विकासन्युज

‘सेयर बजार र घरजग्गामा गरिएको कडाइ हटाऔं, गभर्नरको सक्रियता प्रशंसनीय’

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले अर्थसचिव तथा सचिवहरुलाई विदेश भ्रमण नभई स्वदेश भ्रमण गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारका अर्थसचिव तथा सचिवहरूले विदेश भ्रमण नभई स्वेदशमै मेची महाकाली यात्रा गर्न आग्रह गरेका हुन् । यस्तै, उनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नरको सक्रियता बढेको कारण अर्थतन्त्रमा सुधार आउन सक्ने सम्भावना देखिएको पनि बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अबका अर्थमन्त्रीले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने आँट नगर्ने उनको भनाइ छ । उनले सेयर बजार र घरजग्गामा गरिएको कडाइ पनि हटाउनु पर्ने धारणा राखे । ‘सार्वजनिक वित्त बिग्रिएको कारण अर्थतन्त्रमा समस्या आएको हो, ३२ वटा एयरपोर्ट, भ्यूटावर बनाउनमा ठूलो रकम खर्च भएको छ । तर, त्यहाँबाट खासै उत्साहजनक आम्दानी हुन सकेको छैन, अहिलेको समस्या समाधान गर्न विदेश भ्रमणमा नगई मेचीमहाकाली यात्रा गर्न अर्थसचिव, सचीवहरुलाई आग्रह छ,’ उनले भने । यस्तै, उनले पुर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने सुझाव दिए । ‘अर्थतन्त्र चलायमान नहुँदा राजस्व घट्ने र बजारमा मनोबलमा गिरावट आउँछ, नयाँ सेक्टर खोजी गरि निजी क्षेत्रलाई दिनुपर्छ,’ उनले भने ।

तामाङको एकता भैँसी र्फामले एसपीए स्टार्टअप फण्डबाट १० लाख पाउने

काठमाडौं । धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फण्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन् । सोमबार भएको ग्य्राण्ड फिनालेमा एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौटमा परेको हो । तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भए सँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्ने छ । २०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरे सँगै २०८० भदौ २५ गते सम्म विद्यार्थिहरु लाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । सोही अनुसार प्रस्तावित आइडियाहरू माथि विद्यार्थिहरुले विभिन्न चरणमा प्रकाश पारेसँगै त्यस बाट उत्कृष्ट ५ ओटा आइडिया छनौट गरी कलेजको पेजमा उनीहरूका आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो भने २०८१ असार १० गते तीन जना जज सहितको भव्य ग्राण्ड फिनाले कार्यक्रम मार्फत उत्कृष्ट स्टार्टअप आइडिया छनौट गरिएको छ । उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए । फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरे सँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए । भट्टका अनुसार उत्कृष्ट ५ स्टार्टअप आइडिया मध्ये पहिलो भएको मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडियाले कलेजबाट प्रदान गरिने स्टार्टअप फण्ड मार्फत दश लाख नेपाली रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो रोशन सिंहको धनगढी गट फार्मिङ, तेस्रो यशोदा जोशीको इमेज फुटवयर, चौथो आयुस्मा जोशीको फारवइस्ट डेकुरेसन हब र रमेश रानाको प्रिन्स पोल्ट्री र्फाम स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो । एकता भैँसी र्फाम स्टार्टअप आइडिया प्रस्तुत गरी विजेता बनेका मेखराज तामाङले यो विशेष अवसरका लागि एसपीए कलेज परिवार लाई धन्यवाद दिँदै आफ्नो आइडिया साकार पार्न शतप्रतिशत मेहनत गर्ने र लगानी कर्ता कलेजलाई दुखी नबनाउने बताएका छन् । सो अवसरमा प्रतिक्रिया दिँदै जज समेत रहेका कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले एसपीए कलेजले प्राइभेट क्षेत्रबाट पनि नव उद्धमीहरु को नवप्रवर्तनको निम्ति आफ्ना विद्यार्थिहरु लाई प्रोत्साहन गर्नु नौलो र उदाहरणीय काम भएको बताउँदै यस कार्यको लागी कलेज परिवारलाई स-धन्यवाद बधाई दिएका छन् । यस्तै, उक्त कार्यक्रमको जज समेत रहेका आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकीले यो उत्कृष्ट कार्यको लागी एसपीए कलेजलाई बधाई दिँदै विजेता तथा टप फाइनलिष्टहरु ले आफ्नो आइडियामा निरन्तर काम गरे सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।

येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी

जापान । जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय मामिलाका लागि उप अर्थमन्त्री मासातो कान्डाले येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिए । कुनैपनि समयमा उपयुक्त कारबाही गर्न तयार रहेको बताए । बैंक अफ जापानले यस महिनाको जुलाईको बैठकसम्म बन्ड खरीद प्रोत्साहन घटाउने निर्णय गरेपछि येनको कमजोरी कायम छ । येन सोमबार प्रारम्भिक व्यापारमा प्रतिअमेरिकी डलर १५९.९४ मा कमजोर भयो । यो अप्रिल २९ पछिको सबैभन्दा कम हो । कान्डाले डलरको तुलनामा येनको मूल्य १६० मा आएको गिरावटले येन खरिद गर्ने, डलर बेच्ने कार्यको अर्को चरण आउन सक्ने भन्दै बजारमा सतर्कता बढाएको बताए । जापानी अधिकारीहरूले कहिले हस्तक्षेप गर्ने भन्ने बारे कुनै खास येन स्तरहरू दिमागमा नभएको कुरालाई ध्यानमा राख्दै कान्डाले मुद्रा चालहरू स्थिर हुनुपर्ने बताए । अप्रिल २९ मा जब येनले प्रतिअमेरिकी डलर १६०.२४५ को ३४ वर्षको न्युन बिन्दुमा पुगेको बताए ।

मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आईतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

निर्यातमा प्रोत्साहन अनुदान रकम रोकियो

काठमाडौं । सरकारले बजेट अभाव कारण देखाउँदै स्वदेशी उत्पादन निर्यातमा दिँदै आएको नगद प्रोत्साहन अनुदान रोकेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित ९० करोड रुपैयाँ उपलब्ध गराइसकेपछि उद्योग विभागले तालुक मनत्रालय उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत अर्थ मन्त्रालयसँग थप २ अर्ब १० करोड मागेको थियो । तर, अर्थले भने समयमै रकम नदिँदा उद्योगीले पाएका छैनन् । उद्योग विभागका अनुसार चालु आव नेपालमा उतपादित वस्तु निर्यात गर्दा प्रोत्साहन अनुदान बापत उद्योगहरूलाई २ अर्ब ६३ करोड भुक्तानी गर्न बाँकी छ । यसपालि सरकारले चालु निर्यात अनुदान दिन विनियोजन गरेको ९० करोड वितरण भइसकेको छ । विभागका अनुसार २०७९/८० कै निर्यात प्रोत्साहन अनुदान रकम भुक्तानी गर्न बाँकी छ । सिमेन्ट उत्पादक संघले निर्यात बढे पनि नगद अनुदान प्राप्त हुन नसक्दा उद्योगी मारमा परेको जनाएको छ । सरकारले हाल ३६ वटा स्वदेशी उत्पादनमा निर्यात अनुदान भनेर ८ प्रतिशत दिँदै आएको छ । तिनमा हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउड छन् । नगद अनुदान दिए पनि निर्यात परिमाण भने बढ्न सकेको छैन । २०६८/६९ बाट सरकारले यस्तो अनुदान दिने घोषणा गरेको थियो । उद्योग विभागका अनुसार २०६९/७० देखि २०७९/८० सम्म सवा ६ अर्बभन्दा बढी निर्यात नगद अनुदान उपलब्ध गराइसकिएको छ ।

तीन महिनाभित्रै मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल आउने

वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्यांक निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताए । ‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्,’ उनले भने, ‘परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्यांक निर्माण गर्नुपर्ने थियो, अहिलेसम्म दुईवटै ट्यांक निर्माणको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘समग्रमा अहिलेको जुन रफ्तारमा काम भइरहेको छ, सोही कायम रहेको खण्डमा तीन महिनाभित्र सम्पन्न हुनेछ ।’ प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको बताए । ‘केही सिभिलसँग सम्बन्धित र इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम बाँकी रहेको छ,’ उनले भने, ‘बाँकी रहेका काम पनि तीव्रगतिमा भइरहेकाले सकेसम्म भदौको दोस्रो साताभित्र सकाउने गरी काम भइरहेको छ ।’ प्रमुख उपाध्यायले पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने बताए । ‘एकतर्फ प्रतिलिटर तीन रुपैयाँ ढुवानी खर्च घट्नेछ भने अर्कातर्फ वातावरण प्रदूषण पनि कम हुनेछ, उनले भने, ‘योसँगै वार्षिक एक अर्ब रकम ढुवानी भाडा जोगिनेछ ।’ निगमले अहिले पेट्रोल तथा मट्टितेल भारतको बरौनीबाट ट्यांकरबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिदै आइरहेको छ । कार्यालयका अनुसार २ सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक निर्माण भइरहेको छ भन २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माणको काम भइरहेको छ । निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । सन् २०२४ को जनवरीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयसीमाभित्र दोस्रो चरणको काम सम्पन्न हुनसकेको छैन । निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ‘ओइल वाटर स्प्रेटर’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भइरहेको छ । निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन् । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि १ अर्ब ५४ करोड भारु खर्चिएर ४ हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्यांक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ । त्यसैगरी इन्डियन आयल कर्पोरेशन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर ४ हजार १ सय किलोलिटर क्षमताको ट्याङक, २ सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्यांक निर्माण गर्दै आइरहेको छ । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । जसका कारण पनि दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु १ अर्ब ५४ करोड पुगेको छ । निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइलवाटर स्प्रेटर, पिएमसिसी रुमलगायत पूर्वाधार निर्माण हुँदै आइरहेको छ । दुवै पक्षले अहिले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन् । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको निगमले जनाएको छ । रासस

हकप्रद सेयर निष्कासनका लागि हिमालय ऊर्जाद्वारा बुक क्लोजको मिति तय

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेलाई बुक क्लोज मिति तोकेको हो । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको हकप्रद निष्कासनका बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ ।

१९ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार सूचना प्रकाशित गरी काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।