क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणिले भने : सरकार कुर्सी जोगाउने काममा मात्रै लाग्यो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ । बिहीबार माईतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा उनले पार्टीले क्रसर व्यवसायीहरुको आन्दोलनलाई महत्वपूर्ण आन्दोलनका रुपमा लिएको र पार्टीको आन्दोलनप्रति ऐक्यवद्धता रहेको बताए । सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए । ‘यो आन्दोलनलाई धेरै महत्वपूर्ण आन्दोलनका रुपमा लिएको छु । केही दिनदेखि सरकार मैले के गर्ने, नेपालमा पुँजीपतिहरुको संख्यामा कसरी वृद्धि गर्ने, राजश्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरु अलपत्र भएका छन्’, उनले भने । आन्दोलनका क्रममा आफ्ना धारणा राख्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । उनले आफ्ना मागहरु चाँडो भन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले हाम्रा माग सम्बोधन छिटो गर्नुपर्छ । यसले राज्यको नै क्षति हुनेछ । सरकारले चाँडो भन्दा चाँडो माग सम्बोधन गरोस्’, उनले भने । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई बेवास्था गरेको असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुंगा साबित हुने प्रधानमन्त्रीको विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा साबित हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–(मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । ‘यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा साबित हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जना हुने लक्ष्य लिइएको छ ।’ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यावहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाबीच दोहोरोपना हुन नदिने नीति लिइएको उल्लेख गर्दै उनले ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका प्रदेशबाट र साना आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानतर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रममा कम रकम देखिए पनि यस प्रकारका आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी दिए । रामायण तथा बुद्ध ‘सर्किट’ निर्माण गर्ने सहमति कार्यान्वयनमा प्रधानमन्त्री दाहालले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने विषयमा भएको सहमति गम्भीरताका साथ कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताए । उनले शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए । ‘नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,’ प्रधानमन्त्री दाहालले भने, ‘रामायण सर्किटलगायत शिव, बुद्ध र किरात परिपथको विकास गर्न यसवर्ष बजेट सुनिश्चित गरिएको छ ।’ उनले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रधानमन्त्री दाहालले देशका विभिन्न भागमा रहेका गुठी, सार्वजनिक जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पारे ।
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै उनले टिकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको बताए । ‘टीकापुर घटना दुःखद् हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,’ प्रधानमन्त्री दाहालले भने, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिको हकमा कानुनबमोजिम नै हुनेछ ।’ कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने उनले पष्ट पारे । थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणालीअनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुईमत छैन’, उनले भने । सङ्घीय संसद्मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसद्को कारबाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरिएको बताए । सङ्घीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेका मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुने प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’ प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा रुपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले शैक्षिक सूचकाङ्कमा पछाडि परेका मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेस प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जुन शिक्षातर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत भएको स्पष्ट पारे । विद्यालय भवन निर्माणका लागि वित्तीय हस्तान्तरणतर्फको दुई अर्ब ५३ करोड रुपैयाँमध्ये एक अर्ब दुई करोड रुपैयाँ रकम मधेसका स्थानीय तहका लागि छुट्ट्याइएको उनले जानकारी दिए । उनले यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भइसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रममार्फत बजेट प्रवाह भएको उल्लेख गरे । ‘सरकारले मधेस मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जातीय, लैङ्गिकलगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृत्ति, दिवा खाजालगायत कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रमसमेत तर्जुमा गरिएका छन् ।’ निर्माण व्यवसायीलाई भुक्तानी समस्या छैन प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराए । उनले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माणकार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालासँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियत माग गरेको हुँदा सो सम्बन्धमा समन्वय भइरहेको जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्यसमिति गठन भएको छ । उनले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।’
बीमामा बेइमान, करोड कमाउने लोभमा ‘मुटु’को हत्या
काठमाडाैं । २०७६ साल असार १७ गते छोरी हराएको भन्दै राम किशोर यादवले प्रहरीमा खबर गरे । रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका यादवले छोरी घरबाट हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबरपछि खोजीमा जुटेको प्रहरीले स्थानीयको सहयोगमा यादवको छोरीको शव गाउँकै एक पोखरीमा फेला पार्यो । पोष्टमार्टमका क्रममा शरिरमा निलडाम देखेपछि बालिकाको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गर्दै अनुसन्धान अगाडि बढायो । तत्कालीन प्रहरी नायक उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा बालिकाकै बुबा रामकिशोर यादवले हत्या गरेको निष्कषृ निकाल्यो । प्रहरीको अनुसन्धानले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेर बीमाको रकम खाने योजना उनले बुनेका रहेछन् । रामकिशोरले जिल्लाकै गरुडामा रहेको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठ २०७६ मा छोरीको नाममा २५ लाख रुपैयाँको जीवन बीमा गराएका थिए । बीमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए । यो बीचमा उनलाई कसैले सुनाई दियो, ‘बीमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा बीमाको दुई गुणा रकम फिर्ता हुन्छ ।’ ती व्यक्तिको वाक्यले उनको मन मस्तिष्क रन्थनियो । उनलाई २५ लाख रुपैयाँबाट ५० लाख रुपैयाँ पाउने लोभको भुत जाग्यो । सोही बीमाको रकम पाउने लोभमा कुटपिट गरेर छोरीको हत्या गरे । हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैंले छोरी हराएको भन्दै प्रहरीमा खबर गरे । अनुसान्धानपछि प्रहरीले बीमा बापतको रकम पाउन आफ्नै ४ बर्षीय छोरीको हत्या गरेको आरोपमा उनीविरुद्द मुद्दा दायर गरेको थियो । यस्तै, २०८० साल असोजमा बीमा रकम हात पार्न नक्कली विवाह गरेर हत्या गरेको घटनामा संलग्न ६ जना विरुद्द मुद्दा चल्यो । पैसाका लागि कानुनी रूपमा श्रीमती बनेकी सपना मल्लसहित सञ्जीव अर्याल, छविकुमारी खत्री, दीपक केसी, सरदार अहमद खाँ र टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा चल्यो । सपनाविरुद्ध दुई करोड ५० लाख, सञ्जीवलाई ८० लाख ३६ हजार, छविकुमारीलाई १७ लाख ४६ हजार, दीपकविरुद्ध ६० लाख बिगो कायम गरिएको थियो । त्यस्तै, अहमद खाँविरुद्ध २० लाख बिगो कायम गरी प्रहरीले मुद्दा दायर गरेको थियो । सञ्जीव नेतृत्वको गिरोहले सपनाको बाँके कोहलपुरका सर्जन बिकसँग कानुनी रूपमा बिहे गराई दुर्घटना भएको देखाएर उनको हत्या गरी बीमा रकम निकाली बाँडेर लिएका थिए । पछि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको थियो । ठूलो रकमको बीमा गरेलगत्तै शंकास्पद मृत्यु भएकाले पुनर्बिमाका कर्मचारीले शंका गरेर प्रश्न उठाएपछि अनुसन्धान सुरु भएको थियो । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बीमा हुनु, बीमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने शंका गर्दै प्रहरीमा उजुरीमा परेपछि यो घटना बाहिर आएको हो । सोही आधारमा पुनर्बीमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए । अनुसन्धानमा बीमाकै लागि हत्या भएको अनुसन्धानबाट खुलेको थियो । बीमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएका थिए । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । त्यसैगरी, सो समूहले अन्य व्यक्तिको पनि बीमा गराएर योजनाबद्ध रूपमा हत्याको योजना बनाएको समेत प्रहरी अनुसन्धानमा खुलेको थियो । करोड पाउने लोभमा श्रीमतीकै हत्या २०७६ असार १ गते पोखरा-१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल हराएको २५ दिनपछि नजिकैको जंगलमा फेला प¥यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक-पटक प्रहरी कार्यालय पुगेका लक्ष्मीका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । रमेश पोखराको रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै सामान्य मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी गृहणी थिइन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पु¥याउने उनको दैनिकी थियो । लक्ष्मीलाई छालाको एलर्जी थियो । छालाको एलर्जी भएपछि उनीहरू उपचारका लागि धेरै ठाउँ धाएका थिए । योजनाबमोजिम असार १ मा छालाको एलर्जी उपचारका लागि रमेश दम्पती नजिकैको जंगलमा जडिबुटी खोज्न गए । त्यही जंगलमा रमेशले श्रीमतीको हत्या गराए । हत्यापछि रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताएका थिए । डेढ लाख रुपैयाँसमेत श्रीमतीको साथमा भएको उनले बताएका थिए । प्रहरीका अनुसार उनले श्रीमती खोजिदिन प्रहरीलाई पटक-पटक आग्रह गरिरहे । २० असार ११ मा लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन प्रहरीमा निवेदन दिइन् । लक्ष्मीको माइती पक्ष, श्रीमान र प्रहरी मिलेर लक्ष्मीको खोजी गरिरहे पनि कतै पत्ता लागेन । एक वर्षदेखि रमेशले श्रीमती हत्याको योजना बुनेका थिए । कास्की प्रहरीका अनुसार रमेशले मोबाइल पसल चलाउने सञ्जय शर्मा र चित्तरञ्जन साहलाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ योजना सुनाएका थिए । यो योजना सुनेपछि साहले १० लाख रुपैयाँ तिरेर भारतबाट पेसेवर हत्यारा बोलाए । हत्याकै योजना गरेर रमेशले आफ्नो श्रीमतीलाई जंगल लिएका थिए । तिनै भारतीय सुटरहरूको सहयोगमा उनले आफ्नो श्रीमतीको हत्या गराए । र, उनी घर फर्किए । हत्याको केही समयपछि रमेशले आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराएका थिए । लक्ष्मीको हत्यापछि उनी बीमा रकम दाबी गर्न पुगेका थिए । श्रीमतीको मृत्यु भएको भन्दै रकम दाबी गर्न पुग्नुले पनि प्रहरीलाई उनीमाथि शंका गर्ने आधार बनेको थियो । बीमा रकम पाउने लोभले नै यी सबै घटना घटेका हुन् । पछिल्लो समय बीमा रकम पाउने लोभकै कारण विभिन्न अपराधिक घटनाहरू घटिरहेका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो ५ वर्षमा मात्रै ६ वटा यस्ता घटना दर्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता दान बहादुर कार्कीका अनुसार यसरी बीमाको लागि गरिने अपराधिक घटनालाई अपराधिक घटनालाई कर्तव्य ज्यान मुद्दामा राखिन्छ । ‘बीमाको लागि हत्या गरिएको भए पनि त्यो कर्तव्य ज्यान नै हो । पछिल्लो ५ वर्षमा बीमाको पैसा पाउनकै लागि हत्या भएको ६ वटा घटनाहरू प्रहरीमा दर्ता भएका छन्,’ उनले भने । छोटो समयमा नै धेरै पैसा कमाउने मनासयले मानिसको ज्यान नै लिने गरेको पाइएको उनी बताउँछन् । ‘मानिसहरू छोटो समयमा नै धेरै पैसा कमाउन चाहन्छन्, जसकै कारण कसैको ज्यान लिन समेत पछि हट्दैनन्,’ उनी भन्छन्, ‘बीमामा देखिएको मुख्य कारण पनि यही हो, त्यसैले कोही मानिसले ज्यान समेत गुमाउनु परेको छ ।’ उनका अनुसार बीमा कम्पनीहरू यस्ता विषयमा गम्भीर नबन्ने हो भने यसले भविष्यमा अझै विकराल रुप लिने देखिन्छ । ‘कुनै बिमितबारे शंका लागेमा बीमा कम्पनीहरूले सुरुमा बीमा प्राधिकरणसँग सल्लाह गर्नुहुन्छ र हामीकहाँ आउने केस भए मुद्दा दर्ताको प्रक्रिया सुरु हुन्छ,’ उनी भन्छन्, ‘यति हुँदा हुँदै पनि बीमा कम्पनीहरू अझै धेरै सजक हुन आवश्यक देखिन्छ ।’ उनका अनुसरा पछिल्लो ५ वर्षमा २०७६/७७ मा बागमति प्रदेशमा यस्ता किसिमा २ वटा घटना भएका छन् । मकवानपुर र कञ्चनपुरमा गरी भएको २ घटनामा ७ जना महिला र ५ जना पुरुष पक्राउ परेका छन् । त्यस्तै, मधेश प्रदेशको बारामा २०७९/८० मा भएको एक घटना दर्ता भएको छ । जसमा ३ पुरुष पक्राउ परेका छन् भने १ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । २०८०/८१ मा लुम्बिनी प्रदेशमा ३ वटा घटना दर्ता भएका छन् । सबै घटना बाँकेमा भएको प्रहरी तथ्याङ्कले देखाउँछ । ३ वटै घटनामा ८ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । पछिल्लो ५ वर्षमा दर्ता भएका ६ वटा मुद्दा मध्ये नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ, सिटजन लाइफ, एशियन लाइफ र रिलाईन्स लाइफसँग जोडिएका घटनाहरू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसरा पछिल्लो ५ वर्षमा सोही प्रकृतिका घटनामा १६ पुरुष र ११ जना महिला गरि कुल २७ जना पक्राउ परेका छन् भने १ जना फरार छन् । बीमा वापत्तको रमक हत्याउन हत्या गर्नेहरूले फरक-फरक योजना बनाउने गरेको कार्की बताउँछन् । उनका अनुसरा कुटपिट गरी हत्या, करेन्ट लगाएर हत्या, दुर्घटना गराएर हत्या र सवारीले ठक्कर दिई मारेको तथ्याङ्क प्रहरीसँग रहेको छ । बीमा कम्पनीहरू भने यस्ता किसिमा घटना हुन नदिन शंका लागेको व्यक्तिलाई बीमा वापत्तको रकम अनुसन्धानपछि मात्रै दिने गरेको बताउँछन् । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीका अनुसार कम्पनीले अन्डरराइटिङलाई विशेष ध्यान दिने गरेको बताउँछन् । ‘कसैप्रति शंका लाग्यो भने सबैभन्दा सुरुमा अन्डरराइटिङ बीमा हो होइन भनेर जाँच् गर्छौ,’ उनी भन्छन्, ‘कसैको आम्दानी एकदमै कम छ । तर, ठूलो रकमको बीमा गरेको छ, कसैको मृत्यु भएको केही दिनमा नै बीमाको रकम माग्न आएको छ लगायतका शंका गर्ने कुनै माध्यमहरू भेटिए भने हामीले रकम भुक्तानी गर्ने गरेका छैनौं ।’ यस्ता किसिमका शंकास्पद घटना देखिए नियामक निकाय बीमा प्राधिकरणसँग सुरुमा छलफल गर्ने र प्रहरीमा जानुपर्ने अवस्था भए प्रहरीमा जाने गरेको उनी बताउँछन् । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेल पनि बिमितप्रति कुनै शंका सिर्जना भएमा रकम भुक्तानी नगर्ने गरेको बताउँछन् । ‘शंका लागेको खण्डमा हामीले भुक्तानी रोक्छौं,’ उनी भन्छन्, ‘त्यसको आवश्यक अनुसन्धान हुन्छ त्यसपछि भुक्तानी गर्न मिल्ने भए गर्छौं, नभए रकम रोकिन्छ र अनुसन्धान अघि बढ्छ ।’ बीमाकै कारण कसैको जाने जाने अवस्था सिर्जना हुन नदिन सक्दो प्रयास गरिरहेको बीमा कम्पनीहरूले बताएका छन् । कुनै पनि बीमा कम्पनीले बीमाको जोखिम वहनका लागि बीमा गरेको हुन्छ । यस्ता घटना देखिएमा विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिने गरेको कम्पनीहरूको दाबी छ । बीमाको रकम असुल गर्नका लागि अपराधिक मानसिकता भएकाहरूले आफ्नै नजिककाहरुके हत्या गरिरहेका छन् । आफ्नै कोखमा जन्मिएका छाेराछोरी, आफ्नै श्रीमान र श्रीमती अर्थात् आफ्नै मन मुटु भनिनेहरूको हत्या गरेर बीमा रकम असुल गर्ने गलत प्रवृति समाजमा बढ्दै गएको छ ।
राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे । ‘राष्ट्रको सर्वोपरी हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने । उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्यांकन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे । त्यसैगरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको परियोजना सेवामार्फत जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायी रूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।
तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतमबुद्धलगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि समन्वयन गरिहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य गरिरहेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगोरूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ ।’ उनले अन्तर्राष्ट्रिय वायु सेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरूसँग पनि छलफल भइरहेको बताए ।
पाँच हजार बचतबाट करोडपति
वित्तीय साक्षरताको प्रशिक्षणका सिलसिलामा केही महिनाअघि राजधानीको एक विद्यालयका विद्यार्थीले गरेको प्रश्न आजसम्म मेरो मानसपटलमा गुञ्जिरहेको छ, ‘के म पनि करोडपति बन्न सक्छु ?’ त्यो १० वर्षको अबोध बालकलाई मैले त्यतिखेर भनेको थिएँ, अवश्य तिमीहरू भाग्यमानी छौ सानो उमेरमै वित्तीय ज्ञान थाहा पाइरहेका छौ, थप कम्पाउडिङ्गको शक्ति थाहा पाउन सकियो भने प्रत्येक महिना केवल पाँच हजार रुपैयाँ अर्थात् एक वर्षमा ६० हजार रुपैयाँ लगानी गरेर वार्षिक १२ प्रतिशत प्रतिफल निकाल्न सक्ने हो भने सजिलै तिमी ३० वर्षमा करोडपति बन्न सक्छौ । यदि ३६ वर्ष तिमी कुर्न सक्छौ भने एक करोड ९७ लाखको मालिक हुनेछौ । प्रतिफल दर र लगानी रकम बढाउन सक्ने हो भने त्यो भन्दा अगाडि नै करोडपति हुन सकिन्छ । मैले उक्त कक्षामा दिएको जवाफ र देखाएको टेबल विद्यार्थीहरूले बुझे बुझेनन् थाहा छैन । उनीहरूमा धैर्यता र दृढता हुर्काउन सकियो सकिएन भन्न सक्दिनँ, तर सो बालकको प्रश्नले मलाई हरेक व्यक्ति कसरी करोडपति बन्न सम्भव छ भन्ने विषयले घोची नै रहेको छ । लगानीमा समय यति धेरै शक्तिशाली हुन्छ, जसले प्रत्येक व्यक्तिलाई कुर्न सक्ने हो भने करोडपति बनाउन सक्ने ल्याकत राख्छ । संसारका असाधारण लगानीकर्ता भनेर कहलिएका वारेट बफेटका सम्बन्धमा दुई हजारभन्दा बढी पुस्तक लेखिएको छ । बफेट धनी हुनुमा उहाँको अब्बल लगानी कला मात्रै नभई नाबालक हुँदादेखिकै अब्बल लगानी हो भन्ने सारांश रहेको भेटिन्छ । बफेटले १० वर्षको उमेरमा लगानी सुरूआत गरेर त्यसलाई फैलाउँदै आफू ३० वर्षको हुँदा एक मिलियन डलर बनाइसकेका थिए । वास्तवमा उनी उत्कृष्ट लगानीकर्ता मात्रै नभई धीर पनि थिए । उनले अहिले जीवनको नौ दशक पूरा गरी रहदा आठ दशक अर्थात जीवनको करिब ९० प्रतिशत समय लगानीमा बिताइसकेका छन् । ‘धन सम्पत्तिको मनोविज्ञान’ किताबका लेखक मोर्गन हउजलका अनुसार बफेट सफल लगानीकर्ता त हुन तर संसारकै उत्कृष्ट लगानीकर्ता भनेर भन्न सकिदैन । सन् २०२० मा उनले लेखेको उक्त पुस्तकमा बफेटले लगानीमा औसत प्रतिवर्ष २२ प्रतिशत प्रतिफल पाउने गरेको बताएका छन् । त्यस समयमा उनको सम्पति ८४.५ बिलियन डलर थियो । यदि उनले ६० वर्षमा लगानी गर्न छोडिदिएका भए ११.९ मिलियन मात्रै हुन सक्थ्यो । जुन पुस्तक लेख्दै गरेको समयको करिब ९९.९ प्रतिशत कम हुने थियो । यसको मूलकारण उनको लगानी कुशाग्रता हो तर वास्तविकता भनेको समय हो । यथार्थमा कम्पाउडिङ्ग यस्तै काम गर्छ । लेखकका अनुसार बफेटले वार्षिक २२ प्रतिशत लगानीमा प्रतिफल निकाल्दै गर्दा हेज फन्ड रिनेसांस् टेक्नोलोजिका प्रमुख, जिम साइमन्सले सन् १९८८ बाट लिएर ६६ प्रतिशत प्रतिवर्षको दरले धनको कम्पाउडिङ्ग गरे । उक्त किताब लेख्दै गर्दा उनको सम्पति २१ बिलियन थियो तर बफेटले त्यसको एक तिहाई मात्रै प्रतिफल निकाल्दै गर्दा समेत साइमन्सको भन्दा ७५ प्रतिशत बढी कमाउन सफल भए । बफेटभन्दा करिब तीन गुणा बढी प्रतिफल निकाल्न सकेर पनि उनी किन कम धनी भए । यसको मूलकारण साइमन्नले ५० वर्षको उमेर पुगेपछि लगानी थालेका थिए । यसले गर्दा उसँग बफेटको जस्तो लामो समय कम्पाउडिङ्ग गर्ने सुविधा थिएन त्यसैको परिणाम दुईबीच यति धेरै सम्पतिको अन्तर पर्न गएको हो । यदि बफेटले जस्तै साइमन्नले पनि लगानी गर्न सकेको भए त्रिसठ्ठी क्विन्टिलियन नौ सय क्वाड्रिलियन सात सय एकासी ट्रिलियन सात सय असी बिलियन सात सय ४८ मिलियन र एक सय आठ हजार डलर हुने थियो । यी आँकडा हास्यास्पद र अव्यावहारिक देखिन्छ तर कम्पाउडिङ्गका कारण यस्तै आँकडाहरूलाई देखाउन सक्छन् । तसर्थ, प्रत्येक व्यक्ति करोडपति बन्न सक्छ र धनी पनि हुन सक्छ तर लगानीमा धैर्यता सबैभन्दा ठूलो ईश्वरीय बरदान हो यसलाई सबैले बुभ सकेमा धनको महत्वपूर्ण नियम थाहा पाई सफल लगानीकर्ता हुन सकिन्छ । अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘कम्पाउडिङ्ग विश्वको आठौं आश्चर्य हो ।’ स्वयम् बफेटले भनेका छन्, ‘लगानीमा कुनै चमत्कार छ भने त्यो कम्पाउडिङ्गको तागत हो ।’ तसर्थ लगानीमा भएका कमजोरी र गल्तिहरू लामो समयपछि फिक्का हुँदै जान्छन् । पछिला वर्षहरूमा सम्पत्ती वृद्धिका दर प्रारम्भिक वर्षहरूको तुलनामा धेरै गुणा रहने गर्छ । यसलाई माथिको टेबलबाट पनि हेर्न सकिन्छ । उक्त टेबलमा थालनीको समयदेखि लगानीको तीस वर्षसम्म रु एक करोड आठ लाख धन जम्मा हुँदा पछिला थप छ वर्षमा रु ९८ लाख थपिने देखिन्छ । यसरी हेर्दा पाँच भाग समय लगाएर जम्मा भएको रकम र पछिलो एक भाग समयमा जोडिएको सम्पत्तिको अंश करिब बराबर देखिन्छ । यसले के देखाउँछ भने कम्पाउडिङ्गको नियमभित्र पनि जति धेरै पछिला वर्ष आउँछन् उति धेरै द्रुत गतिमा सम्पत्ति बढ्नेछ । हरेक व्यक्ति सम्पत्ति कमाउन र रमाउन सक्छ यसका लागि केही ज्ञान, अभ्यास र धेरै धैर्यता राख्ने हो भने यो सजिलै सम्भव देखिन्छ । अचुतकुमार ओझा । लगानीमा अनेकन रणनीति र योजना हुन सक्छ तर प्रत्येक उत्कृष्ट लगानीमा समय सबैभन्दा महत्वपूर्ण हुने गरेको छ । कम्पाउण्डिङ्गलाई बुझ्न सकियो भने लगानीलाई कम जोखिममा बढी प्रतिफलमूखि बनाउन सकिन्छ । यसलाई बुझ्न केही समय लाग्छ तर बुझिसकेपछि यसले दिने लाभ कल्पना गरिएभन्दा बढी देखिन्छ । यसको नतिजा आउन समय लाग्छ तर सजिलै बुझिएको जोडफल भन्दा यो तीन करोड ८७ लाख गुणा बढी हुन जान्छ । यसैले कम्पाउण्डिङ्गले लगानीमा दिने चमत्कार पनि दोस्रो उदाहरण जस्तै हो, जसले परिणाम देखाउन समय लगाउँछ तर अप्रत्यासित फल दिन सक्छ । जापानी नागरिकहरूमाझ अत्याधिक लोकप्रिय काइजन थेउरी (थोरैबाट प्रारम्भ गरी बानी बसाल्ने सिद्धान्त) र पाँच हजार रूपैयाँबाट करोडपति सिद्धान्तमा धेरै समानता भेटिन्छ । यस विधिले एकैपटक ठूला कदम उठाउनु भन्दा विस्तारै साना पाइलाहरूबाट सुरुआत गर्न प्रेरित गर्छ । यसले हामीले चाल्ने हरेक साना प्रयासले ठूलो उपलब्धि दिन सक्छ भन्ने विश्वास राख्दछ । सबैभन्दा ठूलो लक्ष्य प्राप्तिका लागि एकै पटक बृहत फड्को भन्दा नियमित थोरै अभ्यासमार्फत आफूमा बानी पार्नु र त्यसलाई बढाउँदै लैजान सक्नु महत्वपूर्ण हुने गर्दछ । उदाहरणका रुपमा हामीले पहिलो दिनमा घन्टौ व्यायम गर्ने र एक हप्तामा फेरी छोड्ने गरेका धेरै देखेका छौँ । यसो नगरी सुरुआती दिनमा केही मिनेटबाट थालेर त्यसलाई क्रमशः बढाउदै लैजानेहरूले पछि घन्टौंसम्म व्यायम गर्ने आफ्नो व्यवहारको विकास गर्न सफल हुन्छन् । यो एकै दिनमा नभई प्रत्येक दिन एउटा ढुङ्गा पुलबाट खोलामा फ्याँकेर बाटो बनाए जस्तै हो । भारतको बिहारमा रहेको गेहलौर गाउँमा दशरथ माझी बस्ने गर्थे । यस ठाउँको अगाडि एक भिमकाय पहाड थियो । यसलाई छिचोलेर अर्को गाउँमा जान असम्भव थियो । यस पहाडले थुप्रैको जीवन निलेको थियो । यस्तैमा उनको श्रीमतीलाई पनि यसले हत्या गरेको थियो । त्यसको वियोगमा उनले अठोट गर्छन् कि म यस हत्यारा पहाड छेडेर बाटो बनाउने छु, यसले कसैलाई निल्न सक्ने छैन । उनी आफ्नो प्रतिज्ञा पूरा गर्न पहाडतिर हातमा हथौडा बोकेर निस्कन्छन् । सारा गाउँबासी र उनलाई देख्नेहरू माझी पागल भयो भन्ने गर्थे तर उन्ले भित्ता कोतार्न छोडेनन् । करिब २२ वर्षको अथक मेहनतपछि एक्लैले बाटो भन्दा ठूलो सडक बनाएर देखाइ दिए । आज उनलाई संसारभर ‘माउन्टेन म्यान’ भनेर चिनिन्छ । यसैले सोच्नुहोस्, प्रयास गर्नुहोस् र पाउनुहोस् । सुरुवात आजै गरौं, मासिक रु पाँच हजार लगानी र वार्षिक १२ प्रतिशत प्रतिफलमा धितोपत्र बजार, सरकारी बोण्ड र बैंकहरूमा फिक्स डिपोजिटलगायतका उपकरणमा टेबलमा देखाइए जस्तै योजनाबद्ध ढङ्गबाट लगानी गरी करोडपति यात्रा थालनी गरौँ । वारेट बफेटले आफ्ना अन्तर्वार्ताहरूमा भनेका छन्, पहिलो सेयर कारोबारमा धैर्यता राख्न नसक्दा धेरै मुनाफा छोड्नु परेको थियो । तब उनका बाबुले उनलाई हिउँको बीचमा लगेर त्यसलाई देखाउँदै भनेका थिए लगानी र हिउँको डल्लो उस्तै हो । हेर यो हिउँको डल्लोलाई जति टाढासम्म गुडाउन सक्छौँ अरु हिउँहरू जोडिएर धेरै ठूलो डल्लो बन्दै जाने छ । लगानी पनि यस्तै हो, जति धेरै लामो समयसम्म छोड्न सक्छौँ त्यति धेरै हुने निश्चित छ । त्यसपछि बफेटले सधैँ लामो दौडको घोडामा लगानी गर्न सिकेका कारण उनी संसारका सफल लगानीकर्ता बन्न सम्भव भयो । हामीले पनि लगानी लामो समयको लागि छनोट गर्न सक्यौँ भने सफलताहरू हात पर्ने निश्चित छ । चीनमा पाइने एउटा बाँसको प्रजाति छ, जसको बिरुवालाई चार वर्षसम्म पानि हाल्ने र गोडमेल गर्ने गरेपनि फस्टाएको देख्न सकिन्न । तर पाँचौ वर्षमा जब बाँस फस्टाउन थाल्छ र छ हप्ताभित्रै ९० फिट लामो हुन पुग्छ । अनि प्रश्न के उठ्छ भने बाँस छ हप्तामा फस्टाएको हो रु यदि चार वर्षसम्म हेरविचार नगरेको भए फस्टाउँथ्यो होला त रु पक्कै पनि फस्टाउँदैनथ्यो । यस घटनाले के कुरा स्पष्ट गर्छ भने हामीले धैर्य राख्नु पर्दछ र सही काम गर्दै जानु पर्दछ । परिणाम अहिल्यै नदेखिए पनि केही न केही भइरहेकै हुन्छ । लगानीमा पनि कम्पाउण्डिङ्गको शक्ति यस्तै हुने गर्छ । यसैले सम्पन्नताको आधार लगानी र लगानी सफलताको सजिलो उपाय कम्पाउण्डिङग शक्तिको प्रयोगलाई अभ्यासमा ल्याउनु हो । कम्पाउण्डिङ्गको चटकलाई बुझेर वर्षमा गरिएको केही हजारको लगानीले करोडपति बन्न सम्भव रहेको हुँदा आफ्नो वित्तीय रणनीति बनाउँदा कम्पाउण्डिङगलाई विशेष ध्यान दिन आवश्यक छ । पुस्तक ‘लिभिङ् द एटि ट्वान्टी वे’ का लेखक रिचार्ड कोचका अनुसार २० प्रतिशत धनाड्यले कम्पाउन्डिङग मिराकलका कारण ब्रम्हाण्डको ८० प्रतिशत सम्पत्ति नियन्त्रणमा राख्न सम्भव भएको छ । तर, कम्पाउन्डिङगको प्रयोग र महत्व बुझन नसक्दा ८० प्रतिशत मानिसले २० प्रतिशत सम्पत्तिमा निर्वाह गर्नु परेको छ । स्मार्ट लगानीकर्ता बढी प्रतिफल पाउन चक्रिय ब्याजदरको प्रयोग गर्ने गर्दछन् । यसैले तपाई जति छिटो लगानीमा कम्पाउन्डिङ्ग गर्न थाल्नु हुनेछ, लगानीले चमत्कार देखाउन उति नै छिटो सम्भव रहन्छ । राम्रो सुरुआतले राम्रो अन्त्यमा पुर्याउँछ । (लेखक धितोपत्र बजारका लगानीकर्ता हुन्)
भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ २७ देखि २८ गतेसम्म आफूले गरेको भारतको औपचारिक भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन भ्रमणले योगदान पुर्याएको बताए । ‘आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने । भ्रमणका क्रममा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गत जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आमनिर्वाचनपश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त भएका नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा आफू सहभागी भएको उनले जानकारी दिए । उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसमेतको सहभागिता थियो । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक सञ्चालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गहन छलफल भएको सदनलाई जानकारी गराए । गत जेठ २८ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा दुई देशबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा विचारविमर्श भएको जानकारी दिए । सोही दिन भारतका नवनियुक्त संघीयमन्त्री डा एस जयशंकरले आफूसँग शिष्टाचार भेट गरेको उल्लेख गर्दै उहाँले सो क्रममा दुई देशबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै अघि बढ्नेबारेमा कुराकानी भएको बताए । भ्रमणका क्रममा भारतीय चेम्बर अफ कसर्म र उद्योग महासंघ (एफआइसिसीआई) का अध्यक्ष तथा प्रतिनिधिसँग नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘नयाँ दिल्लीमा रहँदा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनाका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट एवं समसामयिक विषयमा विचारको आदानप्रदान भयो,’ उनले भने । बैठकमा प्रधानमन्त्री र सांसदहरुको जवाल–जवाफ जारी छ ।