समता घरेलु र मनकामना स्मार्टको एकीकृत कारोबार असार २४ बाट
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । गत चैत २९ गते सम्पन्न यी दुवै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो । असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुवै लघुवित्तले आफ्ना कार्यालयहरूबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने बताएको छ ।
तोलामा १ हजारले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्वसभामुख सापकोटा
काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए । आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे । सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने जानकारी दिए । ‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ । राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरिमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ । नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ’, उनले भने । पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
सुशासनमा उत्कृष्ट सूर्योदय, पर्यटकको मुख्य रोजाइमा
काठमाडौं । पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला पर्यटकीय हिसाबले प्रख्यात मानिन्छ । इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा रहेको चियाबारीसँगैको मनोरम दृश्य, अन्तुबाट देखिने सूर्योदय, बौद्धधाममा रहेको बुद्ध पार्क लगायतका पर्यटकीय स्थानहरूले आन्तरित तथा बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ । पर्यटकीय क्षेत्रले मात्रै होइन अन्य थुप्रै कारणहरूले पनि इलामको सूर्योदय नगरपालिका अगाडि रहेको छ । पर्यटकीय नगरी सूर्योदय नगरपालिका नेपाल नगरपालिका संघबाट सम्मानित भएकाे उत्कृष्ट नगरपालिका पनि हो । स्थानीय तहहरूले स्रोत, साधन र अधिकार आफूसँग छ भन्दैमा कतिपयले त्यसको दुरुपयोग गरिरहेका उदाहरणहरू प्रसस्तै सुन्ने गरिन्छ । तर, केही यस्ता स्थानीय तहहरू पनि छन् जसले कुनै पनि काम गर्नुपूर्व नै त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि तयार गर्छन् । यसको एक गतिलो उदाहरण हो सूर्योदय नगरपालिका । पालिकाले जुनसुकै योजना सञ्चालन गर्नुपूर्व त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउँछ र मात्रै काम सुरु गर्छ । यद्यपि ऐन बनाउन समय लाग्यो भयो भने पनि तत्कालै कार्यविधि बनाइहाल्छ । यसरी काम गर्दा आम जनताप्रति नगरपालिका जवाफदेही हुने र सुशासनमा पनि पारदर्शी हुने नगर उपप्रमुख दुर्गा कुमार बराल बताउँछन् । ‘हामी नियम कानुन भन्दा माथि हुनै सक्दैनौं । त्यसैले कुनै पनि काम गर्दा वा निर्णय गर्दा त्यससँग सम्बन्धित ऐन वा नियमावलि बनाइ हाल्छौं,’ उनी भन्छन्, ‘यसरी काम गरैकै कारण हामी शून्य बेरुजुमा छौं । यो हामी सम्पूर्ण नगरवासिको लागि गर्भको कुरा पनि हो ।’ उनका अनुसार कुनै पनि काम गर्नुपूर्व नै सम्बन्धित व्यक्तिहरूसँग बसेर छलफल गरेर त्यहीअनुसारको कार्यविधि तयार गरेर अनि मात्रै काम अघि बढाउने गरिएको छ । उनी भन्छन्, ‘यसले नागरिकप्रतिको जवाफदेहिता र सुशासनमा विशेष टेवा पुर्याएको छ ।’ सूर्योदय नगरपालिका गाई जोनको रुपमा पनि चिनिएको पालिका हो । पालिकाले हाल नगर क्षेत्रमा दैनिक ७५ हजार लिटर दूध उत्पादन गर्दै आएको छ । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लिटर पुर्याउने लक्ष्य राखेको उनी बताउँछन् । जसका लागि क्यानडाबाट उन्नत प्रजातिको बाच्छी उत्पादन गर्ने तीन सय वटा गाई ल्याइएको छ। ‘ती गाईबाट जन्मिएकामध्ये ९६ प्रतिशत बाच्छी छन्’, बराल भन्छन्, ‘दूधबाट पनि यहाँ समृद्धि ल्याउन सकिने सम्भावना प्रशस्त देखिएको छ।’ हाल गाईमा फैलिरहेको लम्पीस्क्रीन रोगका कारण क्षति ब्यहोरेका किसानहरूलाई नगरपालिकाले क्षतिपूर्ती समेत दिएको बरालले बताए । ‘हामीले एउटा ठूलो गाई मरेको २० हजार रुपैयाँ, बाछिको १० हजार रुपैयाँ र गोरु मरेको ७ हजार रुपैयाँ बराबरको क्षतिपूर्ती किसानहरूलाई दिएका छौं,’ उनी भन्छन्, ‘अहिले चाहीँ हामी लम्पीमुक्त गराउनको लागि खोपलाई निरन्तरता गरेका छौं ।’ इलाम ‘अ’ ले चिनिएको जिल्ला पनि हो । सूर्योदय नगरपालिकाले अदुवा, अलैची, अकबरे लगायतका नगदेबालीलाई विशेष प्राथमिक्तामा राखेको छ । नगरपालिकाको मुख्य नगदेबालीको रुपमा चिया पनि रहेको छ । इलामलाई चियाको राजधानी समेत भन्ने गरिएको छ । नगरपालिकाले चियालाई अर्गानिकिकरण गर्ने, विषादीरहित बनाउने लगायतका कार्यक्रमहरू अघि सारेको छ । ‘सूर्योदय नगरपालिकालाई विषादीमुक्त र गुणस्तरीय चिया उत्पादनको लागि भनेर सम्बन्धित सरोकारबालाहरूसँग छलफल चलाइरहेका छौं,’ उनी भन्छन्, ‘हामीले केही महिना अघि मात्रै पनि नगरपालिकालाई विषादीमुक्त बनाउनुपर्छ भनेर माइकिङ पनि गरेका थियो ।’ विषादीमुक्त गर्ने कुरा एकैपटक सम्भव नहुने भए पनि बिस्तारै परिवर्तन गर्दै जाने उनी बताउँछन् । त्यस्तै तरकारीमा पनि विषादीको प्रयोग न्यून गर्न एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेको छ । उनी भन्छन्, ‘तरकारीमा त विषादी प्रयोग गर्नेपर्ने पनि हुन्छ त्यसैले हामीले विषादी प्रयोग गरेपनि कति गर्ने र कसरी गर्ने भन्ने बुझाउनको लागी र सही तरिकाले विषादीको प्रयोग गर्नको लागी एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेका हौं ।’ सूर्योदय नगरपालिकामा उत्पादन हुँदै आएको चिज, छुर्पी, चिया लगायतका सामान अन्य देशहरूमा समेत निर्यात हुने गरेको छ । यद्यपि नगरपालिकाले यी सामानहरू कति मात्रामा निर्यात हुन्छन् भन्नेबारे भने यकिन तथ्याङ्क राखिसकेको अवस्था छैन । सोको तथ्याङ्क राख्नेगरी आवश्यक तयारी भइरहेको बराल बताउँछन् । पालिकाले कृषकहरूलाई अनुदान स्वरुप कृषि औजारहरू पनि बेला बेला वितरण गर्ने गरेको छ । कृषहरूको साझेदारीमा सो अनुदार वितरण गर्ने गरिएको उनको भनाइ छ । यस नगरपालिकाबाट प्रतिदिन करिब ६५ हजार मेट्रिक टन स्कुस (ठूलो करेला) र ४ देखि ५ वटा ठूला गाडीमा कुचो भारततर्फ निर्यात हुने गरेको व्यापारीहरू बताउँछन् । खुल्ला नाका भएका कारण कति निर्यात भए भन्नेबारे यसको पनि यकिन तथ्याङ्क नरहेको उनी बताउँछन् । ६५ उद्योगबाट वार्षिक ५० लाख किलो चियापत्ती उत्पादन हुन्छ । बरालका अनुसार नगरको वार्षिक आन्तरिक आय करिब ९ करोड रुपैयाँ छ । नयाँ(नयाँ खोजीका विषयमा अलि बढी चासो राख्ने उनी बताउँछन् । ‘वडा नम्बर ८ मा १ सय ५० मिटर लामो ग्लास ब्रिज अर्थात् सिसाको पुल बनाएका छौं,’ उनी भन्छन्, ‘कन्याम, अन्तु, बुद्ध पार्क लगायतका स्थापित पर्यटकिय क्षेत्रहरूलाई अझै व्यवस्थीत गर्ने काम पनि हामिले गरिरहेका छौं ।’ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागी स्थानीय क्षेत्रका धार्मिक तथा सास्कृतिक क्षेत्रहरूको संरक्षण गर्ने, पदमार्ग निर्माण गर्ने लगायतका काम पर्यटन क्षेत्रमा गरिरहेको उनी बताउँछन् । नगरपालिकाले आफ्नो मुख्य आम्दानीको रुपमा पनि कृषि र पर्यटनलाई नै राखेको छ । पालिकाले शिक्षा, स्वास्थ्य र खानेपानिलाई विशेष प्राथमिक्तामा राखेर यसवर्षको बजेट सार्वजनीक गरेको छ । शिक्षातर्फ पनि उत्कृष्ट इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा पनि कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले सूर्योदयलाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनाेट गरेको हो । साे संघले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा सूर्योदयलाई छानेको जनाएको छ । एसोसीएसनको जेठ २६ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गरेको एसोसिएसनका अध्यक्ष सुदाम गौतमले बताएका छन् । शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो । सूर्योदयले १२ महिना १२ कार्यक्रम, छोरी बुहारी शिक्षा, गणित विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन, अभिभावक परिचयपत्र वितरण सहित विद्यालयलाई प्रविधिमैत्री बनाउने काम गरेको बराल बताउँछन् । नगरले विगतदेखि नै शिक्षकको तलब समेत मासिक रूपमा उपलब्ध गराउँदै आएको छ । नगर प्रमुख रणबहादुर राईका अनुसार नगरले नगरका सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब स्थापना गरेको छ । नगरले इ–हाजिरी जडान गरी डिजिटल डिस्प्ले मार्फत अध्ययन गराउने व्यवस्था विद्यालयमा गरेको छ । नगरका ६५ सामुदायिक विद्यालय र ३१ संस्थागत विद्यालयमा ११ हजार बढी विद्यार्थी अध्ययनरत रहेको पालिकाले बताएको छ । अहिले ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत विद्यार्थी संस्थागतमा अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ । नगरले संस्थागत विद्यालयमा समेत सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । बालमैत्री नगर घोषणा गरिएकोमा पछिल्लो समय नगरले पोषणमैत्री नगर घोषणाको तयारी गरिरहेको छ ।
कोशी, बागमती र गण्डकीमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सीतापाइलामा कल्भर्टमा कार खस्दा चालकको मृत्यु
काठमाडौं । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुपाल्चोकमा गयो भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आएको छैन । बाढीपहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन् ।
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
झापा । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । ‘राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ’, उनले त्यसबेलाको घटना सम्झिँदै भने, ‘हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ’, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उनले सुनाए । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ । बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो । मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताए । नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिए । साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् । खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ । इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो । साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् । बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ । झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ । ‘जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ’, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भने, ‘पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।’ उनले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताए । शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताए । उनले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताए । उनले विगतमा बाढी पसेको स्मरण गर्दै भने, ‘साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ ।’ रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताए । उनले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिए । एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताए । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उनले बताए । रासस