नागढुङ्गा-मुग्लिङ सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम
काठमाडौं । वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आ-आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरे । उनले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा देखिएको बताए । यस्तै, झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको छ । विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा छ । हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाइएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए । सडक विभागका प्राविधिक, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरण कार्य निरन्तर भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ ।
सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो । त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो । सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच आज भएको छलफलले यस कठिन घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदरुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ । 'जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने अवस्था छ । विपद्को यस घडीमा नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न हामी सबै सजग हुन आवश्यक छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच भएको छलफलले थप दारुकताका साथ काम गर्ने निर्णय गरेको छ', मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राजमार्गमा रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ । प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो । सरकारले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा आजदेखि असोज २० गतेसम्म रोक लगाएको छ । यसरी रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रुहरु राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।
आन्तरिक उडान सबै रद्द, अन्तर्राष्ट्रिय उडान भने यथावत्
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तर्राष्ट्रिय तर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।
उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो । आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन भनेको हो । 'सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ', प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयले वायुसेवा सञ्चालकहरूलाई भन्यो- हेलिकप्टर तयारी अवस्थामा राख्नू
काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न पत्राचार गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध हो । भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौतालाई गृहले स्मरण गरेको छ । ‘मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनु हुन अनुरोध छ,’ गृहका उपसचिव निशानराज गौतमले लेखेको चिठीमा उल्लेख छ।
पाँचथर जिप दुर्घटना : ६ जनाको मत्यु, ६ जनाको अवस्था गम्भीर
पाँचथर । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
पृथ्वीराजमार्ग खुल्यो
मुग्लिन । पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।