विकासन्युज

१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा

ढोरपाटन‍ । बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी  बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।  गत असार पहिलो सातानै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो । पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो ।  गत असार ९ गते सर्वोच्चले रिटनै खारेज गरिदिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए। कपिलवस्तुको मोतिपुरदेखि सुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन विसं २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेशनको निर्माण भएको छ । विसं २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो ।  मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन विसं २०७८ चैत १२ गते परीक्षण गरी सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिए ।  सर्वोच्चले रिट खारेजपछि अब काम तीव्र गतिमा हुने उनको भनाइ छ । गुल्मीको पौँदी अमराई र बागलुङको   बुर्तिबाङक  सवस्टेशन एकै पटक सञ्चालन गरिने उनले बताए । उनका अनुसार पौँदीअमराईदेखि बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै १५ वटा निर्माण गर्ने बाँकी रहेका छन् ।  पन्ध्र वटा टावरसँगै लाइनसमेत तान्न बाँकी रहेको आयोजना प्रमुख चौधरीको भनाइ छ । ‘काममा कुनै बाधा नभएको हुन्थ्यो भने यति बेला १३२ केभी बुर्तिबाङ सवस्टेशन सञ्चालनमा आउने थियो, हाम्रो लक्ष्य असारमै सक्नुपर्ने थियो, तर विभिन्न बाध्यात्मक परिस्थितिले गर्दा ढिला भयो’ उनले भने, ‘अब छिट्टै कामलाई गति दिएर सक्छौँ, स्थानीयलाई मुअब्जा दिने काम पनि भइरहेको छ, विद्युत् प्राधिकरण केन्द्रबाटै छिटो काम सक्नका लागि प्रेसर छ, छिट्टैनै काम सक्छौँ र सञ्चालनमा ल्याउँछौँ ।’  सवस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा निर्माण जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब रु ८३ करोडको लागतमा निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर दरुरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने छ । बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आयोजना सम्पन्न गर्नका लागि आफूहरुले सहज वातावरण तयार गर्नका लागि भूमिका खेलेको बताए ।  आयोजनाले टावर निर्माण गर्दा प्रयोग हुने जग्गाको धनीलाई उचित मुअब्जा दिनका लागि आग्रह गरेको उहाँको भनाइ छ । सदरमुकाम बागलुङ बजारका आसपासमा केही वर्ष अगाडिनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि पश्चिम बागलुङ भने जोडिन सकेको थिएन । अघिल्लो तीन वर्ष अगाडिदेखि विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला केन्द्रीय लाइनले जोडिन सकेका छैनन् ।  यद्यपि प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको गाउँ–गाउँसम्म अहिले विद्युतीय पोल गाड्ने र तार तान्ने काम भने गरिरहेको छ । रासस

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए । महिलाहरुमा समाजलाई डोर्याउनसक्ने क्षमता हुने बताए । महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जानकारी दिए । उनले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताए । महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । ‘म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर, अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमनत्री तपाईंहरुले पाउनु हुन्छ, महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरुको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्याउन सक्छ, महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ’, उनले भने । उनले महिलाहरुलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गरे ।

बंगलादेशमा हिंसा भड्किएपछि नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएपछि नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूलाई सुरक्षित हुन र काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । बंगलादेशका लागि नेपाली दूतावासले बधबार जारी गरेको सूचनामा बंगलादेशको शिक्षा मन्त्रालयले अर्को सूचना जारी नगरेसम्म सबै सरकारी, नीजि विश्वविद्यालयहरू तथा कलेजहरू बन्द हुने पनि जानकारी दिएको छ । दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’ अवस्था प्रतिकूल भएका दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गरी सहयोग माग्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरिएको छ ।

ललितपुर महानगरले संकलन गर्यो लक्ष्यभन्दा बढी राजस्व

पाटन । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व संकलन भएको हो । ‘सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आइनसकेको छैन,’ थापाले भने । त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२  प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए । ‘गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजित थियो, सोअनुसार तीन अर्ब २५ करोड आठ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ,’ धिमालले भने । राजस्व संकलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले ५८ करोड रुपैयाँभन्दा बढी पुरानो बेरुजु फछ्र्यौट गरेको धिमालले जानकारी दिए ।

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिंगो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् । ‘पार्कमा रहेको सुन्दर र आकर्षक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ’, स्थानीय मनबहादुर घलेले भने, ‘बारपाक आएका पर्यटक बुद्ध पार्क नपुगी शायदै कोही फर्कंदैनन् होला ।’ बुद्ध पार्कले बारपाकमा पर्यटकको आकर्षण थपिएको उनको भनाइ छ । ‘बारपाक आफैँमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ हो,’ उनले भने, ‘यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ ।’ बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको घलेले बताए । बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढंगले राखिएको छ । त्यस्तै, पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृश्यावलोकनसँगै बारपाकीहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्’, उनले भने, ‘त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।’ बुद्ध पार्क ढुङ्गगैढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । ‘यो पार्क बारपाकभित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ,’ उनले भने, ‘प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका बिरगजे घलेको गाउँ बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र विन्दु पनि हो । रासस

यो वर्ष शिक्षक सेवा आयोगको कुन तहको परीक्षा कहिले ?

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि शिक्षक पदपूर्ति कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि आवेदन माग गरिनेछ । फागुनमा निम्न माध्यमिक तहका लागि विज्ञापन खुल्नेछ भने प्राथमिकत तहका लागि वैशाखमा आवेदन माग गरिने छ । पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ । त्यस्तै निम्न माध्यमिक तहको भने वैशाख र असारमा परीक्षा हुने कार्यतालिका छ । प्राथमिक तहको जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नै नतिजा प्रकाशन गर्ने तयारी आयोगले गरेको छ । अध्यापन अनुमतिपत्रअन्तर्गत माध्यमिक तहका लागि आगामी साउनमा आवेदन माग गरिने छ । अनुमतिपत्रको परीक्षा असोजमा गर्ने कार्यतालिका छ । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा कात्तिकमा हुनेछ ।

रसुवाको राजस्व २० अर्ब ३६ करोड

रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो  । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रुपैयाँ रहेको छ । यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले  वृद्वि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

बाँकेका गाउँमा अझै भएन विद्युतीकरण, खानेपानी र सिँचाइको अभाव

नेपालगञ्ज । भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । ‘पहिले त हामीले खोलाको पानी नै खान्थ्यौँ तर पछिल्लो पटक केही घरमा धारा जडान भएको छ, खानेपानीको समस्या समाधान भएको छैन,’ उनले भने । विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गर्दै नेपालीले ठेकेदारको लापरबाहीले विद्युतीकरणको काम अघि बढ्न नसकेको बताए । उनले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम अझै पूरा नभएको जानकारी दिँदै यसमा नेपाल विद्युत् प्राधिकरणले पनि ताकेता नगरेको आरोप लगाए । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा खसालिएको र तीमध्ये तीन सय ६० मात्रै गाडिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण अन्य खम्बा यत्रतत्र छरिएको अवस्थामा रहेका छन् । स्थानीय नेपालीले बस्ने ठाउँको खोजी गर्दै जाँदा रोल्पा, रुकुम, मुगु, सल्यान, जाजरकोट, प्यूठानलगायत जिल्लाबाट आएर त्यहाँ बसोबास गरेको जानकारी दिए । त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । उक्त स्थानमा १५ वर्षदेखि स्थानीय बस्दै आएका छन् । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले आफ्नो पहलमा नै विद्युतीकरणको प्रयास भएको जानकारी दिँदै उक्त योजना अधुरो योजना भएको बताए । उनले भने, ‘ठेक्का रद्द गरेर भए पनि विद्युत् प्राधिकरणले नै काम गर्नेगरी काम गर्छु ।’ नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा ठेक्का लिएको कम्पनीलाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको बताए । उनले भने, ‘विद्युत् कार्यालयले पत्राचार गरेको छ, जायज कारण पनि छैन र जवाफ चित्त बुझदो पनि छैन ।’ उनले ठेकदारको लापरबाहीका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यस क्षेत्रमा २४ किलोमिटरमा विद्युत् लाइन तान्नुपर्ने अवस्था रहेको जानकारी दिए । तीन करोड ५० लाख रुपैयाँ हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो । रासस