बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने, कुन राजमार्गमा कति ?
काठमाडौं । गत असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवं मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
उत्पादन बढी र माग कम हुँदा अलैंचीको मूल्य प्रतिमन ८० हजारमा झर्याे
काठमाडौं । सङ्खुवासभामा यो वर्ष अलैंचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ रहेकामा यसपटक भने ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैंचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैंचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको अलैंची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो । ‘उत्पादन बढी र माग कम भएका कारणले अलैंचीको मूल्य घटेको हो । गत वर्ष ९० हजार रुपैयाँदेखि १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार रुपैयाँ र ग्रेडिङ नभएको अलैंची ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची ९८ प्रतिशत नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ ।
सिजनमै पर्यटक आगमन खुम्चियो, सेप्टेम्बरमा ७८ हजार मात्रै भित्रिए
काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।
रामेछाप-लुक्ला दैनिक ५० देखि ६० वटा उडान, काठमाडौं रुटमा सातामा ३ दिन हुने
काठमाडौं । मंगलबारदेखि रामेछाप-काठमाडौं रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् । केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण वीपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो । मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ । अबदेखि प्रत्येक बुधबार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।
सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै, १८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाइने भएको छ । बिदा स्वीकृत नगराइ गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्ने जनाएको हो । गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ । यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ । साथै, लामो समयदेखि बिदा स्वीकृत नगराइ कार्यालयको सम्पर्कमा नरहेका १८ जनालाई नेपाल प्रहरीले ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सहायक हवल्दार निजामुद्धिन पठान, देवराम तावड रहेका छन् । यस्तै, प्रहरी जवानहरुमा पारस बुढा मगर, राजन घिमिरे, कमल बि.सी. उत्तम बहादुर विष्ट, करन बहादुर चन्द, श्रीराम परियार, अनिल बि.क., अजित राई, भुपेन्द्र सिंह ठगुन्ना, अर्जुन धिताल, अनिल प्रसाद यादव, रोहुल्ला राय भाट, कौशिला बोगटी, सन्जय रुम्बा तामाङ, दिपेन्द्र चौधरी र राहुल कुमार राउत मेहतर रहेका छन् ।
सडक अलपत्र पार्ने ठेकेदारको बैंक जमानत जफत
काठमाडौं । पटक-पटक म्याद थप गर्दापनि ५ वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की बापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यवसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक-पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदा पनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । कूल ११ करोड २२ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत नै भएको थियो । पटक-पटक काममा फर्किन मौखिक र लिखित रुपमा पत्राचार गरिएको भएपनि निर्माण व्यवसायीले आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ । सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्क विहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारी साधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । निर्माण सुरु भएपछि निर्माण व्यवसायीले ४ करोड १३ लाख रुपैयाँ भुक्तानी लगेको थियो । जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रकृया समेत अघि बढाउन थालिएको छ । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर मात्र छाडेका कारण वडा नंं. ५ को काफल डाँडामा रहेको गाउँपालिकाको कार्यालय, वालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आउजाउ गर्न समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजना अन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयबासीको गुनासो रहेको छ ।
सोलार प्यानलबाट चार्जिङ स्टेसन, एकैपटक १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने
काठमाडौं । तमानखोलाको गुर्जाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब २ सय अस्थायी र ५ घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका-१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् । ५ सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल २ दिन जति लाग्छ । गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आबद्ध रहेको हुँदा बर्खाको ५ महिना गुर्जाघाटमा जान्छन् । तमानखोलाका २ सयभन्दा बढी घर परिवार जेठ महिनादेखि नै घुर्जाघाट उक्लिन सुरु गर्छन् । बर्खाभरी लेक (घुर्जघाट)मा बसेर असोज/कात्तिक तिर मात्रै बेसी (गाउँ) झर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरुको परम्परा जस्तो बनेको छ । तर ५ घर परिवार भने स्थायी रुपमा गुर्जाघाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजारभन्दा बढी भेडापालन हुँदै आएको छ । स्थानीयले गाईभैँसी पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ४ वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । गाउँपालिकाले करिब २ लाख रुपैयाँ लागतमा गत साता सोलार प्यानल जडान गरेको उनको भनाइ छ । अध्यक्ष बुढा मगरले भने, ‘घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरू बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरू यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत् पुर्याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।’ ढोरपाटन सिकार आरक्ष र म्याग्दीको धौलागिरि गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । स्थानीयले कतिपय अवस्थामा सेनाको क्याम्पमा पुगेर मोबाइल फोन चार्ज गर्नुपर्ने अवस्था थियो । आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चर्जा गर्न मिल्ने भएपछि सहज भएको गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताए । गाउँपालिकाले गुर्जाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको हो । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ ।
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सीप लगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ । विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए ।