विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
काठमाडौं । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगर प्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गएरातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौंलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ । काठमाडौंको हकमा भने नगर प्रहरी परिचालन गरीसकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ । महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।
सहयोगका निम्ति तयार रहन एमालेको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । महासचिव पोखरेलले आज अपिल जारी गर्दै जन सुरक्षालाई प्राथमिकता दिई सरोकार भएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिए । साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरे । ‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु,’ महासचिव पोखरेलले भने ।
हेटौंडा-काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने, यात्रुहरू अलपत्र परे
काठमाडौं । बाढी पहिरोको जोखिम बढेकाले हेटौंडा-काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौंडा-काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौंडा-भैँसे-फाखेल सडक र हेटौंडा-चित्लाङ-काठमाडौं सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौंका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौंडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् । हेटौंडा-काठमाडौं जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता बोगटीले बताए । यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गरे । उनले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गरे ।
अविरल वर्षा: विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडक खण्डमा अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ । पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ देखि बिहान ५ बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । हाम्रा समाचारदाताका अनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ ।
स्ट्याण्डबाइ बस्न सबै कर्मचारीलाई मन्त्री घिसिङको निर्देशन, फोन र मान्छे उपलब्ध नहुने अवस्था नआओस्
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सबै कर्मचारीहरूलाई स्ट्याण्डबाइ बस्न निर्देशन दिएका छन् । विपदको समयमा सबै कर्मचारीहरूलाई फिल्डमा जान स्ट्याण्डबाइ रहन उनले निर्देशन दिए । मनसुन सक्रिय भइ बाढी पहिरो जान सक्ने सम्भावना र मानवीय क्षति हुन सक्ने सम्भावना रहेकाले रोक्नका लागि जे जस्तो अवस्था छ सोही अनुसार काम गर्नुपर्ने उनले बताए । ‘फोन गर्दा फोन उपलब्ध नहुने र मान्छे खोज्दा उपलब्ध नहुने होइन, दसैँ सकिसकेको छ, आजै देखि सबै जना स्ट्याण्डबाइ रहनु होला, सडक, सिचाईका कर्मचारी । जुन जुन निर्देशन आउँछ सोही हिसाबले काम गर्नका लागि तयार हुनुहोला । बजेट छैन भनेर रोक्ने होइन । विशेष परिस्थितिमा तत्काल काम गर्नुपर्छ,’ मन्त्री घिसिङले भने । उनका अनुसार डुबान हुन सक्ने अवस्थामा तत्काल गर्न सक्ने काम तत्काल गर्ने र तत्काल नसकिने भए रेस्क्यू गर्नुपर्छ । कार्यालयमा बस्ने होइन की सबैले सहयोग गरेर आफूसँग भएका उपकरण प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘आम जनसमुदायलाई पनि यो विषम परिस्थितिमा सतर्क भएर यात्रा गर्न अनुरोध छ । दुई दिन ढिला भएर केही हुँदैन । यात्रा सुरक्षित हुनुपर्छ । आज राती र भोलीको दिन सुरािक्षत हौं,’ उनले भने, ‘खोला किनारको बस्तीहरुमा गृहमन्त्रीसँग समन्वय भइरहेको छ । रातीको समयमा बढी बाढी आउन सक्ने भएकाले खोला किनारका वासिन्दाहरु एक रात सुरक्षित ठाउँमा बस्नु होला ।’
आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् । जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । 'यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ', उनले भने । यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ ।
पर्वतका ११ लघु जलविद्युत् आयोजना बन्द, करोडौं मूल्यका उपकरण अलपत्र
पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई दशकभन्दा अघि युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्ण रुपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र बनेका छन् । सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–६ स्थित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नंं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका–११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपलिका–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्ण रुपमा बन्द रहेका छन् । त्यस्तै विहादी गाउँपालिका–१ बाच्छा बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गले मा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ । यस्तै महाशिला गाउँपालिका–२ भोक्सिङको छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । 'पच्चीस वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ तिरे पुग्थ्यो', तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने, 'केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।' युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । सबै आयोजनाका लागि दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारण लाइनको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले अलपत्र अवस्थामा पुगेका हुन् । रासस
देशभरका यी ४० जिल्लामा अतिभारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरका ४० जिल्ला उच्च जोखिममा रहेको जनाएको छ । विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको र आज बेलुका ७-८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना रहेको छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन उनले अनुरोध गरे । विभागका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रसुवा, नुवाकोट, धादिङ जिल्ला उच्च जोखिममा छन् । यस्तै, सुनसरी, उदयपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलुढंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम जिल्ला, रुपन्देही, कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेका छन् ।