विकासन्युज

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।’ उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउनु कुरामा उनले जोड दिए । अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।’ यस्तै, उनले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको सुनाए । यो विषयमा समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एशियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता लगायत आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिप्रति विश्वास गर्दा चिन्ता र चुनौति पनि थपिएको बताए ।

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्वबैंकर क्षेत्री

काठमाडौं । पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको धारणा राखेका हुन् । नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले खराब कर्जाको बढ्दो ट्रेण्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताए । उनले पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताए । ‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ, लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको छ, २०७६ मा गैर बैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’  उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ ।’ यस्तै, उनले उनले पाँच वर्षको अवधिमा बैंकहरूको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरूले अर्बाैं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उनको धारणा छ । २०८०को वित्तीय प्रतिवेदनअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै चार वटाको २ प्रतिशतभन्दा कम र तीन वटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उनले बताए । बैंकको बिजनेस पनि एउटा चक्र भएकोले अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण बैंकिङ क्षेत्रमा दबाब सिर्जना भएको धारणा राखे । ‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रशय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उनले भने । उनले अब राष्ट्र बैंकले चालु पुँजी कर्जाको मार्गदर्शनमा केही पुनरावलोकनको विषयमा सोच्नुपर्ने बताए । यस्तै, उनले बैंकको पुँजी कोष पनि ठूलो दबाबमा रहेको सुनाए । पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको उनकाे भनाइ छ । ‘जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ, तर आत्तिनु हुँदैन , अहिले पुँजी कोष कायम गर्न नसक्ने दुई बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, अहिले बैंकहरूको ६ खर्ब ९२ अर्बको पुँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पुँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उनले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए । सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, ‘देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग चुनौती बनेका छन् । जथाभावी खानपानले रोग बढेको छ ।’ सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् ।

स्विट्जरल्यान्डको अदालतले ४ वर्ष सजाय सुनाएको हिन्दुजा परिवारको सम्पत्ति कति ?

काठमाडौं । स्विट्जरल्यान्डको फौजदारी अदालतले भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा शुक्रबार भारतीय मूलको व्यावसायिक घराना हिन्दुजा परिवारका सदस्यलाई चारदेखि साढे चार वर्षको जेल सजाय सुनाएको छ । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोप भने खारेज गरेको छ । भारतीय मूलका उद्योगपति प्रकाश हिन्दुजा र उनकी श्रीमती, छोरा र बुहारीलाई आफ्ना कामदार (नोकर) तस्करी गरेको आरोप लागेको थियो । यिनीहरूमध्ये अधिकांश अशिक्षित भारतीयहरू थिए जसले जेनेभामा उनको विलासी भिल्लामा काम गर्थे । हिन्दुजा परिवारको जरा भारतसँग जोडिएको छ । यो परिवार सन् १९८० को दशकको अन्त्यतिर स्विट्जरल्यान्डमा बसोबास गरेको थियो । हिन्दुजा परिवारको सूचना प्रविधि, मिडिया, पावर, रियल इस्टेट र हेल्थकेयर जस्ता क्षेत्रमा व्यवसाय छ । फोर्ब्सका अनुसार हिन्दुजा परिवारको कुल सम्पत्ति करिब २० अर्ब डलर छ । हिन्दुजा बेलायतको धनी परिवारमध्ये एक हो । फोर्ब्सको सूचीअनुसार गत वर्ष हिन्दुजा परिवार भारतको सबैभन्दा धनी व्यक्तिको ७औं स्थानमा परेको थियो । यो परिवार विश्वको ठूला २ सय धनी व्यक्तिको सूचीमा आबद्ध छ । हिन्दुजा परिवारको लगानी अशोक लेल्यान्ड, हिन्दुजा टेक टेलिकम, गल्फ आयल इन्टरनेसनल लिमिटेड तथा ग्यास, क्वेकर हाउटन इन्टरनेसनल लिमिटेड, हिन्दुजा नेसनल पावर कर्पोरेसन लिमिटेड, हिन्दुजा रिन्युएवल्स इनर्जी प्रालि, इन्डसइन्ड बैंक, हिन्दुजा हाउजिङ फाइनान्स, स्विच मोबिलिटी, पीडी हिन्दुजा हस्पिटल, हिन्दुजा लेल्यान्ड फाइनान्स लिमिटेड, जीओसीएल कर्पोरेसन लिमिटेड, तारे होटलहरू, सूचना प्रविधि, अटो, पूर्वाधार निर्माण, रियल इस्टेट लगायतमा छ । हिन्दुजा परिवारका चार सदस्यलाई कर्मचारीको राहदानी जफत गरेको, स्विस फ्रयांकको सट्टा रुपैयाँमा भुक्तानी गरेको पनि आरोप लगाइएको छ । यस्तै उनीहरूलाई स्विजरल्यान्डमा आफ्नो भिल्ला छाड्न प्रतिबन्ध लगाइएको थियो र धेरै थोरै पैसाका लागि लामो समय पीडादायी रूपमा काम गर्न बाध्य पारिएको आरोप लगाइएको छ । अदालतले परिवारका चारै जनालाई कर्मचारीको शोषण र अनधिकृत रोजगारी दिएको अभियोगमा दोषी ठहर गरेको छ । श्रमिकले स्वेच्छाले काम गरेको भनेपछि अदालतले तस्करी मुद्दा खारेज गरेको थियो । फैसला सुनाउँदा चारै जना अभियुक्त जेनेभा अदालतमा उपस्थित थिएनन् । परिवारका व्यापार प्रबन्धक र पाँचौं अभियुक्त नजीब जियाजी अदालतमा उपस्थित थिए । उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो, जसलाई निलम्बनमा राखिएको छ । एजेन्सी

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो । बैंकले उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ तोकेको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।

सागसब्जी बेचेर शालिजावासीले भित्र्याए ५ करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक ५ करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो । व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान वुद्धि सुवेदीले जानकारी दिए । माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ । शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड रुपैयाँ भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए । यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए । शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर २ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौं, कुश्मा, बागलुङबाट माग आउने बताए । घरबाटै बीउ आलुलाई २ सयदेखि २ सय ५० पाथीमा बिक्री गर्न सकिने उनले जानकारी दिए । ‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ,’ उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।

पहिराले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई

काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।