एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य
चौतारा । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारणतर्फ सबै विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । यीमध्ये लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ । प्राविधिक धारतर्फ भने केही विद्यार्थीमात्र ‘ग्रेडेड’ भएका थिए । सिन्धुुपाल्चोकमा रहेका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले एसइई २०८२ मा सहभागिता जनाएका थिए ।
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको जानकारी दिएका हुन् ।
बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक विदा
काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै जेठ १ गते अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने जानकारी दिएको छ । बाँदरलाई सीमा कटाउन ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले सूचनामा उल्लेख गरेको छ । नगरपालिकाका अनुसार पछिल्लो समय बाँदरका कारण कृषिबालीमा व्यापक क्षति पुगेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सूचनामा किसानले उत्पादन गरेको कृषि उपजमा ठूलो नोक्सानी भएको, साथै बाँदर आतंकका कारण बालबालिका विद्यालय जानसमेत प्रभावित भएको उल्लेख गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटअन्तर्गत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रममार्फत विभिन्न क्षेत्रमा बाँदर धपाउने अभियान सञ्चालन गर्न लागेको जनाएको छ । वडा नं. ८ को रंगमञ्च क्षेत्र, वडा नं. ५ को सिङ्गाप्पा क्षेत्रलगायत स्थानमा कार्यक्रम तय गरिएको छ । जेठ १ र २ गते सञ्चालन हुने उक्त कार्यक्रममा किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ । ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । रास्वपाका नेता नेता गणेश पराजुलकीका अनुसार रास्वपाले असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । रास्वपाले पहिलो महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
सर्वोत्तम सिमेन्टले सुनवलमा ४ करोडको स्वास्थ्य पूर्वाधार निर्माण गर्दै
काठमाडौं । सर्वोत्तम सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधा सम्पन्न 'सर्वोत्तम इमर्जेन्सी अस्पताल' निर्माण कार्य सुरु गरेको छ । सोमबार आयोजित कार्यक्रमबीच सुनवल नगरपालिका–५ मा अस्पताल भवनको शिलान्यास सम्पन्न गरिएको हो । कोभिड–१९ महामारीको कठिन समयमा सर्वोत्तम सिमेन्ट र सुनवल नगरपालिका बीच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन नगरप्रमुख भिमबहादुर थापाको कार्यकालमा सुरु गरिएको उक्त प्रतिबद्धता अब कार्यान्वयनमा आएको हो । सर्वोत्तम सिमेन्टले महामारीका बेला नगरपालिकालाई १७ वटा भेन्टिलेटर उपलब्ध गराएको थियो । निर्माण सम्पन्न भएपछि ती उपकरणहरूको आवश्यक सर्भिसिङ गरी अस्पतालमै व्यवस्थापन गरिने कम्पनीले जनाएको छ । लिफ्टसहितको तीनतले अस्पताल करिब ४ करोड रुपैयाँ लागतमा निर्माण गरिनेछ। निर्माणको सम्पूर्ण खर्च सर्वोत्तम सिमेन्टले नै व्यहोर्नेछ । कम्पनीका महाप्रबन्धक नेत्र प्रसाद घिमिरेका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गरी अस्पताल सुनवल नगरपालिकालाई हस्तान्तरण गरिनेछ । बालमैत्री तथा अपाङ्गमैत्री डिजाइनमा निर्माण गरिने अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू समेत उपलब्ध गराइनेछ । साथै, अस्पताल सञ्चालनपछि मर्मत–सम्भारको जिम्मेवारी समेत कम्पनीले नै लिने जनाएको छ । सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले यसअघि जग्गा अभावका कारण परियोजना अघि बढ्न नसकेको उल्लेख गर्दै हाल आवश्यक जग्गा उपलब्ध भएपछि निर्माण प्रक्रिया सुरु गरिएको बताइन् । स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण हुन लागेको यस अस्पतालले सुनवल क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
गरिब र जेहेनदार विद्यार्थीलाई काठमाडौं महानगरको राहत, छात्रवृत्तिका लागि यसरी दिनुहोस् आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै संस्थागत (निजी) विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो । महानगरको यो कार्यक्रमले निजी विद्यालयमा अध्ययन गर्न चाहने तर आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुने विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा महानगरले छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन परीक्षा प्रणालीलाई प्राथमिकता दिँदै आएको छ । शिक्षा विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत भर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले आवेदन फाराम भर्दा आवश्यक शैक्षिक विवरण तथा व्यक्तिगत जानकारी सही रूपमा उल्लेख गर्नुपर्ने महानगरले जनाएको छ । महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार छात्रवृत्तिसम्बन्धी विस्तृत विवरण वेबसाइटमा राखिएको छ । त्यहाँ विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा, परीक्षा केन्द्र तथा आवेदन प्रक्रियासम्बन्धी जानकारी उपलब्ध गराइएको छ । शिक्षा विभागले आवेदन दिनुअघि सम्बन्धित विवरण राम्रोसँग अध्ययन गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । छात्रवृत्ति छनोटका लागि हुने परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । परीक्षामा १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछन् । महानगरका अनुसार परीक्षा निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक ढङ्गले सञ्चालन गरिनेछ । महानगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले निजी विद्यालयहरूलाई कानुनी रूपमा तोकिएको छात्रवृत्ति कोटा अनिवार्य कार्यान्वयन गराउँदै आएको छ । यसले गर्दा विगत केही वर्षयता छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको महानगरको दाबी छ । महानगरका अनुसार गत शैक्षिक सत्र २०८० मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गरेका थिए । कानुन कार्यान्वयन सुरु भएको पहिलो वर्ष १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने दोस्रो वर्ष यो संख्या बढेर १९ हजार पुगेको थियो । पछिल्लो विवरणअनुसार कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ विद्यार्थी गरी कुल २० हजार २८२ जनाले छात्रवृत्ति सुविधा पाएका थिए । महानगरपालिकाले शिक्षा पहुँच विस्तारसँगै गुणस्तरीय शिक्षामा समान अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ । आर्थिक रूपमा विपन्न, श्रमिक, दलित, जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर छात्रवृत्ति वितरण गरिँदै आएको महानगरको भनाइ छ । शिक्षाविद्हरूले पनि महानगरको यस्तो पहलले निजी विद्यालयमा अध्ययन गर्ने अवसर सबै वर्गका विद्यार्थीमा विस्तार हुने बताएका छन् । उनीहरूका अनुसार पारदर्शी परीक्षा प्रणालीमार्फत छात्रवृत्ति वितरण हुँदा वास्तविक आवश्यकतामा रहेका विद्यार्थी लाभान्वित हुने सम्भावना बढ्छ । काठमाडौँ महानगरपालिकाले आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी र पहुँचमुखी बनाउने योजना रहेको जनाएको छ । महानगरले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र निगरानीका कारण निजी विद्यालयहरूमा कानुनी दायित्व कार्यान्वयनमा समेत सुधार आएको दाबी गरिएको छ ।
नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा ६ अर्ब २७ करोड नाफा
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवैमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको थियो । त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशत अर्थात् रु. ४२ करोड ३३ लाखले वृद्धि भई रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ । मुनाफातर्फ, तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको थियो । नाफा वृद्धिसँगै प्रति शेयर आम्दानी (EPS) रु. ४२.३ बाट बढेर रु. ४६.४७ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सम्पत्ति पनि रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो । वित्तीय सूचक सुधार हुनुका प्रमुख कारणमा जीएसएम सेवातर्फको राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा आएको गिरावटलाई लिइएको छ । विवरणअनुसार जीएसएम राजस्व २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) ले बढेको छ भने ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घटेको छ । यद्यपि, बजारमा घट्दो ब्याजदरका कारण कम्पनीको ब्याज आम्दानीमा भने २०.५७ प्रतिशत (करिब रु. ५७ करोड ६६ लाख) ले कमी आएको छ ।
प्रधानमन्त्री बालेनले संसदमा नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले आज नदिने भएका छन् । संसद् सचिवालयको उच्च स्रोतका अनुसार यसअघि तय गरिएको कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको हो । यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने संसद सचिवालयको तयारी रहेको छ । तर, केहीबेरअघि प्रधानमन्त्री सचिवालयबाट आएको सूचनाअनुसार प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा उठेका विषयहरूको जवाफ दिने कार्यक्रम तय गरिएको स्रोतले जानकारी दिएको छ । संसद् सचिवालय स्रोतका अनुसार कार्यसूची संशोधनसँगै आजको बैठकको स्वरूप पनि परिवर्तन भएको छ । प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रतिपक्ष तथा सत्तापक्ष सांसदहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्ने अपेक्षा गरिए पनि अन्तिम समयमा जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो । सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सकिएसँगै त्यसलाई आजै पारित गर्ने तयारी अघि बढाएको छ । यद्यपि प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिने निर्णयपछि संसद् बैठकमा राजनीतिक प्रतिक्रिया आउने सम्भावना रहेको बताइएको छ ।