भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ २७ देखि २८ गतेसम्म आफूले गरेको भारतको औपचारिक भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन भ्रमणले योगदान पुर्याएको बताए । ‘आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने । भ्रमणका क्रममा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गत जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आमनिर्वाचनपश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त भएका नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा आफू सहभागी भएको उनले जानकारी दिए । उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसमेतको सहभागिता थियो । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक सञ्चालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गहन छलफल भएको सदनलाई जानकारी गराए । गत जेठ २८ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा दुई देशबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा विचारविमर्श भएको जानकारी दिए । सोही दिन भारतका नवनियुक्त संघीयमन्त्री डा एस जयशंकरले आफूसँग शिष्टाचार भेट गरेको उल्लेख गर्दै उहाँले सो क्रममा दुई देशबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै अघि बढ्नेबारेमा कुराकानी भएको बताए । भ्रमणका क्रममा भारतीय चेम्बर अफ कसर्म र उद्योग महासंघ (एफआइसिसीआई) का अध्यक्ष तथा प्रतिनिधिसँग नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘नयाँ दिल्लीमा रहँदा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनाका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट एवं समसामयिक विषयमा विचारको आदानप्रदान भयो,’ उनले भने । बैठकमा प्रधानमन्त्री र सांसदहरुको जवाल–जवाफ जारी छ ।
हावाहुरीले बाँकेमा ३१ बिजुलीका पोल ढले, विद्युत आपूर्ति बन्द
नेपालगञ्ज । बाँकेमा गएराति आएको हुरीबतासले विद्युतको पोलमा क्षति पुर्याउँदा केही स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत आपूर्ति सहज गराउन समय लाग्ने बताए । प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन,’ उनले भने । कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे ।
न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव
हेटौँडा । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिएकी छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज यहाँ आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधनका विषय’ अन्तर्गतको जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिइन् । अध्यक्ष खड्काले विसं २०७५ मा पत्राकार तथा सञ्चारमाध्यममा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएकाले यसलाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताइन् । पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप संकट र चुनौती थपिएको उनको भनाइ छ । प्रविधिको विकाससँगै चुनौती थपिएको बताउँदै अध्यक्ष खड्काले पत्रकार अभाव, दबाब र प्रविधिको चुनौतीमा रहेका उल्लेख गरिन् । ‘न्यू मिडिया’को विकाससँगै रेडियो, टेलिभिजन, पत्रपत्रिकाले पाउने विज्ञापन घट्दै गएको उनको भनाइ छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारीले १६ वर्षअघि बनेका कानुन संशोधन हुन नसकेको भन्दै श्रमजीवी पत्रकारका पक्षमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिइन् । उनले श्रमिक र सञ्चारमाध्यम दुवै बाँच्नुपर्ने भन्दै सोही अनुसारका कानुन बनाउन माग गरिन् । कार्यक्रममा जिल्लाका पत्रकारहरूले ठूला सञ्चारमाध्यमले न्यूनतम पारिश्रमिक नदिने गरेको गुनासो पोखेका छन् । नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकसमेत नपाएको उनीहरूको गुनासो छ । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, पत्रकार, सञ्चारमाध्यम सञ्चालकलगायतको सहभागिता थियो ।
गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टि स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर कांग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरीबन्धु प्रकरणमा कांग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए । ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने बताए । ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । गिरीबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति’, उनले भने । महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिटान्स सम्झौता
काठमाडौं । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ । यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय बिप्रेषण सेवा प्रदान हुने बिश्वास कम्पनिले लिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा १०० रूपैयाँसम्म बोनस पाउन सकिने कम्पनीले जनाएको छ ।
सन्धिखर्क-तम्घास १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहेका छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३ वटा ३३ केभीका र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रुपमा विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रुपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने बताए । ‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ’, उनले भने । ‘सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेण्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरु पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रङ्क लाइन हो ।’ बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घार्खाची र गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेज समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । बुटवलबाटभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भएता गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिंदा लाइन छोटो हुनेहुँदा त्यस क्षेत्रको विद्युत् आफूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन् । दुवै सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा छ । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए । उनले तम्घास– पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रुख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको उल्लेख गरे । यसले गर्दा पाउदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख चौधरीले बताए । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरु गरिएको थियो । उक्त प्रसारण लाइनमा जोड्ने गरीे निजी क्षेत्रका ७ वटा जलविद्युत आयोजनाहरुसँग १३० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएको छ ।
श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान, बुद्ध एयरको एकाधिकार तोडियो
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो । श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ । श्रीको परीक्षण उडान समापनसँगै नियमित उडानको बाटो खुलेको छ। योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।
एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकलाई टिकटमा १० प्रतिशत छुट
काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले जनाएको छ ।