विकासन्युज

बलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज, के छन् एजेण्डा ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा बिहीबार बस्दैछ । सभा काठमाडौं नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे बस्नेछ । उक्त विशेष सभाले सञ्चालकहरूको नियुक्ति र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् ।

कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर किक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले हाल बैंकका साविक संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौं ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनसक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड बढीको सामान बरामद

झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड १० लाख ८४ हजार रुपैयाँ बढीको बिल बिजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । उनका अनुसार १ करोड ४ लाख २ हजार मूल्य बराबरको १२ वटा सवारी, ३० लाख ६१ हजार ५ सय ७० मूल्य भएको ७ सय ७९ गोलिया काठ, ५३ लाख ३४ हजार २ सय मूल्य पर्ने १ हजार ८१ वटा पशु चौपाया, ३ लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ । ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, ८८ हजार बराबरको मदिरा र १७ लाख ५१ हजार ७ सय ७० रुपैयाँ बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ । चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताए । उनका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधी बरामद गरिएको छ । ‘सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४/७ नै पैदल गस्ती परिचालन भएको छ,’ सप्रउ राईले भने । सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ । साथै, भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।

गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार कम्पनीलाई ८ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई ८ लाख रुपेयाँ जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो । मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भई सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् । विसं २०८० माघमा उत्पादन भएको, ब्याच/लट नं १० को फेमिली ब्रान्डको आयातीत तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो । उक्त ब्रान्डहरूको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरूलाई कारबाही गरिएको हो । ‘नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ, यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ प्रमुख न्यौपानेले भने । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ ।

रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको हो । ढकाललाई निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष परियारको सम्भावनाबारे चर्चा भएको थियो । यद्यपि, बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् । महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपाको भनाइ छ । बुधबार बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो ।

एमाले मन्त्रीहरुको राजीनामा बुझ्दै जब प्रचण्डले गीत गाए…

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार राति बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती प्रचण्डको नेतृत्वको सरकारमा थिए । उनीहरु सबैले राजीनामा बुझाएका हुन् । बुधबार नेकपा एमालेले पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले आफूले यस विषयमा धेरै टिप्पणी नगर्ने बताए । एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’ नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो ।

सहकारी अभियान्ता उप्रेती पक्राउ, बचत अपचलनको आरोप

काठमाडौं । सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षमसेत रहेका उप्रेती सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ परेका हुन् । प्रहरी वृत्त महाराजगञ्जले अध्यक्ष उप्रेतीलाई बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सहकारी संस्थाकाे बचत रकम हिनामिना गरेकाे जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सो सहकारी संस्थाका अन्य सञ्चालक विरूद्ध पनि उजुरी परेको छ । उनीहरूका विरूद्ध पक्राउ पुर्जी जारी भएपनि खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । केही समयअघि अध्यक्ष उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार गरेको भन्दै गुनासो गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)ले गत बैशाखमा आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखेका थिए ।

असई थमन विकको हत्या आरोप लागेका पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशल यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा लामो समयदेखि फारार रहेका पूर्वसांसद यादवलाई गत शनिबार राति पक्राउ गरिएको थियो । २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।