काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजि गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन् । गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन् । यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन् ।
‘यत्रा नागरिकहरु मरिराखेका छन्, डुबानमा परिराखेको छ, गृहमन्त्री यहाँ उपस्थित हुनुभएन, म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ, जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ, आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई, गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ’, उनले भनिन् ।
नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरु सबै दोषि भएका बताए ।
‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो, दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समिकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मुल कारक नेतृत्व नै हो, यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो’, उनले भने ।
उनले सत्ता सहयात्री दलहरुले साथ दिदाँदिदै पनि समिकरण फेरिरहने नेतृत्व अस्थिरताको मुल कारण भएको पनि जानकारी दिए ।