विकासन्युज

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा १८औं र १९औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, कम्पनीले बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने जनाइएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

स्थानीय तहलाई प्राधिकरणले भन्यो : बक्यौता किस्ताबन्दीमा तिर्न ४५ दिनभित्र आउनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न संरचनाहरूमा सडक बत्ति जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिनुपर्ने थप दस्तुरसहितको बक्यौता रकम बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्थासहितको सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले स्थानीय तहहरूलाई आफ्नो बक्यौता रकम यथाशीघ्र बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आइतबार एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २ सय ९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौं डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको म्यादसम्म सेयरधनीहरूबाट खरीद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

आईसीसी टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौं । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो । वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए । भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।

तीन वर्षमा बन्ने भनिएको पुल १० वर्षसम्म पनि बनेन

पथरी । मोरङको कानेपोखरी रंगेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रंगेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइ उक्त पुल १ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको थियो तर उक्त अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नरहेको स्थानीयको भनाइ छ । स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए । ‘हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ,’ उनले भने । अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभरि आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभरि साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आईएपीबी युवा प्रणाली नेता पुरस्कार एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारीलाई

काठमाडौं । अन्तर्राष्ट्रिय अन्धोपन रोकथाम एजेन्सी (आईएपीबी) द्वारा प्रतिष्ठित आईएपीबी युवा प्रणाली नेता पुरस्कारले एचसीपी क्योरब्लाइन्डनेसका नेपाल र भूटानका देश निर्देशक पुनम भण्डारीलाई सम्मानित गरिएको छ । यो पुरस्कार मेक्सिको सिटीमा आयोजित आईएपीबी २०३० इनसाइट लाइभ सम्मेलनमा दिइएको हो । आईएपीबीले विभिन्न पृष्ठभूमिका युवा नेताहरूलाई सम्मानित गर्दै आएको छ । आईएपीबीले यस पुरस्कारको लागि ९ असाधारण युवा प्रणाली नेताहरू चयन गरेको छ जसले परम्परागत हस्तक्षेपभन्दा माथि उक्लेर स्थायी र प्रभावकारी आँखा हेरचाह प्रणालीहरू निर्माण गर्ने प्रयासको उत्सव मनाउँदैछन् । भण्डारीको नेतृत्व र समर्पण एचसीपी क्योरब्लाइन्डनेसको दृष्टि रोकथाम गर्ने मिसनमा महत्वपूर्ण रहेको छ । आँखा हेरचाह सेवाहरूलाई सुधार गर्न र दिगो स्वास्थ्य सेवा प्रणालीहरू निर्माण गर्न भण्डारीको महत्वपूर्ण भूमिका छ । दिगो आँखा हेरचाह प्रणालीहरू निर्माणमा सहकार्यका प्रयासहरूको प्रभावको प्रमाणको रूपमा आईएपीबी युवा प्रणाली नेता पुरस्कारले भण्डारीको उल्लेखनीय योगदानलाई मात्र सम्मान गरेको छ । ‘आँखा स्वास्थ्यको भविष्य यस नयाँ पुस्ताको काँधमा छ । आईएपीबी युवा प्रणाली नेता पुरस्कारहरूले आँखा स्वास्थ्यको भविष्यलाई परिभाषित गर्ने र धेरैको जीवनलाई राम्रो बनाउने उज्ज्वलता, उत्साह र सहकार्यको भावनाको उत्सव मनाउँछन्,’ आईएपीबीका अध्यक्ष क्यारोलाइन केसिले भनिन् । यस्तै, भण्डारीले २०३० सम्म टाल्न सकिने अन्धोपनको लक्ष्य हासिल गर्न साझेदारीहरूको महत्वपूर्ण भूमिकामा जोड दिइन् । उनले भनिन्, ‘साझेदारीहरू मुख्य हुन्, मात्र एकअर्कासँग होइन, तर सरकार र गैर–स्वास्थ्य क्षेत्रसँग पनि, आँखा स्वास्थ्य मात्र स्वास्थ्य मुद्दा होइन, यो शैक्षिक, रोजगारी र जीवनस्तरलाई असर गर्ने विकास मुद्दा हो ।’