विकासन्युज

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतमबुद्धलगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि समन्वयन गरिहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य गरिरहेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगोरूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ ।’ उनले अन्तर्राष्ट्रिय वायु सेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरूसँग पनि छलफल भइरहेको बताए ।

पाँच हजार बचतबाट करोडपति

वित्तीय साक्षरताको प्रशिक्षणका सिलसिलामा केही महिनाअघि राजधानीको एक विद्यालयका विद्यार्थीले गरेको प्रश्न आजसम्म मेरो मानसपटलमा गुञ्जिरहेको छ, ‘के म पनि करोडपति बन्न सक्छु ?’ त्यो १० वर्षको अबोध बालकलाई मैले त्यतिखेर भनेको थिएँ, अवश्य तिमीहरू भाग्यमानी छौ सानो उमेरमै वित्तीय ज्ञान थाहा पाइरहेका छौ, थप कम्पाउडिङ्गको शक्ति थाहा पाउन सकियो भने प्रत्येक महिना केवल पाँच हजार रुपैयाँ अर्थात् एक वर्षमा ६० हजार रुपैयाँ लगानी गरेर वार्षिक १२ प्रतिशत प्रतिफल निकाल्न सक्ने हो भने सजिलै तिमी ३० वर्षमा करोडपति बन्न सक्छौ । यदि ३६ वर्ष तिमी कुर्न सक्छौ भने एक करोड ९७ लाखको मालिक हुनेछौ । प्रतिफल दर र लगानी रकम बढाउन सक्ने हो भने त्यो भन्दा अगाडि नै करोडपति हुन सकिन्छ । मैले उक्त कक्षामा दिएको जवाफ र देखाएको टेबल विद्यार्थीहरूले बुझे बुझेनन् थाहा छैन । उनीहरूमा धैर्यता र दृढता हुर्काउन सकियो सकिएन भन्न सक्दिनँ, तर सो बालकको प्रश्नले मलाई हरेक व्यक्ति कसरी करोडपति बन्न सम्भव छ भन्ने विषयले घोची नै रहेको छ । लगानीमा समय यति धेरै शक्तिशाली हुन्छ, जसले प्रत्येक व्यक्तिलाई कुर्न सक्ने हो भने करोडपति बनाउन सक्ने ल्याकत राख्छ । संसारका असाधारण लगानीकर्ता भनेर कहलिएका वारेट बफेटका सम्बन्धमा दुई हजारभन्दा बढी पुस्तक लेखिएको छ । बफेट धनी हुनुमा उहाँको अब्बल लगानी कला मात्रै नभई नाबालक हुँदादेखिकै अब्बल लगानी हो भन्ने सारांश रहेको भेटिन्छ । बफेटले १० वर्षको उमेरमा लगानी सुरूआत गरेर त्यसलाई फैलाउँदै आफू ३० वर्षको हुँदा एक मिलियन डलर बनाइसकेका थिए । वास्तवमा उनी उत्कृष्ट लगानीकर्ता मात्रै नभई धीर पनि थिए । उनले अहिले जीवनको नौ दशक पूरा गरी रहदा आठ दशक अर्थात जीवनको करिब ९० प्रतिशत समय लगानीमा बिताइसकेका छन् । ‘धन सम्पत्तिको मनोविज्ञान’ किताबका लेखक मोर्गन हउजलका अनुसार बफेट सफल लगानीकर्ता त हुन तर संसारकै उत्कृष्ट लगानीकर्ता भनेर भन्न सकिदैन । सन् २०२० मा उनले लेखेको उक्त पुस्तकमा बफेटले लगानीमा औसत प्रतिवर्ष २२ प्रतिशत प्रतिफल पाउने गरेको बताएका छन् । त्यस समयमा उनको सम्पति ८४.५ बिलियन डलर थियो । यदि उनले ६० वर्षमा लगानी गर्न छोडिदिएका भए ११.९ मिलियन मात्रै हुन सक्थ्यो । जुन पुस्तक लेख्दै गरेको समयको करिब ९९.९ प्रतिशत कम हुने थियो । यसको मूलकारण उनको लगानी कुशाग्रता हो तर वास्तविकता भनेको समय हो । यथार्थमा कम्पाउडिङ्ग यस्तै काम गर्छ । लेखकका अनुसार बफेटले वार्षिक २२ प्रतिशत लगानीमा प्रतिफल निकाल्दै गर्दा हेज फन्ड रिनेसांस् टेक्नोलोजिका प्रमुख, जिम साइमन्सले सन् १९८८ बाट लिएर ६६ प्रतिशत प्रतिवर्षको दरले धनको कम्पाउडिङ्ग गरे । उक्त किताब लेख्दै गर्दा उनको सम्पति २१ बिलियन थियो तर बफेटले त्यसको एक तिहाई मात्रै प्रतिफल निकाल्दै गर्दा समेत साइमन्सको भन्दा ७५ प्रतिशत बढी कमाउन सफल भए । बफेटभन्दा करिब तीन गुणा बढी प्रतिफल निकाल्न सकेर पनि उनी किन कम धनी भए । यसको मूलकारण साइमन्नले ५० वर्षको उमेर पुगेपछि लगानी थालेका थिए । यसले गर्दा उसँग बफेटको जस्तो लामो समय कम्पाउडिङ्ग गर्ने सुविधा थिएन त्यसैको परिणाम दुईबीच यति धेरै सम्पतिको अन्तर पर्न गएको हो । यदि बफेटले जस्तै साइमन्नले पनि लगानी गर्न सकेको भए त्रिसठ्ठी क्विन्टिलियन नौ सय क्वाड्रिलियन सात सय एकासी ट्रिलियन सात सय असी बिलियन सात सय ४८ मिलियन र एक सय आठ हजार डलर हुने थियो । यी आँकडा हास्यास्पद र अव्यावहारिक देखिन्छ तर कम्पाउडिङ्गका कारण यस्तै आँकडाहरूलाई देखाउन सक्छन् । तसर्थ, प्रत्येक व्यक्ति करोडपति बन्न सक्छ र धनी पनि हुन सक्छ तर लगानीमा धैर्यता सबैभन्दा ठूलो ईश्वरीय बरदान हो यसलाई सबैले बुभ  सकेमा धनको महत्वपूर्ण नियम थाहा पाई सफल लगानीकर्ता हुन सकिन्छ । अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘कम्पाउडिङ्ग विश्वको आठौं आश्चर्य हो ।’ स्वयम् बफेटले भनेका छन्, ‘लगानीमा कुनै चमत्कार छ भने त्यो कम्पाउडिङ्गको तागत हो ।’ तसर्थ लगानीमा भएका कमजोरी र गल्तिहरू लामो समयपछि फिक्का हुँदै जान्छन् । पछिला वर्षहरूमा सम्पत्ती वृद्धिका दर प्रारम्भिक वर्षहरूको तुलनामा धेरै गुणा रहने गर्छ । यसलाई माथिको टेबलबाट पनि हेर्न सकिन्छ । उक्त टेबलमा थालनीको समयदेखि लगानीको तीस वर्षसम्म रु एक करोड आठ लाख धन जम्मा हुँदा पछिला थप छ वर्षमा रु ९८ लाख थपिने देखिन्छ । यसरी हेर्दा पाँच भाग समय लगाएर जम्मा भएको रकम र पछिलो एक भाग समयमा जोडिएको सम्पत्तिको अंश करिब बराबर देखिन्छ । यसले के देखाउँछ भने कम्पाउडिङ्गको नियमभित्र पनि जति धेरै पछिला वर्ष आउँछन् उति धेरै द्रुत गतिमा सम्पत्ति बढ्नेछ । हरेक व्यक्ति सम्पत्ति कमाउन र रमाउन सक्छ यसका लागि केही ज्ञान, अभ्यास र धेरै धैर्यता राख्ने हो भने यो सजिलै सम्भव देखिन्छ । अचुतकुमार ओझा । लगानीमा अनेकन रणनीति र योजना हुन सक्छ तर प्रत्येक उत्कृष्ट लगानीमा समय सबैभन्दा महत्वपूर्ण हुने गरेको छ । कम्पाउण्डिङ्गलाई बुझ्न सकियो भने लगानीलाई कम जोखिममा बढी प्रतिफलमूखि बनाउन सकिन्छ । यसलाई बुझ्न केही समय लाग्छ तर बुझिसकेपछि यसले दिने लाभ कल्पना गरिएभन्दा बढी देखिन्छ । यसको नतिजा आउन समय लाग्छ तर सजिलै बुझिएको जोडफल भन्दा यो तीन करोड ८७ लाख गुणा बढी हुन जान्छ । यसैले कम्पाउण्डिङ्गले लगानीमा दिने चमत्कार पनि दोस्रो उदाहरण जस्तै हो, जसले परिणाम देखाउन समय लगाउँछ तर अप्रत्यासित फल दिन सक्छ । जापानी नागरिकहरूमाझ अत्याधिक लोकप्रिय काइजन थेउरी (थोरैबाट प्रारम्भ गरी बानी बसाल्ने सिद्धान्त) र पाँच हजार रूपैयाँबाट करोडपति सिद्धान्तमा धेरै समानता भेटिन्छ । यस विधिले एकैपटक ठूला कदम उठाउनु भन्दा विस्तारै साना पाइलाहरूबाट सुरुआत गर्न प्रेरित गर्छ । यसले हामीले चाल्ने हरेक साना प्रयासले ठूलो उपलब्धि दिन सक्छ भन्ने विश्वास राख्दछ । सबैभन्दा ठूलो लक्ष्य प्राप्तिका लागि एकै पटक बृहत फड्को भन्दा नियमित थोरै अभ्यासमार्फत आफूमा बानी पार्नु र त्यसलाई बढाउँदै लैजान सक्नु महत्वपूर्ण हुने गर्दछ । उदाहरणका रुपमा हामीले पहिलो दिनमा घन्टौ व्यायम गर्ने र एक हप्तामा फेरी छोड्ने गरेका धेरै देखेका छौँ । यसो नगरी सुरुआती दिनमा केही मिनेटबाट थालेर त्यसलाई क्रमशः बढाउदै लैजानेहरूले पछि घन्टौंसम्म व्यायम गर्ने आफ्नो व्यवहारको विकास गर्न सफल हुन्छन् । यो एकै दिनमा नभई प्रत्येक दिन एउटा ढुङ्गा पुलबाट खोलामा फ्याँकेर बाटो बनाए जस्तै हो । भारतको बिहारमा रहेको गेहलौर गाउँमा दशरथ माझी बस्ने गर्थे । यस ठाउँको अगाडि एक भिमकाय पहाड थियो । यसलाई छिचोलेर अर्को गाउँमा जान असम्भव थियो । यस पहाडले थुप्रैको जीवन निलेको थियो । यस्तैमा उनको श्रीमतीलाई पनि यसले हत्या गरेको थियो । त्यसको वियोगमा उनले अठोट गर्छन् कि म यस हत्यारा पहाड छेडेर बाटो बनाउने छु, यसले कसैलाई निल्न सक्ने छैन । उनी आफ्नो प्रतिज्ञा पूरा गर्न पहाडतिर हातमा हथौडा बोकेर निस्कन्छन् । सारा गाउँबासी र उनलाई देख्नेहरू माझी पागल भयो भन्ने गर्थे तर उन्ले भित्ता कोतार्न छोडेनन् । करिब २२ वर्षको अथक मेहनतपछि एक्लैले बाटो भन्दा ठूलो सडक बनाएर देखाइ दिए । आज उनलाई संसारभर ‘माउन्टेन म्यान’ भनेर चिनिन्छ । यसैले सोच्नुहोस्, प्रयास गर्नुहोस् र पाउनुहोस् । सुरुवात आजै गरौं, मासिक रु पाँच हजार लगानी र वार्षिक १२ प्रतिशत प्रतिफलमा धितोपत्र बजार, सरकारी बोण्ड र बैंकहरूमा फिक्स डिपोजिटलगायतका उपकरणमा टेबलमा देखाइए जस्तै योजनाबद्ध ढङ्गबाट लगानी गरी करोडपति यात्रा थालनी गरौँ । वारेट बफेटले आफ्ना अन्तर्वार्ताहरूमा भनेका छन्, पहिलो सेयर कारोबारमा धैर्यता राख्न नसक्दा धेरै मुनाफा छोड्नु परेको थियो । तब उनका बाबुले उनलाई हिउँको बीचमा लगेर त्यसलाई देखाउँदै भनेका थिए लगानी र हिउँको डल्लो उस्तै हो । हेर यो हिउँको डल्लोलाई जति टाढासम्म गुडाउन सक्छौँ अरु हिउँहरू जोडिएर धेरै ठूलो डल्लो बन्दै जाने छ । लगानी पनि यस्तै हो, जति धेरै लामो समयसम्म छोड्न सक्छौँ त्यति धेरै हुने निश्चित छ । त्यसपछि बफेटले सधैँ लामो दौडको घोडामा लगानी गर्न सिकेका कारण उनी संसारका सफल लगानीकर्ता बन्न सम्भव भयो । हामीले पनि लगानी लामो समयको लागि छनोट गर्न सक्यौँ भने सफलताहरू हात पर्ने निश्चित छ । चीनमा पाइने एउटा बाँसको प्रजाति छ, जसको बिरुवालाई चार वर्षसम्म पानि हाल्ने र गोडमेल गर्ने गरेपनि फस्टाएको देख्न सकिन्न । तर पाँचौ वर्षमा जब बाँस फस्टाउन थाल्छ र छ हप्ताभित्रै ९० फिट लामो हुन पुग्छ । अनि प्रश्न के उठ्छ भने बाँस छ हप्तामा फस्टाएको हो रु यदि चार वर्षसम्म हेरविचार नगरेको भए फस्टाउँथ्यो होला त रु पक्कै पनि फस्टाउँदैनथ्यो । यस घटनाले के कुरा स्पष्ट गर्छ भने हामीले धैर्य राख्नु पर्दछ र सही काम गर्दै जानु पर्दछ । परिणाम अहिल्यै नदेखिए पनि केही न केही भइरहेकै हुन्छ । लगानीमा पनि कम्पाउण्डिङ्गको शक्ति यस्तै हुने गर्छ । यसैले सम्पन्नताको आधार लगानी र लगानी सफलताको सजिलो उपाय कम्पाउण्डिङग शक्तिको प्रयोगलाई अभ्यासमा ल्याउनु हो । कम्पाउण्डिङ्गको चटकलाई बुझेर वर्षमा गरिएको केही हजारको लगानीले करोडपति बन्न सम्भव रहेको हुँदा आफ्नो वित्तीय रणनीति बनाउँदा कम्पाउण्डिङगलाई विशेष ध्यान दिन आवश्यक छ । पुस्तक ‘लिभिङ् द एटि ट्वान्टी वे’ का लेखक रिचार्ड कोचका अनुसार २० प्रतिशत धनाड्यले कम्पाउन्डिङग मिराकलका कारण ब्रम्हाण्डको ८० प्रतिशत सम्पत्ति नियन्त्रणमा राख्न सम्भव भएको छ । तर, कम्पाउन्डिङगको प्रयोग र महत्व बुझन नसक्दा ८० प्रतिशत मानिसले २० प्रतिशत सम्पत्तिमा निर्वाह गर्नु परेको छ । स्मार्ट लगानीकर्ता बढी प्रतिफल पाउन चक्रिय ब्याजदरको प्रयोग गर्ने गर्दछन् । यसैले तपाई जति छिटो लगानीमा कम्पाउन्डिङ्ग गर्न थाल्नु हुनेछ, लगानीले चमत्कार देखाउन उति नै छिटो सम्भव रहन्छ । राम्रो सुरुआतले राम्रो अन्त्यमा पुर्याउँछ । (लेखक धितोपत्र बजारका लगानीकर्ता हुन्)

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ २७ देखि २८ गतेसम्म आफूले गरेको भारतको औपचारिक भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन भ्रमणले योगदान पुर्‍याएको बताए । ‘आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने । भ्रमणका क्रममा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गत जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आमनिर्वाचनपश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त भएका नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा आफू सहभागी भएको उनले जानकारी दिए । उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसमेतको सहभागिता थियो । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक सञ्चालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गहन छलफल भएको सदनलाई जानकारी गराए । गत जेठ २८ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा दुई देशबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा विचारविमर्श भएको जानकारी दिए । सोही दिन भारतका नवनियुक्त संघीयमन्त्री डा एस जयशंकरले आफूसँग शिष्टाचार भेट गरेको उल्लेख गर्दै उहाँले सो क्रममा दुई देशबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै अघि बढ्नेबारेमा कुराकानी भएको बताए । भ्रमणका क्रममा भारतीय चेम्बर अफ कसर्म र उद्योग महासंघ (एफआइसिसीआई) का अध्यक्ष तथा प्रतिनिधिसँग नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘नयाँ दिल्लीमा रहँदा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनाका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट एवं समसामयिक विषयमा विचारको आदानप्रदान भयो,’ उनले भने । बैठकमा प्रधानमन्त्री र सांसदहरुको जवाल–जवाफ जारी छ ।

हावाहुरीले बाँकेमा ३१ बिजुलीका पोल ढले, विद्युत आपूर्ति बन्द

नेपालगञ्ज । बाँकेमा गएराति आएको हुरीबतासले विद्युतको पोलमा क्षति पुर्‍याउँदा केही स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत आपूर्ति सहज गराउन समय लाग्ने बताए । प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन,’ उनले भने । कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे ।

न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव

हेटौँडा । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिएकी छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज यहाँ आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधनका विषय’ अन्तर्गतको जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिइन् । अध्यक्ष खड्काले विसं २०७५ मा पत्राकार तथा सञ्चारमाध्यममा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएकाले यसलाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताइन् । पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप संकट र चुनौती थपिएको उनको भनाइ छ । प्रविधिको विकाससँगै चुनौती थपिएको बताउँदै अध्यक्ष खड्काले पत्रकार अभाव, दबाब र प्रविधिको चुनौतीमा रहेका उल्लेख गरिन् । ‘न्यू मिडिया’को विकाससँगै रेडियो, टेलिभिजन, पत्रपत्रिकाले पाउने विज्ञापन घट्दै गएको उनको भनाइ छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारीले १६ वर्षअघि बनेका कानुन संशोधन हुन नसकेको भन्दै श्रमजीवी पत्रकारका पक्षमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिइन् । उनले श्रमिक र सञ्चारमाध्यम दुवै बाँच्नुपर्ने भन्दै सोही अनुसारका कानुन बनाउन माग गरिन् । कार्यक्रममा जिल्लाका पत्रकारहरूले ठूला सञ्चारमाध्यमले न्यूनतम पारिश्रमिक नदिने गरेको गुनासो पोखेका छन् । नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकसमेत नपाएको उनीहरूको गुनासो छ । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, पत्रकार, सञ्चारमाध्यम सञ्चालकलगायतको सहभागिता थियो ।

गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टि स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर कांग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरीबन्धु प्रकरणमा कांग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए । ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने बताए । ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । गिरीबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति’, उनले भने । महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिटान्स सम्झौता

काठमाडौं । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ । यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय बिप्रेषण सेवा प्रदान हुने बिश्वास कम्पनिले लिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा १०० रूपैयाँसम्म बोनस पाउन सकिने कम्पनीले जनाएको छ ।

सन्धिखर्क-तम्घास १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहेका छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३ वटा ३३ केभीका र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रुपमा विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रुपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने बताए । ‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ’, उनले भने । ‘सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेण्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरु पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रङ्क लाइन हो ।’ बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घार्खाची र गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेज समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । बुटवलबाटभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भएता गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिंदा लाइन छोटो हुनेहुँदा त्यस क्षेत्रको विद्युत् आफूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन् । दुवै सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा छ । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए । उनले तम्घास– पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रुख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको उल्लेख गरे । यसले गर्दा पाउदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख चौधरीले बताए । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरु गरिएको थियो । उक्त प्रसारण लाइनमा जोड्ने गरीे निजी क्षेत्रका ७ वटा जलविद्युत आयोजनाहरुसँग १३० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएको छ ।