एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण हुने, हजारौं विद्यार्थीलाई जोड्दै
काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ । गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको हो । यसको मुख्य उद्देश्य भनेको गणितको भाषालाई विश्वभर फैलाउनु हो । गणित शिक्षालाई नयाँ रूप दिँदै ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले भने, ‘ग्लोबल म्याथ डिबेट लिगले हाम्रो दृष्टिकोणलाई झल्काउँछ कि गणित भनेको अङ्क र हिसाबभन्दा धेरै माथिको कुरा हो । यो लिग एउटा खास राष्ट्रिय मञ्च हो जहाँ विद्यार्थीहरूले देखाउन सक्छन् कि गणित भनेको तार्किक सोच र समस्या समाधानको रोमाञ्चक क्षेत्र हो, जुन परम्परागत कक्षाकोठाभन्दा धेरै उन्नत र गतिशील छ ।’ गणित र सोचको लागि राष्ट्रिय मञ्च यस वर्ष, ग्लोबल म्याथ डिबेट लिगले नेपाल भरका विद्यालयबाट ५ हजार भन्दा बढी विद्यार्थीहरूलाई एक संरचित, बहु-चरणको प्रतियोगितामा जोड्दैछ । जसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । प्रतियोगिता तीन चरण स्क्रीनिङ राउण्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउण्डमा हुनेछ । यसले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको लागि मञ्च तयार गर्नेछ । यस प्रक्रियामा विद्यार्थीहरूले आफ्नो विचार शील सोच तीखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन् र गणितले वास्तविक जीवनका समस्याहरूमा कसरी लागू हुन्छ भन्ने कुरा गहिरो रूपमा बुझ्छन् । भविष्यको बारेमा सोचविचार गर्नेहरूलाई सशक्त बनाउँदै गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ताहरू तयार गर्दैछ । जसले विश्लेषणात्मक रूपमा सोच्न र प्रभावकारी रूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ । नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा, ‘जीएमडीएल’ले युवा सोचविचार गर्नेहरू, बहस गर्नेहरू र समस्या समाधानकर्ताहरूको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ जसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् । सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो जसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिशनको विस्तार हो, जसले ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।
सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् । बैंक र इजी डेन्टल क्लिनिकबीच ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चाबहिल स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
सीईओहरुलाई सुवेदीले भने- बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, समयमै एडभान्स दिनु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । प्रमुख अधिकृतहरूसँग हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । सुवेदीले बीमा दाबी भुक्तानी योग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुने हुँदा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यामा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए । उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एडभान्स रकम दिनुपर्यो ।’ बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए । छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका सीईओहरुले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन कम्पनी सक्षम रहेको र यसमा समस्या नभएको बताएका छन् । उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमकले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको छलफलमा सीईओहरुले जानकारी दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको थप प्रष्ट पार्दै पुनर्बीमा बापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुव तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
पाँचकिलोमा बस दुर्घटना हुँदा २० जना घाइते
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा ३ जना नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए ।
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेकी छिन् । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको जनाइएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए । यसअघि यही असोज ७ गते पनि प्रधानमन्त्री कार्कीसँग निर्वाचनका विषयमा आयोगका पदाधिकारीले छलफल गरेका थिए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । ‘त्यस अवसरमा निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चितता, निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग तिहारअघि नै छलफल गर्ने विषयमा पनि छलफल भएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘यसअघि सम्पन्न संसदीय निर्वाचनका समयमा प्रयोग भएका स्रोतसाधनको प्रारम्भिक अनुमान गरी निर्वाचनका लागि थप आवश्यक स्रोतसाधन माग गर्ने विषयमा पनि छलफल भएको छ ।’ यसअघि आयोगको आग्रहमा तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन भई मतदाता नामावली सङ्कलन भइरहेको छ ।
बालेनले भने– सिंहदरबार जलाएको आरोप झुटो हो, देशलाई साँचो कुराको खाँचो छ
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबार जलाएको आरोपको खण्डन गरेका छन् । सिंहदरबार जलाउने बालेन शाह हो भन्ने प्रश्न र आरोप लागिरहेका बेला उनले उक्त आरोप झुटो भएको बताए । ‘सत्य बुझौँ, अफबाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔँ,’ उनले भने, ‘अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन ।’ साथै, सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो भन्ने आरोपको समेत उनले खण्डन गरेका छन् । ‘हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन । तर पनि हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु,’ उनले लेखेका छन्, ‘गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला । त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो, एक हिसाबले भनौं त्यो बेला राज्य नै ठप्प थियो ।’ उनका अनुसार त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन । यस्तो छ बालेलको स्पष्टीकरण “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?” “सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु। गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमान्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु। सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो। अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ। अन्त्यमा, प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्। हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं। सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ। अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।।
जेनजी आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ मा पठाएको छ । मृतकका परिवारमध्ये ४/५ जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरी बहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो । आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।
बालेन शाह र सुदन गुरुङविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता भएन
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ । मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । अखिलका नेताहरूले दिएको जाहेरी प्रहरीले बुझेपनि दर्ता भने भएको छैन । सरकारी वकिल कार्यालयसँग कानुनी सल्लाह लिएर मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय प्रहरीले गर्नेछ । बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ ।