काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति फेरि निर्धारण गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले १२औं वार्षिक साधारण सभा बोलाएको हो ।
यसअघि गत चैत १६ गते आयोजना हुने भनिएको उक्त सभा विशेष कारणले स्थगित गरिएकाे थियो । अब भने कम्पनीको उक्त साधारण सभा आगामी असार २६ गते काठमाडौं गौशालास्थित तारकेश्वर पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना हुने भएको छ ।
उक्त सभामा उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्द्धित वा निर्माणाधिन जलविद्युत आयोजनामा लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचीहरू लगायतका वित्तीय विवरण पारित गरिनुका साथै चालु आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि गत फागुन २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।