उपत्यकाका प्रमुख नाका तथा व्यस्त स्थानहरूमा माइकिङ सुरु गरेका छौँ ।’ विशेषगरी उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा ट्राफिक प्रहरी परिचालित गरी गए रातिदेखि चालकहरूलाई मौखिक सूचना, माइकिङ गर्न थालिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन समेत आग्रहसहित माइकिङ गरिएको उनको भनाइ छ । उनले भने, ‘विशेषगरी पहाडी तथा पहिरोको जोखिम भएका मार्गहरू जसमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत पर्छन्, त्यहाँ जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता क्षेत्रतर्फ जाँदा झनै सतर्क रहनु आवश्यक छ ।’ वर्षातका समयमा पहिरो, सडक कटान र सडकमा ढल्किने पानीका कारण सडक अवरुद्ध हुने, सवारी साधन बिग्रने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले ट्राफिक प्रहरीले विगत वर्षहरूमा देखिएका समस्याबाट पाठ सिक्दै यसपालि सुरुआतदेखि नै सतर्कता अपनाएको जनाएको छ । ट्राफिक प्रहरीले हाल देशभरका मुख्य सडक र राजमार्गहरूमा नियमित गस्ती, ट्राफिक पोस्टमार्फत सूचनाको आदानप्रदान तथा विपद्को स्थिति आउँदा तत्काल सूचना प्रवाह र उद्धार कार्यका लागि तयारी अवस्थामा ट्राफिक टोलीलाई राखेको जनाइएको छ । सडक प्रयोगकर्ताहरूसम्म यथासमय सूचना पुगोस् भनेर ट्राफिक प्रहरीले सामाजिक सञ्जालहरू, जस्तै फेसबुक, ट्विटर (एक्स) र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति, तथा आकस्मिक सडक बन्द सम्बन्धी जानकारीहरू प्रकाशित गर्दै आइरहेको छ । देशभरका सडकहरूमा बढ्दो ट्राफिक चाप, अपायक मौसम, र कमजोर भौतिक पूर्वाधारका कारण दुर्घटनाको जोखिम स्वाभाविक रूपमा बढ्ने भएकाले यस्तो समयमा सवारी चालक, यात्री तथा सरोकारवालाबीच आपसी समन्वय र सचेतना अत्यावश्यक हुने उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले भने, ‘सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ' भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता आजको दिनमा झनै बलियो रूपमा महसुस गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी सक्रिय रूपमा सडकमा खटिएको छ ।’
उपत्यकासहित देशभर वर्षा, पछिल्लो एक घण्टामा कुन ठाउँ कति वर्षा भयो ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौंमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिन भर कायस्थले जानकारी दिए । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।
नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडक खण्ड एकतर्फी सञ्चालन
काठमाडौं । पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङ बेनिघाट रोराङ-१० जवाङ खोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइन खोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । पहिरो पन्छाइने र सवारी साधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानी पूर्वक यात्रा गर्न उनले आग्रह गरे । पानी परिरहेको र ढुङ्गा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।
भारत-चीन सम्बन्ध सामान्य बन्दै, ५ वर्षपछि प्रत्यक्ष उडान गर्दै
काठमाडौं । भारत र चीनबीच ५ वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ । दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् । सन् २०२० मा कोभिड-१९ महामारी सुरु भएपछि दुवै मुलुकबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो । त्यसपछि पनि बेइजिङ र नयाँदिल्लीबीच सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदा उडान सेवा निरन्तर निलम्बित रह्यो । चीनका लागि भारतीय दूतावासले सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित एक विज्ञप्तिमा तोकिएका केही प्रमुख सहरहरूबीचको प्रत्यक्ष उडान अक्टोबर महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने उल्लेख गरेको छ । तर यो निर्णय कमर्सियल विमान सेवाहरू अर्थात् एयरलाइनहरूको अन्तिम सहमति र तयारीमा आधारित हुने जनाइएको छ । दूतावासले यसलाई भारत सरकारले अवलम्बन गरेको ‘भारत-चीन सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्ने नीति’ अन्तर्गतको महत्त्वपूर्ण कदम भएको पनि स्पष्ट गरेको छ । यसबीच, भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी इन्डिगोले बिहीबार घोषणा गर्दै अक्टोबर २६ देखि भारतको कोलकाता र चीनको ग्वान्झाउबीच प्रत्यक्ष उडान सेवा पुनः सञ्चालन गर्ने बताएको छ । यो विकास हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सात वर्षपछि चीन भ्रमणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । प्रधानमन्त्री मोदीले गत महिना एक क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुन चीनको यात्रा गर्नुभएको थियो, जसलाई दुई देशले आपसी सम्बन्धलाई पुनः सहज बनाउने प्रयासका रूपमा हेरिएको छ । स्मरणीय छ, सन् २०२० मा भारत-चीन सीमा क्षेत्रमा हिमाली क्षेत्रमा भएको झडपपछि दुवै देशबीचको सम्बन्धमा गम्भीर गिरावट आएको थियो । त्यस घटनामा चार जना चिनियाँ सैनिक र २० जना भारतीय सैनिकको ज्यान गएको थियो, जुन दशकमै भएको सबैभन्दा भीषण हिंसात्मक झडप मानिएको थियो । त्यसपछिका वर्षहरूमा उच्चस्तरीय राजनीतिक सम्पर्क र सहकार्यमा ठप्प अवस्था देखिएको थियो ।
पहिरो खसेपछि नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडक अवरुद्ध
काठमाडौं । वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएका कारण पहिरो पन्छाउने कार्य सुरु गरिएको छैन ।
४० मेगावाट क्षमताको राहुघाट आयोजना ९० प्रतिशत सम्पन्न
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको विद्युतगृहमा उपकरण जडान थालिएको रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले बताए । ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट बताए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
आज ४ प्रदेशका यी नदीमा बहाव बढ्न सुरु हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ । विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए । ‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदी नालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,’ उनले भने । उनका अनुसार आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ । आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।