मन्त्रालयको समन्वयपछि छोडिए शर्मा र बडु

काठमाडौं । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्सट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई सरकार र प्रहरी बसेर छलफल गरिसकेपछि छोडिएकाे छ । 

यसअघि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतका कर्मचारी र प्रहरी अधिकारीहरुबीच छलफल भएको थियो । 

विभिन्न आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा मन्त्रालयले उनीहरुसँग छलफल गरेको थियो । उनीहरुले ढिलो भइरहेका आयोजना समयमै सम्पन्न गर्ने आश्वासन दिएपछि सहज रुपमा छोडिएको बताइएको छ । 

शर्मा एण्ड कम्पनीका अध्यक्ष शर्माले सोमबार बिहान मन्त्रालयमा छलफल भएपछि सहज रुपमा फर्किएको बताए । ‘बिहान छलफल भएको हो, केही अन्डरस्टाण्डिङ भएको छ, मन्त्रालयबाट फर्किसक्यौं’ उनले भने । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले उनीहरुलाई नियन्त्रणमा लिएर मन्त्रालयको समन्वयमा छोडिएको जानकारी दिए । 
 

Share News