दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयरमा लाग्यो सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.७९ अंकले बढेको छ । मंगलबारको कारोबारमा परिसूचक ०.७३ प्रतिशतले बढेर २ हजार १ सय ५२.१४ अंकमा पुगेको छ । विभिन्न ३ सय १६ कम्पनीका ११ लाख ६६ हजार १ हजार २ सय ८ कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ । यस दिनको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७९ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य ५.४७, नेपाल फाइनान्सको ४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ३.९० प्रतिशतले घटेको छ ।
नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए । उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए । संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए । मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको जानकारी दिए । ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरुले नै सार्वजनिक गरिसक्नुभएको छ । बरु अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो, उहाँहरुले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ’, उनले भने । मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताए ।
अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन
मुगु । मुगुस्थित रारा विमानस्थलमा मंगलबारदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । ‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।
पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए । ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ, नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु, अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल’, उनले भने । अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले जानकारी दिए ।
दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन् : सांसद खान
काठमाडौं । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिए । ‘स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु, उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पुर्याउन आवश्यक रहेको छ, दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन्’, उनले भने । सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैंले नक्कली लाइसेन्स विवरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । उनीहरूले करिब ३ सय वटा नक्कली लाइसेन्स वितरण गरेको पाइएपछि मुद्दा दायर भएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौँ सुवास पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । त्यस्तै, यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ । आरोपीमध्ये ६ जना पक्राउ परेका छन् भने बाँकी ९ जना फरार छन् । ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको रेकर्ड इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्ने क्रममा अर्कै विवरण राखेर उनीहरूले नक्कली लाइसेन्स वितरण गरेको कार्यालयकाे दाबी छ । त्यसबापत सरकारी कर्मचारीसमेतको मिलेमतोमा मोटो रकम लिइएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिनिधि सभा बैठक : सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजि गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन् । गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन् । यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन् । ‘यत्रा नागरिकहरु मरिराखेका छन्, डुबानमा परिराखेको छ, गृहमन्त्री यहाँ उपस्थित हुनुभएन, म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ, जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ, आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई, गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ’, उनले भनिन् । नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरु सबै दोषि भएका बताए । ‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो, दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समिकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मुल कारक नेतृत्व नै हो, यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो’, उनले भने । उनले सत्ता सहयात्री दलहरुले साथ दिदाँदिदै पनि समिकरण फेरिरहने नेतृत्व अस्थिरताको मुल कारण भएको पनि जानकारी दिए ।
भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे । महानरपालिकाले ५० प्रतिशत अनुदानमा २ करोड रुपैयाँको उपकरण वितरण गरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताए । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख रेनु दाहालले बताइन् । यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनको भनाई थियो । महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप-सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।