विकासन्युज

मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ?

काठमाडौं ।  गत वर्ष जस्तै यस वर्ष पनि मनसुनको अन्त्यतिरको भारी वर्षाका कारण काठमाडौं लगायत मधेस र कोशी प्रदेशका जिल्लाहरूमा ठूलो जनधनको क्षति भयो ।  मनसुन बाहिरिने समयमा लगातार दुई वर्ष उही समय र उही प्रकृतिको वर्षाको कारण मुलुकले डुबान, बाढी र पहिरोको सामना गर्नुपर्‍यो । गत वर्ष जस्तै यस वर्ष पनि मौसम पूर्वानुमानको प्रक्षेपण झन्डै एक साता अघिदेखि नै गरिएको थियो । सम्भावित क्षति न्यूनिकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग लगायत सरकारका संयन्त्रहरूको सक्रियता प्रभावकारी देखियो । यस पटक समग्र विपद् व्यवस्थापनमा सरकारका निकायहरूको समन्वय र सहकार्य एकीकृत देखिएको थियो । विपद्पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताको प्रशंसा भइरहेको छ ।  यद्यपि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार काठमाडौंमा वर्षा नभएको र इलाममा पूर्वानुमान भन्दा बढी वर्षा भएर ठूलो मानवीय क्षति भएको सन्दर्भलाई लिएर विभागको पूर्वानुमानमा प्रश्न गरिएको छ । यस सम्बन्धमा विभागले वर्षा गराउने प्रणालीको विस्तृत अध्ययन पछि मात्रै भन्न सकिने बताएको छ ।  त्रिभूवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रिय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलले पानी पार्ने प्रणाली काठमाडौंबाट छिटो मुभ भएका कारण प्रक्षेपण गरे भन्दा कम वर्षा भएको बताए । त्यसैगरी इलाममा पनि विभागको फोरकास्टमा ३ घण्टाको फरक देखिएको बताए ।  जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागले निकालेको तीनदिने मौसम पूर्वानुमान सटिक भएको भएपनि तीन घण्टाअघि नै मौसमी प्रणाली मध्य नेपालबाट पूर्वतिर सरेको बताए । मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिलेकाहीँ पूर्वानुमान सही नहुने तथा केही तलमाथि पर्नसक्ने उनको भनाइ थियो । डाक्टर सिग्देलकाअनुसार विभागले शनिबार, आइतबार र सोमबारको फोरकास्टिङ सार्वजनिक गरेको थियो । उक्त बुलेटिङअनुसार शनिबार काठमाडौंसहितका क्षेत्रमा वर्षा हुने र आइतबार बिहान मात्र मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने अनुमान गरिएको थियो । डाक्टर सिग्देलले शनिबारदेखि आइतबारसम्म रौतहटको गौर, महेशपुर तथा वीरगञ्ज लगायत क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको बताए । उनले यस पटकको वर्षा प्रणाली ‘डिप्रेशन सिस्टम’मा विकसित भएको साइक्लोनिक सर्कुलेसनसँग सम्बन्धित रहेको उल्लेख गर्दै सो प्रणाली बलियो भएकाले लगातार वर्षा भएको बताए । उनले तल्लो तह (लोअर लेभल)मा आवश्यक परिमाणको आपूर्ति मध्यम मात्र भएकाले प्रणाली लामो समय स्थिर रहन नसकेको कारण विभागले प्रक्षेपण गरे भन्दा अगाडि नै मौसमी प्रणाली पूर्वी क्षेत्रमा सिफ्ट भएको बताए । डेढ किलोमिटर माथिको हावाको तह (लोअर लेभल जेड)मा सुख्खा र चिसो हावाको प्रभाव परेकाले प्रणाली अपेक्षाभन्दा चाँडै पूर्वतिर सरेको उनको भनाइ छ । उनले मौसमी प्रणालीको निरन्तर निगरानी गरेर सूचनाहरू दिने कार्य भइरहे पनि शनिबार मध्यराति मात्र प्रणाली पूर्व सरेको कारण समयमै सूचना सम्प्रेषण हुन नदेखिएको टिप्पणी गरे ।  बार्मर मोइस्चर र कुल ड्राइ एअर आपसमा ठोक्किँदा प्रणाली छिट्टै सरेका कारण विभागको पूर्वानुमानमा थोरै समय फरक परेको र त्यसले विपद् व्यवस्थापनको तयारीमा समेत असर परेको उनको भनाइ छ ।  जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागको रियल–टाइम अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । ऋतुगत मौसम पूर्वानुमान (सिजनल फोरकास्टिङ) स्टाटेस्टिकल, डायनामिकल र हाइब्रिड विधिमा गर्ने विश्वव्यापी प्रचलन छ । नेपालमा स्टाटिस्टिकल मोडेल प्रयोग हुँदै आएको छ । मौसम विज्ञान विभागले ६/६ घण्टामा मौसम पुर्वानुमानको बुलेटिन निकाल्दै आएको छ । इलामको घटनाबाट गणीतिय मौसम पुर्वानुमान पद्धतिलाई छोटो अवधिमा नै अपडेट गर्नुपर्ने आवश्यकता देखाएको छ । भविष्यमा यो पुर्वानुमानको पद्धतिलाई छोटो बनाउन नसक्ने हो भने छिटफुट यस्ता घटनाका कारण विभागको सूचनामाथिको विश्वसनीयतामा प्रभाव पार्ने देखिन्छ ।

हरियो तरकारीको मूल्यमा अस्वभाविक वृद्धि, किलोको २ सयमा पाइने धनिया ८ सय पुग्यो

काठमाडौं । गत शनिबार र आइतबारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो ।  सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरुले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् । सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ । कालिमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालिमाटी बजारमा भित्रिने भएपपनि  दशैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो ।  जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रुपमा तरकारी उपलब्ध गर्न समस्या भएको उनको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उनको भनाइ छ ।  उनले भने, ‘अविरल वर्षाको कारण दशैँ पछाडि बजार तरकारी आएन । त्यसकारण दशैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ ।  धनिया मात्र पनि दशैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो । अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैया पनि पुग्यो । आपूर्ति कम र माग बढी हुँदा महंगियो ।’ सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरूको विश्वास छ । 

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

रसुवा । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ ।      सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।      मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । गत असार र साउनमा उक्त राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि हालै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । पुनः तेस्रो पटक पनि बाढीपहिरोले अवरूद्व भएको हो ।      ल्हेन्दे खोलाको मितेरी पुल निर्माण धमाधम भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि दुई देशबीचको नाका बन्द भएको थियो ।   

टेस्लाको ‘सस्तो’ सपना महँगो ‘साबित’

काठमाडौं । टेस्लाले आफ्नो सबैभन्दा बढी बिक्री हुने मोडल वाई एसयूभी र मोडल थ्री सेडानका ‘सस्तो’ संस्करण सार्वजनिक गरेको छ । तर, सुरुवाती मूल्य क्रमशः ३९ हजार ९९० डलर र ३६ हजार ९९० डलर राखिएपछि केहीले यसलाई नयाँ वर्गका ग्राहकलाई आकर्षित गर्न अझै पनि महँगो भएको बताउँछन्  । प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले गत वर्ष कर छुटपछि ३० हजार डलरभन्दा कम मूल्य नै व्यापक ग्राहक समूहसम्म पुग्ने प्रमुख उपाय हुने बताएका थिए । टेस्लाले अहिले यूरोप र चीनमा बढ्दो प्रतिस्पर्धा, घट्दो बिक्री र अमेरिकाको ७ हजार ५०० डलरको कर छुट गुमेपछि आफ्नो पुरानो मोडेलहरूको बिक्री पुनः बढाउने प्रयास गरिरहेको छ । नयाँ कारहरूले केही प्रिमियम विशेषता र फिनिस हटाएका छन्, तर ३०० माइल (४८० किमी) भन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्छन् । टेस्लाको सेयर मूल्य ४.५ प्रतिशतले घट्यो । टेस्लाका समर्थक तथा वेडबशका विश्लेषक ड्यान आइभ्सले भने नयाँ मोडलहरू अघिल्ला स्तरका ट्रिम्सभन्दा मात्र करिब ५ हजार डलर सस्तो भएकोमा निराशा व्यक्त गरे । नयाँ ‘स्ट्यान्डर्ड’ संस्करणको मूल्य गत सेप्टेम्बरमा उपलब्ध अमेरिकाको सबैभन्दा सस्तो मोडलहरूभन्दा बढी परेको छ, जब कर छुट अझै लागू थियो । मस्कले वर्षौंदेखि सर्वसाधारणका लागि सस्तो कार ल्याउने वाचा गर्दै आएका थिए । तर, गत वर्ष उनले नयाँ २५ हजार डलरको इलेक्ट्रिक कार निर्माण योजना रद्द गरेका थिए, जसको जानकारी पहिलो पटक रोयटर्सले दिएको थियो । त्यसको सट्टा उनले हालका मोडलकै सस्तो संस्करण बनाउने निर्णय गरे  जसले लगानीकर्ता र विश्लेषकबीच चिन्ता पैदा गर्यो कि यसले पुराना मोडलहरूको बिक्री घटाउन सक्छ र कम्पनीको वृद्धि सीमित गर्न सक्छ । ‘यो मूलतः मूल्य नियन्त्रणको प्रयास हो, नयाँ उत्पादनले बजारमा ठूलो प्रभाव पार्ने खालको होइन,’ अनुसन्धान संस्था फ्यूचरम इक्विटीजका प्रमुख बजार रणनीतिकार शाय बोलूरले भने, ‘म यसले नयाँ माग व्यापक रूपमा सिर्जना गर्ने देख्दिनँ ।’ अमेरिकामा कर छुट गुमेपछि माग घट्ने डरले केही अन्य कार निर्माता कम्पनीहरूले पहिले नै मूल्य घटाएका छन् भने कतिपयले प्रोत्साहनहरूको लाभ उपभोक्तालाई पुर्याउने नयाँ उपाय अपनाएका छन् । लगानीकर्ता र विश्लेषकहरूका अनुसार ४० हजार डलरभन्दा कम मूल्यले बिक्री बढाउन मद्दत गर्न सक्छ, किनभने अबका नयाँ मोडलहरूले आगामी वर्ष शेवरलेट इक्विनक्स, हुन्डाई आइओनिक फाइभ र कियाको ईभी फोरसँग प्रतिस्पर्धा गर्नेछन् । तर, केहीले टेस्लाले मूल्य ३० हजार डलरभन्दा तल झार्ने अपेक्षा गरेका थिए । ‘मलाई लाग्दैन कि यो पर्याप्त छ,’ क्यामेलथोर्न इन्भेस्टमेन्ट्सका सल्लाहकार सन् क्याम्पबेलले भने, ‘​​​​दीर्घकालीन हिसाबले हेर्दा, यो समाचारले विश्व बजारमा कम लागतका चिनियाँ प्रतिस्पर्धीहरूले खडा गरेको समस्या समाधान गर्दैन । मेरो विचारमा टेस्लालाई ३० हजार डलरभन्दा कमको ईभी चाहिन्छ ।’ 

सुनको मूल्यमा लगातार रेकर्ड ब्रेक, तोलाको २ लाख ३८ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । मंगलबार प्रतितोला सुन २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । लगातारको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले यसअघि सबै रेकर्ड तोडेको हो । त्यसैगरी, चाँदीको मूल्य भने आज सामान्य रूपमा घटेको छ । बुधबार प्रतितोला चाँदी ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँमा झरेको छ।   

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।   

ट्रम्प भन्छन् - केही बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो ।  डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताए । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता तलव नपाउन सक्छन् भन्ने बारेमा थप विवरण प्रदान भने गरेनन् ।  ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिइरहेका छन् । ३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीहरूको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका थिए ।  कानून पारित हुनुअघि, अमेरिकी काँग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारहरूको लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ । गत हप्ता कंग्रेसनल बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग ७ लाख ५० हजार संघीय कामदारहरूलाई बिदामा राख्ने अनुमान गरिएको छ । आवश्यक मानिएका संघीय कामदारहरू जस्तै हवाई ट्राफिक नियन्त्रकहरू र कानून प्रवर्तन अधिकारीहरू, सरकार पुनः नखुलेसम्म तलब बिना काम गरिरहनेछन् ।     

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।