काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार बैंकरहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेप नगर्ने बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट केही सहज व्यवस्था अपेक्षा गरिरहेको अवस्थामा राष्ट्र बैंकले सुझबुझपूर्ण तरिकाले मौद्रिक नीति ल्याउने विश्वास गरेको उनले बताए ।
‘राष्ट्र बैंक स्वायत्त संस्था हो, म उसको क्षेत्राधिकारमा हस्तक्षेप गर्न हुँदैन भन्ने विश्वास राख्छु तर राष्ट्र बैंकले तपाईंहरूका जायज माग सम्बोधन गर्नेछ भन्ने नै लाग्छ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भनेर विभिन्न अभियान चलाइनु गैरकानुनी क्रियाकलाप रहेको उनले बताए । साथै अर्थमन्त्री पौडेलले बैंकका कर्मचारीको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट समितिमा दफावार छलफलका लागि गएको र त्यसलाई चाँडै विवादरहित कानुनका रूपमा ल्याइने उनले विश्वास दिलाए ।
अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन बाँकी रहेको भन्ने विषयमा आफूले अध्ययन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने उनले बताए । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानीबारे बाहिर एकथरी तथ्याङ्क प्रचार भएको र त्यसको वास्तविक तथ्याङ्क फरक रहेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी हुन नसक्नु र खराब कर्जा बढ्नु चिन्ताको विषय रहेको अर्थमन्त्री पौडेलले धारणा राखे ।
राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले स्थिर सरकार बनेकाले अब सम्पूर्ण ध्यान देशमा रहेका समस्या समाधानमा केन्द्रीत हुने र सोहीअनुसार बजारमा सकारात्मक सन्देश सम्प्रेषण गर्न बैंकरहरूसँग आग्रह गरे ।
‘अर्थतन्त्र बिग्रनुमा विश्वव्यापी परिघटना र केही आन्तरिक कारण होलान् तर राजनीतिक अस्थिरता प्रमुख कारण हो । हाम्रो शासन प्रणालीअनुसार बन्नसक्ने सबैभन्दा स्थिर सरकार यहि हो, यो बलियो र टिकाउ सरकार हो, यसले निकास दिन्छ भन्ने सोच राख्नुहोला । तपाईंहरू विश्वास बोकेर फर्किनुस्, सरकारसँगै छ,’ उनले भने ।
अर्थतन्त्र सुधारका लागि नीतिगत रूपमा गर्नुपर्ने हस्तक्षेपका लागि सरकारले आवश्यक कदम चाल्ने पनि उनले स्पष्ट पारे । अहिलेको मुख्य चुनौती आममानिस र निजी क्षेत्रमा परेको निरासा चिर्नु रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
‘अहिलेको चुनौती मनोबल बढाउने नै हो । कसैले पनि व्यवसाय विस्तार गर्नेबारे सोचिरहेको छैनन् । ठूलो लगानी गर्नेभन्दा पनि कसरी चल्ने र साँवाब्याज कसरी तिर्ने भन्नेतर्फ धेरैको सोच छ, यस्तो अवस्थामा सरकारले हरेक क्षेत्रको अभिभावकत्व ग्रहण गर्छ । अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सँगै प्रयास गर्न र प्रत्येक समस्यामा सँगै बसेर छलफल गर्न तयार छु,’ उनले भने ।