विकासन्युज

उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।  आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन भनेको हो ।    'सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ', प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

गृह मन्त्रालयले वायुसेवा सञ्चालकहरूलाई भन्यो- हेलिकप्टर तयारी अवस्थामा राख्नू

काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न पत्राचार गरेको छ ।  मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध हो । भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौतालाई गृहले स्मरण गरेको छ । ‘मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनु हुन अनुरोध छ,’ गृहका उपसचिव निशानराज गौतमले लेखेको चिठीमा उल्लेख छ।

पाँचथर जिप दुर्घटना : ६ जनाको मत्यु, ६ जनाको अवस्था गम्भीर

पाँचथर । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।  सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । 

पृथ्वीराजमार्ग खुल्यो

मुग्लिन । पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।  चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।  

नदी किनारका बस्तीलाई सतर्क रहन मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको हो । मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिए । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।  

गुल्मीको पश्चिमी क्षेत्रमा एकैपटक ४ पक्की पुल निर्माण, नागरिकमा खुसी

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् । उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो । त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दै आउनुपरेको थियो । पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटकपटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 'पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ', गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसङ्ख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएको छ । रासस

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा

काठमाडौं । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।   विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत  १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।  हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ । 

पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न अनुरोध

काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र  रकम जम्मा गर्न अनुरोध गरेको हो ।  सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार मुक्त नेपालको पवित्र माग सहित यही भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।