काठमाडौं । सरकारले बजेट अभाव कारण देखाउँदै स्वदेशी उत्पादन निर्यातमा दिँदै आएको नगद प्रोत्साहन अनुदान रोकेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित ९० करोड रुपैयाँ उपलब्ध गराइसकेपछि उद्योग विभागले तालुक मनत्रालय उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत अर्थ मन्त्रालयसँग थप २ अर्ब १० करोड मागेको थियो । तर, अर्थले भने समयमै रकम नदिँदा उद्योगीले पाएका छैनन् ।
उद्योग विभागका अनुसार चालु आव नेपालमा उतपादित वस्तु निर्यात गर्दा प्रोत्साहन अनुदान बापत उद्योगहरूलाई २ अर्ब ६३ करोड भुक्तानी गर्न बाँकी छ ।
यसपालि सरकारले चालु निर्यात अनुदान दिन विनियोजन गरेको ९० करोड वितरण भइसकेको छ ।
विभागका अनुसार २०७९/८० कै निर्यात प्रोत्साहन अनुदान रकम भुक्तानी गर्न बाँकी छ ।
सिमेन्ट उत्पादक संघले निर्यात बढे पनि नगद अनुदान प्राप्त हुन नसक्दा उद्योगी मारमा परेको जनाएको छ ।
सरकारले हाल ३६ वटा स्वदेशी उत्पादनमा निर्यात अनुदान भनेर ८ प्रतिशत दिँदै आएको छ । तिनमा हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउड छन् ।
नगद अनुदान दिए पनि निर्यात परिमाण भने बढ्न सकेको छैन । २०६८/६९ बाट सरकारले यस्तो अनुदान दिने घोषणा गरेको थियो ।
उद्योग विभागका अनुसार २०६९/७० देखि २०७९/८० सम्म सवा ६ अर्बभन्दा बढी निर्यात नगद अनुदान उपलब्ध गराइसकिएको छ ।