विकासन्युज

७३ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिए । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको संक्रमण बढ्ने आकलन मन्त्रालयले गरेको छ । सबभन्दा बढी काठमाडौंमा १ सय ५९ जनामा डेंगी देखिएको छ । झापामा १ सय २० र चितवनमा ८३ जनामा देखिएको छ । पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको जोखिम बढेको उनले जानकारी दिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फूल पार्छ र फूलबाट लार्भा निस्किन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ । रोग शाखाका प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

सूर्यज्योति लाइफको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीले असार १६ गते वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणस भाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत गरी सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । वैशाख ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । वैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शसेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोनस सेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीको आग्रह छ ।

मैलुङखोला जलविद्युतको लकइन अवधि साउन २६ गते सकिने

काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको लकइन अवधि आगाामी साउन २६ गते सकिने भएको छ । कम्पनीकोे संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लकइन अवधि साउन २६ गते सकिने भएको हो । कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको सेयर लकइनमा रहेको छ । लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारी समेत) मा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २०७८ साल साउन २६ गते सेयर बाँडफाँड गरेको थियो ।

गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताए । ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ,’ उनले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’ यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उनले बताए । गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटिइभिटी) का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिइभिटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिससिप मोडेलमा सहभागी गराइनेछ । बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षरपछि शिक्षामन्त्री सुमना श्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको मागअनुसारको सीप दिन सक्नुपर्ने बताइन् । ‘सोह्रौँ योजनाले पनि ७०–३० अर्थात् ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ । हाम्रा युवालाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ,’ उनले भनिन् । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सीप र श्रमलाई संस्कृति बनाउन नसक्दा विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यावहारिक सीप सिकाउन यो सम्झौता गरिएको बताए । ‘ढल्केवरको एउटा सुरुङको काममा पाँच सय जना श्रमिक थिए । एक जना पनि नेपाली रहेनछ । हाम्रा प्राविधिक शिक्षाका विद्यार्थीलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुङ्गा सावित हुनेछ,’ मन्त्री बस्नेतले भने । समझदारी पत्रको मुख्य उद्देश्य ‘कमाउँदै सिक्दै’ भन्ने अवधारणालाई सीप विकासमार्फत कार्यान्वयनमा ल्याउनु रहेको उनको भनाइ थियो । यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमा आधारित सिकाइद्वारा सीप विकासमा गुणस्तर अभिवृद्धि गराउने अपेक्षा गरिएको छ । त्यस अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस सम्झौतापत्र कार्यान्वयनमा लैजानसके असल अभ्यासको विस्तार हुने धारणा व्यक्त गरे । विद्युत प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि ‘इन्टर्न’मा जनशक्ति राखिरहेको र उनीहरूको काम र अनुभव एकदमै राम्रो रहेको उनले बताए । सम्झौताअनुसार ऊर्जा मन्त्रालयले एप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाको सम्बद्ध विषय र क्षेत्रको विवरण पाठ्यक्रम विकासका लागि शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ । ऊर्जा मन्त्रालयले तालिम कार्यक्रम सञ्चालनका लागि सिटिइभिटीको प्रचलित नियमअनुसार हुन आउने आर्थिक स्रोत शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ । शिक्षा मन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकताबमोजिमको पेसा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ । ती परियोजनामा आवश्यकपर्ने तालिममा सहभागीको समूहगत सङ्ख्या तथा पेसागत दक्षताको विवरण उपलब्ध गराउने र सो विवरण पाठ्यक्रमले निर्धारण गरेबमोजिमको हुनेछ । सीप विकास तथा कार्यस्थलमा आधारित एप्रेन्टिससिप कार्यक्रम सञ्चालनका लागि परीक्षा, सीप परीक्षण, स्तरीकरण, प्रमाणीकरण तथा छनोटका मापदण्ड निर्धारण गर्ने व्यवस्था मिलाउने जिम्मेवारी शिक्षा मन्त्रालयको हुनेछ । समझदारीको कार्यान्वयनमा आवश्यक समन्वय गर्नका लागि दुवै पक्षबाट सम्पर्क व्यक्ति तोकी जिम्मेवारी दिने र सोको जानकारी एकअर्कालाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सिटिइभिटीबाट उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग ऊर्जा मन्त्रालयको समन्वयमा सहकार्य र सहजीकरण तथा एप्रेन्टिससिप सम्बन्धमा प्रचारप्रसार गरिनेछ । सम्झौताले दीर्घकालमा नेपालका युवालाई आवश्यक प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी देशको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । यस समझदारीमार्फत ऊर्जा मन्त्रालयका विभिन्न परियोजनामा विद्यार्थीको सक्रिय सहभागिता हुनेछ, जसले उनीहरूको व्यावहारिक सीपमा सुधार ल्याउनेछ र रोजगारको अवसर बढाउनेमा विश्वास लिइएको छ । त्यसअवसरमा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी र शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले र सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलगायतको उपस्थित थियो ।

आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

महेन्द्रनगर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने भएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । कुल एक सय सात सदस्य रहेको मधेस प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नौ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सात प्रदेशसभा सदस्य छन् । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सदस्य छन् । (((

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो । झा गत शुक्रबार पक्राउ परेका थिए ।