विकासन्युज

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।  मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौंको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन् ।  वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।  

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन

काठमाडौं । मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै शनिबार बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । 'अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौंतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्', उनले भने, 'सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।' सडक विभागले बिपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।   

कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द

ललितपुर । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।     

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ । बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नुपरेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन् । सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पालगायत जिल्लाबाट राजधानी काठमाडौँ, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ । हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ । सडक बन्द हुँदा घण्टौँसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए । बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गर्नुभयो । बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनको भनाइ छ । सडकलाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकाय उदासिन बनेको थापा मगरले बताए । उनले भने, 'यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौँ जाने गर्छन्, पहिले हामीहरू सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौँ जाने गर्थ्यौं, अहिले यो राजमार्गले काठमाडौँसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौँ, दुईरतीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन ।' मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ । पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर रहेको छ । अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ । मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए । निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालापैराखोलामा आउने बाढी रोक्नका लागि ग्रामीण सडकनै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए । यहाँको समस्या समाधान गर्नका लागि सडक विभागमै पत्र पठाउने उनी बताउँछन् । 'अहिले जनु ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचारु गर्नका लागि एउटा मेसिन स्टानबाई राख्नु राखेका छौँ', उनले भने, 'स्थानीय तहले माथिल्लो क्षेत्रमा रहेको सडकलाई व्यवस्थित गर्‍यो भने यसको समाभान हुने थियो, हामीहरूले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौँ ।' सडकमा हिलो बग्दा कानाबगर बजारनै कुरूप बन्न थालेको छ । यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए । लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ । लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए । रासस

ग्रामीण अस्पतालमै सम्भव भयो जटिल प्रसूति, आमा र शिशु सुरक्षित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आएका थिए । ती किशोरी पहिलोपटक आमा बनेकी हुन् । अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार पहिलोपटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा शिशु उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशुको जीवन जोखिममा रहेको थियो । गर्भ उल्टो हुँदा शिशु जन्मँदा टाउको अड्किएको र जन्मिँदा निसास्सिएर शरीर नीलो भएको थियो । 'शिशु उल्टो भएको र पूरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भए पनि सुत्केरी गराउन ढिलाइ गर्न नहुुने निर्णय लियौँ', उनले भने, 'निसास्सिएर शरीर नीलो, मुटुको घड्कनको गति १०० भन्दा कम, स्वासप्रस्वासको दर न्यून भएको र शरीर पनि नचल्ने अवस्थामा जन्मिएको शिशुलाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौँ ।' जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरूको परामर्श तथा निर्देशनमा प्रसूति गराएका हुन् । 'जटिल अवस्थामा जन्मिएको शिशुलाई डा बास्तोलाको अनलाइन परामर्शको आधारमा हरसम्भव उपचार प्रयास गरियो', नेपालीले भने, 'ब्याग एण्ड मास्क’को सहायताले करिब १२र१३ पटक हावा दिएपछि शिशुको ओठ पनि गुलाबी हुँदै रुन थालेपछि खुसीको सीमा रहेन ।' स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका अनुसार गर्भमा उल्टो भएका र निसास्सिएर जन्मिएका शिशुलाई बचाउन कठिन हुन्छ । वीरलै मात्र नवजात शिशुलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रियामार्फत प्रसूति गराइन्छ । ग्रामीण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरूले सीमित स्रोत र साधनका बाबजुत जटिल किसिमको प्रसूति सेवा दिएका हुन् । शिशुको तौल दुई किलोग्राम ५०० ग्राम छ । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा व्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पतालमार्फत पोखरा पठाइएको जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । रासस  

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको  छ ।  यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।  यसैबीच, पहिरोका कारण बिहानदेखि  अवरुद्ध अरनिको राजमार्ग एकतर्फी  सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ । 

२ दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

काठमाडौं । मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका-४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए ।  ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ । दसैँको बिदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक १०० जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू-भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए । 

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन ३ दिन बन्द

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको छ । बढ्दो वर्षा र बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।  ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन नचलाउन भनिएको छ । साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारी साधन आवतजावत बन्द गर्न तथा गराउन एवं सो को निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन निर्देशन गरिएको छ ।