विकासन्युज

मालढुंगा-बेनी सडक १३ दिन बन्द हुने

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। १३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंगा-फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो । करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने यो सेयर इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपैयाँ खिचेको थियो । शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले आफ्ना ग्राहकलाई हितग्राही (डिम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई क्यापिटलको शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१र८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन कम्पनीले आग्रह गरेको हो । डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाले यही असार मसान्तभित्र कम्पनीमा गई बुझाउन वा ग्लोबल आईएमई बैंकको पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राखेर वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,प्रभु पे, ई-सेवा तथा ग्लोबल आइएमई बैंकको ई-बैंकिङ सुविधामार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाले माग्यो ३३ जना कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रतिष्ठानले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी ३३ जना कर्मचारी माग गरेको हो । प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सबइन्जिनियर र जुनियर लेखा सहायक पदको विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा ३३ कर्मचारी माग गरेको छ । सूचनाअनुसार यसमा अधिकृतका लागि २१ तथा सहायकको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवातर्फ सहायक प्राध्यापकका लागि ४२, सह प्राध्यापकका लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४०, प्रशासनतर्फ ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २७ गते र दोब्बर दस्तूर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्ने जनाएको छ । सभा प्रयाजनार्थ बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६ सय ४५ कित्ता सेयर बिक्रीमा राखेको हो । हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । तोकिएको समयभित्र संस्थापकहरूको खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख छ ।

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै, विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सम्भावित बाढीपहिराको जोखिमबाट पनि सचेत रहन आग्रह गरेको छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।