विकासन्युज

पोखरामा जेसीबी नेपालको १२ मेसिन हस्तान्तरण, पूर्वाधार विकासमा नयाँ गति

काठमाडौं । जेसीबी नेपालले पोखरामा आयोजित ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप ब्याकहो लोडर तथा एक्स्काभेटर समावेश रहेका छन् । नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक रूपमा विश्वास गरिएका छन् । ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरहरूको सञ्जालमार्फत जेसीबी नेपालले भरपर्दो आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको छ, जुन प्रतिस्पर्धात्मक कन्स्ट्रक्सन इक्विपमेन्ट बजारमा महत्वपूर्ण मानिन्छ । कन्स्ट्रक्सन क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र ग्राहक अपेक्षामा आएको परिवर्तनबीच यो हस्तान्तरणले बजारमा प्रमाणित कार्यसम्पादन र दीर्घकालीन मूल्यप्रतिको झुकाव स्पष्ट पारेको छ । कार्यक्रममा पश्चिम क्षेत्रका अग्रणी ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूको जेसीबी उपकरणप्रतिको लगानीले भरपर्दो प्रविधि, निरन्तर सेवा समर्थन तथा न्यून सञ्चालन जोखिमप्रति बढ्दो प्राथमिकता देखाएको छ । जेसीबी नेपालले यस क्षेत्रमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाएको छ । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीले यो उपलब्धि औपचारिक हस्तान्तरण मात्र नभई बजारको वास्तविक विश्वासको संकेत भएको बताए। उनले ग्राहकहरू लगानी प्रतिफलप्रति सचेत बन्दै गएको उल्लेख गर्दै कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयता व्यवसायिक सफलताका मुख्य आधार भएको बताए । पश्चिम नेपालमा तीव्र गतिमा अघि बढिरहेको पूर्वाधार विकाससँगै मेसिनको सञ्चालन क्षमता, स्पेयर पार्ट्सको उपलब्धता र जीवनचक्र लागत उपकरण छनोटका मुख्य आधार बन्दै गएका छन् । जेसीबी नेपालको सुदृढ सेवा प्रणालीले न्यून डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्दै ग्राहकलाई लाभ प्रदान गरिरहेको छ । कार्यक्रममा लाइभ मेसिन प्रदर्शन तथा अन्तरक्रियात्मक ग्राहक सहभागिता सत्रहरू समेत आयोजना गरिएको थियो । यसले कम्पनीको पारदर्शी र व्यवहारिक कार्यशैलीलाई थप उजागर गरेको छ । यस हस्तान्तरणसँगै जेसीबी नेपालले पोखरामा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ भने क्षेत्रीय बजारमा नयाँ प्रतिस्पर्धात्मक मापदण्ड स्थापना गरेको जनाएको छ ।   

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ५३ सय ४० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ५३ सय रुपैयाँमा कारोबार भएको थियो ।    

राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषदले गर्यो स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ ।  आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको हो । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भने, ‘ नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।’ आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ ।  संसद् सचिवालयका अनुसार सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ठिक १०ः३० बजे बैठक बस्न लागेको जानकारी दिइएको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ। साथै केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने अपेक्षा गरिएको छ।

आज राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनअन्तर्गत आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई संयुक्त बैठक सुरु हुनुअघि अपराह्न ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष ९बहुउद्देश्यीय कक्ष०, सिंहदरबारमा उपस्थित हुन आग्रह गरेको छ । यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका रहेको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइनेछ भने मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत नियम २६० बमोजिम जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । अधिवेशनको प्रारम्भसँगै सरकारले जारी गरेका विभिन्न अध्यादेश संसद्मा पेस गरिनेछ । संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गर्ने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममार्फत सरकारका प्राथमिकता, आर्थिक दिशा र विकासका मुख्य योजनाहरु सार्वजनिक गर्ने भएकाले आजको संयुक्त बैठकलाई महत्वका साथ हेरिएको छ ।

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो ।      विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।      विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेको उनको भनाइ छ ।    

सिताके च्याउ केजीको १००० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो लाम्चो प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९५, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६५, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १४०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २६०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २००, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ५५०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी (सुकेको) प्रतिकेजी रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । 

बोटलर्स नेपालको नाफामा उछाल, तराईको २४३ र बालाजुको १ हजार २७६ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बोटलर्स नेपाल समूहका दुवै कम्पनी– बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले उल्लेख्य नाफा आर्जन गरेका छन् ।  बोटलर्स नेपाल (तराई) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा २४३ प्रतिशत बढेर २७ करोड ७० लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५५ करोड ८० लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३६ लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ५५ करोड ४७ लाख ७९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ७ करोड २ लाख ३५ हजार रुपैयाँ, सञ्चालन नाफा ३९ करोड ९९ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २२ करोड २३ लाख ७७ हजार रुपैयाँ कुल नाफा, ५ करोड ३६ लाख ८१ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २४ करोठ ७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३३ लाख ८ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च ९७ करोड ७४ लाख ९८ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २४ करोड ७५ लाख ५० हजार रुपैयाँ र वित्त लागत १० करोड ९६ लाख ६९ हजार रुपैयाँ रहेको छ ।  १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६७ करोड ५८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार १३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९ गुणा रहेको छ ।  बोटलर्स नेपाल (बालाजु) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २७६ प्रतिशत बढेर २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ६५ करोड ४१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७ करोड ४४ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ अर्ब १३ करोड ६५ लाख ९३ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६ करोड ६३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ३९ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८२ करोड ३२ लाख ४० हजार रुपैयाँ कुल नाफा, २ करोड ५० लाख ८३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २३ करोड २१ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ५१ करोड ७५ लाख २९ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च १ अर्ब ३१ करोड ३२ लाख ४७ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ४९ करोड ३१ लाख ५८ हजार रुपैयाँ र वित्त लागत १२ करोड २१ लाख ८२ हजा रुपैयाँ रहेको छ ।  १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड ६७ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११७ गुणा रहेको छ ।