बेष्ट फाइनान्सको ३ लाख ५६ हजार कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलामी खुलेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । जो कोही व्यक्ति, कम्पनीले किन्न सक्ने यो सेयर खरिदका लागि असार ११ गते सम्म आवेदन दिन सकिनेछ । सेयर आवेदन दिँदा घटीमा एक हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगञ्ज र न्युरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको वीरेन्द्रनगर र धनगढी शाखामा पेस गर्न सकिने कम्निीले जनाएको छ । सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
अपर हेवाखोला हाइड्रोले फेरि बोलायो १२औं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति फेरि निर्धारण गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले १२औं वार्षिक साधारण सभा बोलाएको हो । यसअघि गत चैत १६ गते आयोजना हुने भनिएको उक्त सभा विशेष कारणले स्थगित गरिएकाे थियो । अब भने कम्पनीको उक्त साधारण सभा आगामी असार २६ गते काठमाडौं गौशालास्थित तारकेश्वर पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना हुने भएको छ । उक्त सभामा उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्द्धित वा निर्माणाधिन जलविद्युत आयोजनामा लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित हुनेछ । यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचीहरू लगायतका वित्तीय विवरण पारित गरिनुका साथै चालु आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि गत फागुन २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, मर्कामा पर्यटक
सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’ लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौं लैजाने गरेको उनले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि, मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनको भनाइ छ । ‘विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्,’ उनले भने । लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौं फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ । थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति २ हजार २ सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडौं फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौंको जिपभाडा प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेका छन् । छैन मौसममा सुधारको संकेत मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनले भने, ‘मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।’ सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् । यहाँ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्यांक छ ।लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए । काठमाडौंबाट जहाजमार्फत लुक्ला ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ ४ सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ । ‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ । यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउँछन् । भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उनी बताउँछन् । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्यांक छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् । रासस
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
गलकोट । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाभित्रका तीन सडक कालोपत्र गर्न थालिएका छन् । कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भई शिलान्यास भइसकेको छ भने अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो । हाल ४३ करोड २१ लाख रुपैयाँ लागतमा आशिष/फेवा जेवीले सडक निर्माणको काम गरिरहेको छ । आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । हाल बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८।६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि सडक कालोपत्र गर्न थालिएको उनले जानकारी दिए । ‘एक वर्षभित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ, नगरभित्रका सबैभन्दा ठूलो लगानीमा बन्न थालेको तीन सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाडि बढाउनेछ,’ श्रेष्ठले भने, ‘यस्तो अनुदान देशभरिका १७ नगरपालिकाले मात्रै पाएका छन् । हामीले देशभरमै पहिला काम सुरु गरेका छौँ ।’ तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सडक पाँच दशमलव पाँच मिटरदेखि नौ मिटरसम्म चौडा हुनेछन् । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यकरण गर्नेछ ।
भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोजेका ५ सयलाई विमानस्थलबाट फर्काइयो
काठमाडौं । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको संख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका ५ सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए । उनले भने, ‘भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन ।’ संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।
तीन वर्षदेखि लाभांश नदिएको एलआईसी नेपालको सेयर मूल्य किन उच्च ?
काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक १० हजार ६७७ अंक कायम छ । १० हजारमाथि सूचकांक रहेका यी दुई समूहबाट पनि प्रष्ट हुन्छ कि पुँजी बजारमा लगानीकर्ताको चासो सबैभन्दा धेरै बीमा कम्पनीहरूमा छ । जीवन बीमा कम्पनीहरूमध्ये पुरानो र परिपक्व कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)लाई लिइन्छ । पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा एलआईसी नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यद्यपी सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९० रुपैयाँ घटेको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ८ सय रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । कम्पनीले आर्थिक वर्ष २०६४/६५ मा १५ प्रतिशत, आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/६७ मा ५.२६ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै आर्थिक वर्ष २०६८/६९ मा ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कुल ६५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत (बोनस), आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत गरी कुल २६.३२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २४.८ प्रतिशत बोनस सेयर र १.३ प्रतिशत नगद गरी कुल २६.१ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५३ प्रतिशत नगद गरी कुल ७० प्रतिशत र आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको लाभांश इतिहास हेर्दा पुँजी बजारमा बीमा कम्पनीहरूमा नम्बर वान थियो । अहिले समय बदलिएको छ । अन्य जीवन बीमा कम्पनीले निरन्तर र उच्च दरमा लाभांश वितरण गरिरहेका छन् । तर, ती कम्पनीहरूको सेयर मूल्य उच्च छैन । भारतीय बीमा कम्पनी एलआईसीले नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा सन् २००१ सेप्टेम्बरमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । विगतमा एलआईसीले उच्च लाभांश बाँडेको भएपनि नेपाल बीमा प्राधिकरणले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि प्रतिस्पर्धामा कमजोर बन्न पुग्यो । कम्पनीका सूचना अधिकारी सदर्शन गिरी प्राविधिक कारणले सेयरधनीहरूलाई लाभांश बाँड्न नपाएको बताउँछन् । विगत तीन आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको कमाई रिजर्भमा राखेको र उक्त रकम सेयरधनीहरूकै भएको उनको भनाइ छ । ‘तीन आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँडेको छैन । त्यो सबै नाफा रिजर्भमा राखिएको छ । सेयरधनीहरूको कमाइ खातामा छ । कम्पनीले सेयरधनीहरूलाई कुनै घाटा बनाउँदैन । त्यसमा कुनै शंका छैन । एलआईसीमा लगानी गर्ने सेयरधनीहरू जहिले पनि खुसी नै हुनुहुन्छ,’ उनले भने, ‘प्राविधिक कारणले एलआईसीले लाभांश बाँड्न नपाएको हो । अरू कुनै कारण छैन । कम्पनीको क्षमता नभएको भन्ने पनि होइन ।’ उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको रिजर्भ उच्च छ । ‘कम्पनीले वितरण गर्ने रकम रिजर्भमा छ । त्यसैले यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर मूल्य उच्च भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म कम्पनीले रिटेन्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ, सेयर प्रिमियममा ६ करोड ११ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले ८८.४५ प्रतिशत अर्थात् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अड्किएको छ । सूचना अधिकारी सदर्शन गिरीका अनुसार हकप्रद सेयरको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको भएपनि एक वर्षदेखि पेण्डिङमा छ । पुँजी नपुर्याएसम्म प्राधिकरणले लाभांश बाँड्न नदिएकाले नगद लाभांश वितरण गर्न नपाएको उनले बताए । ‘८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर बोर्डमा आवेदन दिएका छौं । न्यूनतम पुँजी नपुर्याएसम्म नगद लाभांश बाँड्न मिल्दैन । सबै प्रक्रिया पुरा गरेर के आधारमा बोनस सेयर दिने ?,’ उनले भने, ‘कम्पनीले कमाएको सबै नाफा जगेडा कोषमा राखिएको छ ।’
कास्की-तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने
फाइल फोटो गण्डकी । गण्डकी प्रदेश सरकारले कास्की-तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटमा औद्यागिक पूर्वाधारका रूपमा प्रादेशिक औद्यागिक क्षेत्र र औद्योगिक ग्रामको न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । गण्डकी प्रदेशमा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीनवटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बताए । महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सबलीकरण, सम्भावना बोकेका उद्यमहरूको स्तरोन्नतिका लागि स्थानीय तह तथा साझेदार संस्थासँगको लागत तथा प्राविधिक साझेदारीमा प्रदेशभित्रका पाँच स्थानीय तहमा वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । ‘उत्पादन, उद्यमशीलता र उद्यमः गण्डकी समुन्नतिको माध्यम’ अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, रोजगार वृद्धिसम्बन्धी कार्यक्रम एकीकृत रूपमा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
कृषि विश्वविद्यालयका एक हजार बढी विद्यार्थी दीक्षित
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई दीक्षित गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र उपस्थित भएका थिए । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन् । स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित भएका ९ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् । विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।