गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण
भैरहवा । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको संघका अध्यक्ष श्रेष्ठले बताए । ‘नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ,’ श्रेष्ठले भने, ‘हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ । चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ । चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ ।’ लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताए । त्यस अवसरमा मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाए । उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गरेका थिए । ‘उहाँले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताउनुभएको थियो । हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ,’ श्रेष्ठले भने ।
२२ लाख नेपाली परदेशमा, अधिकांशको गन्तव्य मध्यपूर्वी मुलुक
काठमाडौं । परदेशमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ । विभिन्न कारण विदेश जाने नेपालीको संख्या २१ लाख ९० हजार ५ सय ९२ जना पुगेकाे छ । राष्ट्रिय तथ्यांक कार्यालययले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ सालसम्म विभिन्न देशमा २१ लाख बढी नेपाली बसोबार गरिरहेका छन् । जसमा सबैभन्दा धेरै मध्यपूर्वका देशहरूका रहेको पाइएको छ । प्रतिवेदनअनुसार मध्यपूर्वका देशमा सबैभन्दा बढी ८ लाख ४ हजार ६ सय १४ अर्थात ३६.७ प्रतिशत नेपाली छन् । यस्तै, भारतमा ७ लाख ४४ हजार ८ सय ५५ अर्थात् ३४.० प्रतिशत छन् । यस्तै, सार्कका अन्य मुलुकमा ६ हजार ४ सय ७६ (०.३ प्रतिशत), अन्य एसियानमा १ लाख ९८ हजार ५ सय ४५ जना (९.१ प्रतिशत) ,युरोपियन युनियनमा ६७ हजार ५ जना (३.१ प्रतिशत), एसियाका अन्य देशहरूमा १ लाख २५ हजार ३ सय १० जना (५.७ प्रतिशत) अन्य युरोपियन देशहरूमा ४४ हजार ९ सय ९२ जना (२.१ प्रतिश) नेपाली रहेका छन् । तथ्यांकअनुसार यूएस र क्यानडामा ८८ हजार ४ सय ८८ जना, दक्षिण अमेरिकामा ८ सय १० जना अफ्रिकामा ५ हजार ५ सय अर्थात् ०.३ प्रतिशत, प्यासिफिक देशहरूमा ९४ हजार ५ सय ३३ अर्थात् ४.३ प्रतिशत, अन्य देशहरूमा ४ हजार २ सय ९ अर्थात ०.२ प्रतिशत र नेपाली रहेका छन् भने ५ हजार २ सय ५२ जना कुन देशमा छन् भन्ने विषय खुलेकाे छैन । साढे १४ लाख नोकरीका लागि विदेसिए राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार साढे १४ लाख नेपाली नोकरी तथा तलबका लागि विदेसिएका छन् । २०७८ सालसम्म कुल १४ लाख ५० हजार ५ सय ३८ नोकरीका लागि विदेसिएका छन् । मध्यपूर्वका देशमा नोकरी खोज्न जाने नेपालीको संख्या पनि सबैभन्दा धेरै छ । जहाँ ६ लाख ७५ हजार ६ सय ९९ अर्थात् ४६.६ प्रतिशत मध्यपूर्वका देशहरूमा गएका छन् । यस्तै, नाेकरी खाेज्नका लागि भारतमा जाने नेपालीकाे संख्या ४ लाख ४७ हजार ४ सय ७६ जना रहेकाे छ । जुन कुल विदेसिएकाहरूकाे ३०.८ प्रतिशत हाे । आसियन देशहरूमा १ लाख ६१ हजार ७ सय ६९ (११.२ प्रतिशत), सार्कमा ३ हजार ५ सय ४ (०.२ प्रतिशत) प्रतिशत,अन्य एसियन देशमा ६५ हजार ५ सय १ (४.५ प्रतिशत), युरोपियन युनियनका देशहरूमा ३४ हजार ४ सय १३ जना (१.६ प्रतिशत),अन्य पुरोपियन मुलुकमा १७ हजार २ सय ७ जना (१.२ प्रतिशत) क्यानडामा ३३ हजार ४ सय २२ जना (१.६ प्रतिशत), दक्षिण अमेरिका ४ सय ९९ जना नेपाली बसाेबास गर्ने गरेका छन् । अफ्रिकन देशमा३ हजार ५ सय ६७ (०.२ प्रतिशत), प्यासिफिक देशहरूमा १२ हजार १ सय ८७ ०.८ प्रतिशत), अन्य देशमा २ हजार ७ सय २५ (०.२) नेपाली नाेकरीका लागि गएका छन्र । १३ हजार बढीको व्यापार विदेशमा नेपालीहरू विदेशमा पनि व्यापार व्यवसाय गर्ने प्रयोजनका लागि गएका छन् । कार्यालयको तथ्यांकअनुसार १३ हजार १ सय २६ जना नेपाली विभिन्न देशमा बसेर व्यापार व्यवसाय गरिरहेका छन् । व्यापारका लागि सबैभन्दा बढी भारतमा गएका छन् । जहाँ ५ हजार २ सय २१ अर्थात ३९.८ प्रतिशत नेपाली छन् । यस्तै, सार्क देशहरूमा ३६ जना, एसियन देशहरूमा ८ सय १५ जना(६.२ प्रतिशत),मध्यपूर्वमा ३ हजार ८० जना, (२३.५ प्रतिशत) अन्य एसियन देशमा १ हजार १ सय ८२ जना (९ प्रतिशत), युरोपियन युनियनमा ५ सय २२ जना (४.२ प्रतिशत), अन्य युरोपियन देशमा ३ सय २ जना (२.३ प्रतिशत), यूएसए र क्यानडामा ९ सय ६४ जना (७.३ प्रतिशत), दक्षिण अमेरिकामा ७ जना, अफ्रिकामा ३८ जना र प्यासिफिक देशहरूमा ८ सय ७५ जना (६.५ प्रतिशत) र अन्य देशहरूमा ३२ जना नेपाली व्यवसाय गर्नका लागि विदेश गएका छन् । ४० जना नेपाली कुन देशमा व्यवसाय गर्छन् भन्ने विषय खुलेकाे छैन । करिब तीन लाख अध्ययनका लागि गए कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ९३ हजार ७७ नेपाली अध्ययन तथा तालिमको लागि विदेश गएका छन् । जसमा सबैभन्दा धेरै प्यासिफिक देशमा ६६ हजार ४ सय ७७ अर्थात ३१.७ प्रतिशत विद्यार्थी गएका छन् । यस्तै क्यानडमा धेरै नेपाली अध्ययनका लागि गएका छन् । जहाँ ३६ हजार १ सय ७९ अर्थात् १७.३ प्रतिशत नेपाली गएका छन् । यस्तै, भारतमा ३३ हजार २ सय ६६ (१५.९ प्रतिशत),सार्कमा १ हजार ९ सय ४० (०.९ प्रतिशत),एसिएन देशहरूमा १ हजार ३ सय ५६ (०.६ प्रतिशत), मध्य पूर्वका देशहरूमा ४ हजार १ सय १५ जना र अन्य एसियन देशमा ३४ हजार ७ सय ७४ (१६.६ प्रतिशत नेपाली अध्ययनका लागि गएका छन् । यस्तै, युरोपियन युनियन देशहरूमा १८ हजार ६ सय ७८ जना (८.९ प्रतिशत) अन्य युरोपियन देशहरूमा १० हजार ६ सय २९ जना (५.१ प्रतिशत) दक्षिण अफ्रिकामा १ सय २६ जना (०.१ प्रतिशत) अफ्रिकन मुलकमा ९ सय ३६ जना (०.४ प्रतिशत) र अन्य देशमा ४ सय ५९ जना (०.२ प्रतिशत) नेपाली अध्ययनका लागि गएका छन् । ४ सय ३ अर्थात ०.२ प्रतिशत विद्यार्थी कुन देशमा अध्ययन गर्छन् भने खुलेकाे छैन । कामको खोजीमा बाहिरिए साढे २ लाख कामको खोजीमा भन्दै साढे दुई लाख नेपाली विदेसिएका छन् । कुल २ लाख ४२ हजार ३ सय ८४ नेपाली कामको खोजीमा विभिन्न मुलुक पुगेका हुन् । सबैभन्दा धेरै नेपाल कामको खोजीमा भारत पुगेका छन् । जहाँ १ लाख ६७ हजार ६८ अर्थात् ४४.० प्रतिशत नेपाली गएका छन् । यस्तै, मध्यपूर्वका देशहरूमा ८९ हजार २ सय ३४ अर्थात् ३६.८ प्रतिशत छन् भने सार्कका देशहरूमा ४ सय ७५ जना (०.२ प्रतिशत), एसियन मुलुकमा २४ हजार १ सय ६१ (१०.० प्रतिशत), अन्य एसियन मुलुकमा ८ हजार ४० जना (३.३ प्रतिशत), युरोपियन युनियनमा ४८ हजार ३४ (२ प्रतिशत),अन्य युरोपियनका मुलुकमा १ हजार ८ सय ३५ जना र क्यानडामा ३ हजार ९ सय ७५ (१.६ प्रतितशत) नेपाली विदेसिएका छन् । दक्षिण अमेरिकामा ८० जना, अफ्रिकामा ३ सय ३८ जना, प्यासिफिक देशमा १ हजार ६ सय ६१ जना र नेपाली कामकाे खाेजीमा गएका छन् । २ लाख २७ हजार आश्रितमा गए अधिकांश नेपालीहरु आश्रितमा पनि विदेसिएका छन् । परिवारको कुनै सदस्य विदेशमा छन् भने अन्य सदस्य पनि आश्रितमा विदेसिने अभ्यास बढ्दै गएको छ । तथ्यांक कार्यालयको तथ्यांकअनुसार २ लाख २७ हजार ७२ जना नेपाली आश्रितका लागि विभिन्न देश पुगेका छन् । जसमा सबैभन्दा धेरै आश्रितका लागि भारतमा गएको देखिएको छ । त्यहाँ १ लाख २९ हजार ६४ अर्थात् ५६.८ प्रतिशत नेपाली छन् । यस्तै, सार्क मुलुकमा ४ सय १५,एसियन देशमा ८ हजार ४ सय १७ (३.७ प्रतिशत), मध्यपूर्वका देशहरूमा २५ हजार ३ सय ३८ जना (११.२ प्रतिशत), अन्य एसियन देशमा १३ हजार ४ सय जना ११ (५.९ प्रतिशत), युरोपियन युसिनयनका देशमा ७ हजार २ सय २९ (३.२ प्रतिशत), अन्य युरोपियय युनियन मुलुकमा १२ हजार १ सय ३३ (५.३ प्रतिशत) नेपाली गएका छन् । यस्तै, क्यानडामा १८ हजार ९७(८ प्रतिशत), दक्षिण अमेरिकामा ७९ जना, अफ्रिकन मुलुकमा ३ सय ३५ जना, प्यासिफिक देशहरूमा ११ हजार ४ सय ६९ (५.१ प्रतिशत) र अन्य देशमा ३ सय २२ जना नेपाली आश्रितमा गएका छन् । ७ सय ७३ अर्थात् ०.३ प्रतिशत नेपाली भने कुन देश गएका हुन् भन्ने खुलेकाे छैन ।
सुन्दरीजलकै धारामा आउँदैन खानेपानी
काठमाडाैं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ । यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीयबासी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुन बाध्य छन् । कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारको धारामा जानुपर्ने बाध्यता रहेको बताइन् । ‘पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जान र आउनै समय लाग्छ,’ उनले भनिन्, ‘कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्छ ।’ धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो उनीजस्तै हजारौं स्थानीयले लामो समयदेखि भोग्दै आएका छन् । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको उनीहरू बताउँछन् । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए । विसं २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाई बागमतीमा बगाउने चेतावनी दिएका थिए । तर, अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ । यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका- १, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।
भारतमा ‘मानवमा बर्ड फ्लु’ भेटिएको विश्व स्वास्थ्य संगठनको पुष्टि
काठमाडौं । पश्चिम बंगालमा चार वर्षीय बच्चामा एच-९ एन-२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनले भारतमा बर्ड फ्लूको मानव संक्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच-९ एन-२) को यो दोस्रो मानव संक्रमण हो । पहिलो सन् २०१९ मा पुष्टि गरिएको थियो । संक्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पश्चिम बंगालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव संक्रमण सम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ । श्वासप्रश्वासमा गम्भीर समस्या, बारम्बार उच्च ज्वरो र पेटमा ऐंठनका कारण बिरामीलाई स्थानीय अस्पतालको बाल स्याहार एकाइ (आईसीयू) मा भर्ना गरी उपचार सुरु गरिएको थियो । उनलाई फेब्रुअरी २८ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो तर श्वासप्रश्वासको गम्भीर कष्टको पुनरावृत्तिपछि उनलाई अर्को सरकारी अस्पतालको बाल आईसीयूमा भर्ना गरिएको थियो भने मार्च ३ मा उनलाई ट्युव राखेर औषधी दिने काम गरिएको थियो । बिरामीको रगत तथा खकारको नमूनालाई कोलकाता भाइरस रिसर्च एन्ड डायग्नोस्टिक प्रयोगशालामा पठाइएको र त्यहाँको परीक्षणबाट उनलाई एच-९ एन-२ संक्रमण पुष्टि भएको हो । बिरामीलाई मे १ मा अक्सिजन सहयोगसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ । डब्लुएचओले संक्रमित बिरामी घर र वरपरको कुखुराको सम्पर्कमा आएका हुनसक्ने जनाएको छ । यद्यपि, यस संक्रमणसँग सम्बन्धित परिवार, छिमेकमा वा वा स्वास्थ्यकर्मीमा श्वासप्रश्वासको रोगको लक्षणका ज्ञात व्यक्तिहरू नभेटिएको उल्लेख गरिएको छ । विश्वव्यापी मार्ग निर्देशन अनुरूप मानव र पशु दुवै क्षेत्रमा प्राविधिक सल्लाह, जोखिम मूल्यांकन र आकस्मिक योजना अद्यावधिक गरेर भारत सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेको डब्लुएचओले जनाएको छ ।
सांसदलाई पैसा बाँड्ने मधेस सरकारको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । मधेस प्रदेस सरकारले योजनाका नाममा सांसदलाई पैसा बाँड्ने गरी गरेको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले मधेस सरकारसँग कारण माग गरेको छ । बुधबार रिटमा भएको सुनुवाइपछि सर्वोच्चले मधेस प्रदेशका प्रदेश सांसदलाई रकम वितरण गर्ने भनी मन्त्रिपरिषद्ले गरेको निर्णयका सम्बन्धमा कारण लिखित पेस गर्न र छलफलमा उपस्थित हुन आदेश दिएको हो । रकम वितरण गर्ने निर्णयविरुद्ध मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले दिएको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले विपक्षीलाई लिखित जवाफ पेस गरी अर्को सुनुवाइमा अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन आदेश दिएको हो । रिट निवेदक र विपक्षी मधेस सरकारबीच छलफल भएपछि रकम वितरण रोक्न अन्तरिम आदेश हुने वा नहुने विषयमा अर्को सुनुवाइमा टुंगो लाग्ने भएको छ । जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई १ करोड ५० लाखको योजना दिने निर्णय गरेको थियो ।
कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको निधन
कुवेत । कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको निधभ भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो । ‘दुर्भाग्यवश हामीलाई बिहान ठिक छ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो’, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल–ओवाइहानले भने, ‘मेरो भवनको पछाडि भएको मृत्यु हुनेहरूको सङ्ख्या ३५ भन्दा बढी छ ।’ कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् । तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् । जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । ‘फोरेन्सिक टोलीले घटनास्थलमा काम गरिरहेका छन् र अहिलेसम्म तीन शवको सनाखत भएको छ’, ओवाइहानले भने । पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन तर एएफपीले सम्पर्क गर्दा भारतीय राजदूतले अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताए । भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको बताए । साथै उनले दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताए । उनले सुरक्षा नियमहरूको उल्लंघन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिए । ‘हामी कामदारहरूको भीडभाड र उपेक्षाको समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ, आगलागी भएको सम्पत्तिका मालिकलाई कानूनी प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्नेछौँ’, उनले भने । इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो । आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त घटनाका पीडितहरूमा धेरै महिला र बालबालिका थिए । रासस
एनसेल केन्द्रित निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट व्यवस्था गरियो : पूर्वअर्थमन्त्री महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निराशाजनक अवस्थामा पुर्याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए । सरकारले बजेटमा ३ करोडभन्दा तलका योजना नराख्ने प्रतिबद्धता तोडेको उनले बताए । बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरूबाट सञ्चालित संस्थाहरू अनगिन्ती रूपमा संस्कृति मन्त्रालय, सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको उनले धारणा राखे । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेकाे उनकाे आराेप छ । अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको उनले बताए । पूर्वअर्थमन्त्री डा. महतले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकताभन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्ने गरी बजेट विनियोजन गरिएकाे धारणा राखे ।
शिक्षिकाले मर्मत गरे हुरीले उडाएको विद्यालयको छानो
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन् । यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन् । हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेका विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन् । विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो । दुवै भवन जीर्ण अवस्थामा रहेका उनले बताए । छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताए । उनका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् । छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थालेको उनको भनाइ छ । प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो । पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनले बताए । विद्यालयमा सातजना शिक्षक छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरुमा क्षति पुगेको बताए । आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए । रासस