विकासन्युज

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । अहिले राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसका लागि दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् । निक्षेप संकलन परिपक्वता वा साँवा ब्याज भुक्तानी आउँदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुने बताइएको छ ।

मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ । वित्तीय परामर्श अन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरफेर जस्ता सेवाहरु उपलब्ध गराउने छ ।

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ४ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापकहरूले उक्त सेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले समझदारीमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईकोमा १०प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।

ट्रयाक खुलेको १८ वर्षपछि एक करोडमा ग्रामीण सडक कालोपत्र गरिँदै

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए । उनले भने, ‘यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुशी छौँ ।’ यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ । रासस

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम संस्थाको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट डिबेन्चर संख्या २ लाख ६० हजारको १००० रुपैयाँ प्रति दरले २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरेको छ । ८ वर्षे अवधि रहने सो डिबेन्चर २ लाख ६० हजार संख्याको प्रति इकाई १००० रुपैयाँको रहने र व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने कम्पनीकी सुचना अधिकारी अर्चना प्रधानले जानकारी दिइन् । यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।

बागमती प्रदेशसभा : आजदेखि बजेटमा छलफल

बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

सिद्धार्थ बैंकको नयाँ च्याप्टर सुरु, ‘डिजिटलमा अग्रणी बैंक बनाउँछाैं’

काठमाडौं ।तपाईंको दैनिक खर्च कति हुन्छ ? पक्कै पनि दैनिक सानोदेखि ठूलो रकम विभिन्न कार्यमा खर्च भइरहेकै हुन्छ । खर्च मात्रै छ उपलब्धि छैन । कहिलेकाहीँ त आफ्नो खर्च देखेर पनि दिक्दार लाग्छ, टाउको दुख्छ । तर, खर्च गरेको पैसाले केही दिन्छ भने त्यसले पक्कै पनि खुसी बनाउँछ । त्यस्तै फाइदा र काइदा हुने गरी सिद्धार्थ बैंकले ल्याएको छ ‘सिद्धार्थ रिवार्डस् यसमा प्वाइन्ट छ’ । नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक प्रत्येक डिजिटल कारोबारमा रिवार्ड दिने प्रडक्ट सिद्धार्थ बैंकले बुधबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकको चिफ मार्केटिङ अफिसर सुरेशराज महर्जनका अनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले डिजिटल कारोबार गर्दा रिवार्ड प्वाइन्ट प्राप्त गर्नेछन् । बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ लगायत डिजिलट माध्यमबाट कारोबार गर्दा हरेक १ सय रुपैयाँ बराबर १ प्वाइन्ट प्राप्त गर्न सकिने उनले बताए । तर, उक्त सेवा प्राप्त गर्न अनिर्वाय रूपमा बैंकको ग्राहक बन्नुपर्ने उनको भनाइ छ । ‘आज कारोबार गर्याे भने रिवार्ड प्वाइन्ट बैंक खातामा जम्मा हुन्छ । कति रिवार्ड छ भनेर मोबाइल बैंक एपमा हेर्नपनि सकिन्छ । त्यो रिवार्ड कहाँ प्रयोग गर्न सकिन्छ भनेर सूची पनि उल्लेख छ,’ उनले भने, ‘एयर टिकेट, अनलाइन सपिङ, होटल सेवा, बीमाशुल्क, इन्टरनेट लगायत डिजिटल कारोबारमा त्यो रिवार्ड प्रयोग गर्न सक्नुहुन्छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कँडेल सिद्धार्थ रिवार्ड प्वाइन्ट योजना नेपालको बैंकिङ क्षेत्रका लागि ऐतिहासिक भएको बताउँछन् । साथै, सिद्धार्थ बैंकका लागि नयाँ च्याप्टरको सुरूवात पनि रहेको उनको भनाइ छ । ‘सिद्धार्थ बैंकका लागि मात्रै नयाँ च्याप्टरको सुरूवात नभई बैंकिङ क्षेत्रका लागि नवीनतम् सुरूवात हो, डिजिटलमा अभ्यस्त ग्राहकहरूका लागि सिद्धार्थ रिवार्ड प्वाइन्ट ऐतिहासिक अवसर हो,’ उनले भने, ‘बैंकका कर्मचारीहरूको अथक र निरन्तर प्रयासबाट यो प्रडक्ट ल्याउन सफल भयौं ।’ उनका अनुसार बैंकले स्थापनाकालदेखि इनोभेटिभ प्रडक्ट ल्याउने गरेको र ग्राहकको चाहाना र आवश्यकता अनुसार परिमार्जन भइरहेको छ । बैंकले ल्याएका प्रडक्टहरूमा भएका कमी कमजोरीलाई समयसापेक्ष सुधार गर्दै नयाँ पुस्ता जोडिरहेको उनको भनाइ छ । साथै बैंकले बैंकिङ व्यवसाय मात्रै नगरेर आफ्ना सेवालाई जीवनचर्याका रूपमा परिमार्जन गरिरहेको उनले बताए । ‘सिद्धार्थ बैंकले आफ्नो भिजन पनि परिमार्जन गरेको छ, दीगो विकास र दीगो वृद्धिका लागि बैंकको रणनीति तय भएको छ, सिद्धार्थ बैंक २१ वर्षको युवा अवस्थामा छ,’ उनले भने, ‘विभिन्न अनुसन्धानले ४०/५० प्रतिशत अर्थतन्त्र अनौपचारिक प्रणालीमामा रहेको देखाएको छ । करिब ६ खर्ब घरघरमा, बाकस, खल्तीमा छ, जसले अर्थतन्त्रमा योगदान पुर्याउन सकेको छैन, यदि त्यो ६ खर्बमध्ये ३ खर्ब मात्रै डिजिटल कारोबार हुँदा ठूलो प्रभाव पर्नेछ, ठूला आयोजना निर्माण गर्न सकिन्छ, त्यसैले सिद्धार्थ बैंकले त्यो रकम फर्मल च्यानलमा ल्याउन डिजिटल बैंकिङलाई जोड दिएको छ ।’ सीईओ कँडेलका अनुसार जेठ मसान्तसम्म बैंकले २ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । ५० हजार उद्यमीहरूको पुँजीको आवश्यकतालाई बैंकले पुरा गर्न सफल भएको उनले बताए । साथै ती ५० हजार उद्यमीमार्फत लाखौंले रोजगारी पाएको र आर्थिक विकासमा योगदान पुर्याएको उनको भनाइ छ । सिद्धार्थ बैंकको कुल कारोबारमध्ये ८२ प्रतिशत डिजिटल माध्यमबाट भइरहेको उनको भनाइ छ । १८ प्रतिशत कारोबारलाई पनि डिजिटलमा आकर्षित गर्न बैंकले विभिन्न गतिविधि गरिरहेको उनले बताए । सिद्धार्थ बैंक सन् २००२ मा १७औं वाणिज्य बैंकका रूपमा स्थापना भई सञ्चालनमा आएको हो । बैंक स्थापना हुँदा थुप्रै बैंक बजारमा सञ्चालन भइरहेका थिए । बैंकको उपस्थिती आफैंमा पनि चुनौतिपूर्ण रहेको र ती चुनौतिलाई चिर्दै बैंकिङ क्षेत्रमा आफूलाई पृथक रूपमा उभ्याएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल बताउँछन् । ‘इनोभेसन र ग्राहकको सन्तुष्टि नै बैंकको मूल मन्त्र हो, यसैको निरन्तरताले १७औं बैंकका रूपमा स्थापना भएको सिद्धार्थ बैंक २१औं वर्षमा आइपुग्दा अग्रणी बैंक बन्न पुगेको छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रका लागि हिजोभन्दा आज र आजभन्दा भोलि चुनौतिपूर्ण छ । अब पुरानै अवस्थाबाट बैंकिङ गरेर सम्भव छैन, ग्राहकहरू बैंकमा आउने भन्दा पनि घरबाटै सुविधा लिन सक्नुपर्छ, त्यसैले बैंकको भिजन नै ‘डिजिटल फर्ष्ट बैंक फर सस्टनेबल गोल’ छ ।’ भिजनमा मात्रै नराखी कार्यान्वयमा समेत ल्याइरहेको उनले बताए । ८२ प्रतिशत कारोबार डिजिटलबाट हुने गरेको भएपनि आफूहरू सन्तुष्ट नरहेको उनको भनाइ छ । शतप्रतिशत कारोबार डिजिटलबाट हुने गरी पुर्वाधार विकास, ग्राहकलाई डिजिटलमा अभिप्रेरित गराउन निरन्तर लागिरहेको उनले बताए । ‘सिद्धार्थ बैंकले डिजिटल प्रविधिमा भएको खर्चलाई लगानीका रूपमा लिएको छ । अग्रणी बैंक बनाउन र सबै नेपालीको मनमनमा, जनजिब्रोमा सिद्धार्थ बैंक भन्ने गरी काम गरिरहेका छौं,’ उनले भने ।