विकासन्युज

लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा, योगेश बने पहिलो

काठमाडौं । लाइफ कम्प्युटरले आयोजना गरेको छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ । आइतबार नाचघर जमलमा आयोजित एक कार्यक्रमकाबीच विजेताको घोषणा गरिएको हो । यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन् । त्यस्तै दोस्रो पद्मोदय माध्यमिक विद्यालयका सविना थापा र लिटल एञ्जल स्कुलका सुरेश महर्जन तेस्रो बनेको बताइएको छ । लाइफ कम्प्युटरले वि.सं २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गर्दै आएको छ । विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले आईटी क्षेत्रमा विद्यार्थीको सक्रियताले भविश्य उज्जवल बन्ने देखेको बताए । उनले विद्यार्थीले ‘कम्फर्ट जोन’बाट बाहिर आएर सुख र सुविधाको जिन्दगी त्याग्न सके प्रगति गर्न सकिने बताए । उनले समस्याको समाधानले अवसरको सृजना गर्ने बताए । जसले समस्याको समाधान गर्न उही व्यक्ति महान बन्ने उनको भनाइ थियो । लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले संस्थाले आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको बताए । ‘वेबसाइट कम्पिटिसन’को अवधारणा आफू अवसरबाट वञ्चित हुनुपर्दाको पीडाबाट जन्मिएको उनको भनाइ थियो । स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको र हामीले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ थियो । यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए ।

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

काठमाडौं । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा शुरू भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।

एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण

काठमाडौं ।  एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए ।उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने इच्छा व्यक्त गरे । एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे। डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाललगायतको उपस्थिति रहेको थियो ।

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन् । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ । यस सम्झौताअनुसार, नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । नबिल बैंकका सीईओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए । बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताए । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एक अर्कालाई सहयोग गर्ने बताए ।

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयुभी बुधबार सार्वजनिक हुँदै

 काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धी अटोकर्पले सेरेस ३को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको कम्पनीले जानकारी दिएको छ । सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभीप्रेमीबाट प्रशंसा बटुलेको कम्पनीले बताएको छ । ‘अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् । यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयुभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको कम्पनीको भनाई छ ।

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन् । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेका छन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुन्छिन् । ‘आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ’, उनले भने, ‘कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।’ रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उनले बताइन् । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेकी छन् । ‘आमासँग लुगा सिलाउने सिकेँ । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ’, उनले भनिन्, ‘लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।’ डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुन्छिन् । सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेकी हुन् । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउँछिन् । ‘हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ’, उनले भनिन्, ‘वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।’ पहिरन बनाउन गाउँकै मानिस उनको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । ‘बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ’, उनले भनिन्, ‘सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।  रासस

यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँमा निर्धारण गरिएको छ । यो संस्थापक सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौं सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् । सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।