विकासन्युज

बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

गलकोट । बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद १०÷१० हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगङ्गा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृत किसानहरूको भनाइ छ । सम्मानले कृषीकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताए । सुन्तला खेतीबाट एक वर्षमा ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीरमर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले थाल्यो डेङ्गु र स्क्रबटाइफसविरुद्ध अभियान

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन् । कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ । यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुला तीन, डडेल्धुरा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । बर्सात सुरु भएसँगै डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । उनले भने, ‘वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ ।’ पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । उनले भने, ‘तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ ।’ बर्सातको समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन् । चौपाया नजिक गइरहनेलाई किर्नाले टोक्ने जोखिम बढी हुने बताउँदै उनले माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिए । विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उनले आग्रह पनि गरे । चिकित्सकहरूका अनुसार एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गरेको छ । यो रोग लागेकालाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, सास फेर्न समस्या हुने, लामो समयसम्म टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, टोकेको ठाउँमा कालो दाग बस्ने लक्षण देखिन्छ । डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । यसैबीच, डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि चेतनामूलक र सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका निर्देशनालयले जनाएको छ ।

उत्पादत्व वृद्धिका लागि परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

विराटनगर । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ,मोरङको सहयोगमा स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमको महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै परम्परागत कृषि पद्धतिबाट उत्पादकत्व बढाउन नसकिने बताइन् । मन्त्री चौधरीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिइन् । साथै, उनले आधुनिक खेतीले उत्पादकत्व वृद्धि हुने बताउँदै त्यसतर्फ लाग्न सबै किसानलाई सुझाइन् । कोशी प्रदेशसभा सदस्य रामदेव यादवले कृषि क्षेत्रको विकासका लागि सरकारीस्तरमा पर्याप्त  लगानी नभएको गुनासो गरिन् । कोशी प्रदेशको उद्योग,कृषि तथा सहकारी मन्त्रालय सचिव लेखराज दाहालले कृषि क्षेत्रबाट अधिक रोजगारी प्राप्त हुने अधिकभन्दा अधिक क्षेत्रमा खेती गर्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका प्रमुख मनोज यादवले व्यावसायिक कृषिको माध्यमबाट देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन सकिने बताए । गतवर्ष असार १५ सम्ममा कोशी प्रदेशमा १६ दशमलव नौ प्रतिशत रोपाइँ भएकामा आजसम्म १३.७१ प्रतिशत मात्र रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि अभिमन्यू अधिकारीले बताए । कोशीका १४ जिल्लामा २ लाख ७६ हजार तीन सय ८६ हेक्टर जग्गामा धान खेती हुने गरेको जानकारी दिँदै उनले  हालसम्म ३७ हजार आठ सय ८० हेक्टर रोपाइँ भएको बताए । कार्यक्रममा दिइएको जानकारीअनुसार झापामा ७५ हजार चार सय ५९, मोरङमा ६९ हजार आठ सय १७ र सुनसरीमा ४८ हजार नौ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यसवर्ष यी तीनवटै जिल्लामा क्रमशः ११ दशमलव ३५, १० र ११ प्रतिशत रोपाइँ भएको छ । झापामा सबैधन्दा धेरै ७५ हजार चार सय ५९ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा रोपाइँ हुने गरेको छ । यसैबीच राष्ट्रिय धान दिवसकै अवसरमा मोरङको जहदा गाउँपालिकास्थित जिल्ला कृषि ज्ञान केन्द्रको आयोजनामा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो ।

गण्डकी प्रदेशमा खेतीयोग्य जमिन नासिँदै

कास्की । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको उनको भनाइ छ । ‘अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिन्छ, बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ,’ उनले भने, ‘अहिले रोपाइँका लागि मलको पनि अभाव छैन, वर्षात् पनि भइरहेकाले किसानलाई राहत पुगेको छ ।’ निर्देशनालयले हरेक आइतबार रोपाइँको जिल्लागत तथ्यांक संकलन गरेर केन्द्रमा पठाउने गरेको छ । प्रदेशको कुल चार लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिए । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । निर्देशनालयका प्रमुख रेग्मीले धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको बताए । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । निर्देशनालयको तथ्यांकअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूलाठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा नासिँदै गएको छ ।

धान रोप्दै कोशीका मुख्यमन्त्री कार्कीले भने- युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औं राष्ट्रिय धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको उनको भनाइ थियो ।मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य शुरू गरेको बताए ।​ उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । ुजलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ,ु उनले भने । सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बिउ उत्पादन वृद्धि हुने विचार राखे । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका थिए । रासस

‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पहुना भित्र्याउन सकेन’

वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन । यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटर द्ुरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जंगली जनावरको अवलोकन गर्न सक्नेछन् । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिदस्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् । सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकिएको बताए । ‘सुनाखरी घरबास मधेस प्रदेशकै पहिलो घरबास हो, तर पर्याप्त प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पहुना भित्र्याउन सकिएको छैन,’ उनले भने, ‘यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ, यहाँ स्थानीयस्तरमा उत्पादन हुने परिकारलाई राम्रोसँग ‘ब्रान्डिङ’ गर्न सकिरहेका छैनौँ ।’ घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले मधेस प्रदेशको सानका रूपमा रहेको पहिलो घरबासलाई प्रभावकारी ढंगले प्रचारप्रसार तथा ब्रान्डिङ गर्नुपर्ने बताए । ‘होमस्टेका गतिविधिलाई अहिलेका आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो प्रचारप्रसार गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘घरबाससँग विभिन्न ठाउँमा सचेतनामूलक ब्यानर तथा सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न सकिन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्न जरूरी छ ।’ कार्यालयले शुक्रबार बजार विस्तारसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेको थियो । प्रमुख सिंहले कार्यालयले सामुदायिकरूपमा घरबास सञ्चालन गर्दै आइरहेका उद्यमीलाई आगामी दिनमा लेखा तथा बजारीकरण सम्बन्धित जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम अघि बढाइने बताए । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले समितिले सुरुवाती चरणमा ३०÷३० हजार रकम ऋण दिएर सुरुवात भएको सामुदायिक घरबासले पूर्वाधार निर्माणमा धेरै फेरिएको बताए । ‘सुनाखरी सामुदायिक घरबास निकै कष्टका साथमा सुरुवात भएको थियो, तर अहिले घरबासका सामुदायिक भवन तयार भएर सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘१५ घरबासमा सञ्चालनमा रहेका छन्, केही वर्षअघि प्रदेश सरकारले घरबास पूर्वाधार सुधार गर्न बजेट उपलब्ध गराएको थियो ।’ मध्यवर्ती सामुदायिक घरबासका सञ्चालक ज्योति लामाले स्थानीयस्तरमा पाइने खानेकुरालाई प्राथमिकता राख्दै आइरहेको बताए । ‘यहाँ उत्पादन हुने मकैको विशेष परिकार पर्यटकले निकै रूचाएर खाइरहनुभएको छ,’ उनले भने, ‘लोकल कुखुरा र मकैको ढिँडाको पनि पहुनाले धेरै रुचाइरहनुभएको छ ।’ सञ्चालक लामाले घरबास मध्यमस्तरमा चल्दा पनि आफ्नो जीविकोपार्जन गर्न धेरै सहयोग पुगेको बताए । ‘हामीले निकै सस्तो र सुलभ दरमा घरबासले पाहुनाको सेवा सत्कार गर्दै आइरहेका छौँ,’ उनले भने, ‘समूहमा पाहुना आउँदा तामाङ सामुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छौँ ।’ घरबासका अध्यक्ष पौडेलले मधेस प्रदेशमा कानुन अभावले घरबास नवीकरण गर्न पनि पनि समस्या भोगिरहेको बताए । ‘विगतमा घरबास संघीय सरकार मातहत दर्ता तथा नवीकरण हुने गथ्र्यो, तर पर्यटन कार्यालय प्रदेश सरकार मातहत कार्यालयमा गाभिएसँगै अहिले घरबास दर्ता र नवीकरणसँग सम्बन्धित कानुनको अभाव देखिएको छ,’ उनले भने, ‘कानुन अभावले दुई वर्षदेखि नयाँ दर्ता र नवीकरणको काम रोकिरहेको छ ।’ रासस

एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमहरूले थाले काम

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम थालेका छन् ।​ हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन आरआरटीहरूले काम गर्नेछन् ।​ आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । असार १२ गते बुधबार कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा अवरोध सृजना भएको थियो । तर, एनसेलको आरआरटी टोलीले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।​​ हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा डलेर विद्युत् आपूर्तिमा असर परेको थियो । ​​​ आरआरटीहरूलाई विशेष रूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यअनुरूप आरआरटीहरू गठन गरिएको हो । अहिलेको अवस्थामा विशेष गरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गई केही समयको लागि सेवा अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथाशक्य चाँडो सेवा पुनः सञ्चालनमा ल्याउन र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ । यसैगरी, एनसेलले विपद् पूर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिने कम्पनीले जनाएको छ ।

कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।​ एक्काइसौं राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ नुवाकोटमा गरेको रोपाइँमा उनले यस्तो बताएका हुन् । जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । ‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ,’ उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन्, यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’ किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गरे । ‘किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्,’ उनले भने, ‘गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।’ बिउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।