विकासन्युज

मेटलाइफका ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट

काठमाडौं । मेटलाइफ नेपालका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट हुने भएको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्ती मार्फत बीमा पोलीसी नवीकरण गर्दा डिजिटल लाइफ कार्ड सेवा प्रदान गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । मेटलाइफ नेपालले ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइने जनाएको छ । कम्पनीका अनुुसार यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन् । ‘लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आन्तरिक तथा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक तथा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए । ‘आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले स्पष्ट पारेको छ,’ उनले भने, ‘भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढेको हो तर उक्त ऋणले लगातार सात प्रतिशतको आर्थिक वृद्धिमा सहयोग गरेको अवस्था थियो ।’ सरकारले आन्तरिक ऋण कम गर्ने कोसिस गरिरहेको अर्थमन्त्री पुनको भनाइ छ । सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सरकारले उठाएको ऋणको सही ठाउँमा खर्च गर्न आग्रह गरे । सांसद डा. प्रकाशशरण महतले ऋण ठोस र परिणाममूलक काममा खर्च गर्न नसकिए लगानीको उपयोग नभइ समस्या उत्पन्न गर्ने टिप्पणी गरे । सांसद राजेन्द्रकुमार केसीले मुलुकले धान्न नसक्ने गरी ऋण नउठाउन आग्रह गरे । डा. स्वर्णिम वाग्लेले वास्तविकतामा आधारित भएर मात्र ऋणको भारी बोकाउन आग्रह गरे । प्रदीप पौडेलले चालु खर्चका लागि पनि ऋण लिने र निजी क्षेत्रलाई आर्थिक विकासका लागि प्रोत्साहन नगर्ने नीति सही नभएको बताए । यसैगरी सांसद श्यामकुमार घिमिरेले राजस्व चुहावट नियन्त्रण र खर्च घटाउने नीतिमा जान सुझाव दिए । बद्रीप्रसाद पाण्डेले उत्पादनकमूलक काममा खर्च नगरी राष्ट्रले लिएको ऋण तिर्न फेरि ऋण लिनुपर्ने स्थिति आउनु प्रत्युत्पादक हुने टिप्पणी गरे । यस्तै, प्रेम सुवालले ८० प्रतिशत गरिब जनताको हातमा अर्थतन्त्र नरहेकाले घरेलु तथा साना उद्योग–व्यापारलाई प्रश्रय दिन सुझाव दिए । राजेन्द्रप्रसाद पाण्डेले पर्यटन, कृषि र शिक्षाजस्ता क्षेत्रमा लगानी गरी रोजगारी वृद्धि गरेमा ऋणको भारबाट बच्न सकिने विचार व्यक्त गरे । सांसद नागिना यादवले कूल ग्राहस्थ उत्पादनको पाँच दशमलव पाँच प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन नहुने बताए । यस्तै जीवन परियार, उदयशम्शेर राणा, सञ्जयकुमार गौतमलगायत सांसदले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्नेमा जोड दिए ।

प्रभु बैंकका कर्मचारीले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

काठमाडौं । प्रभु बैंक र ललितपुरको हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य भएको छ । सहकार्यका लागि बैंक र हस्पिटलबीच समझदारी भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश-३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए भने समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता थियो ।

यातायात व्यवस्था कार्यालय झापाले ११ महिनामा उठायो ८५ करोड बढी राजस्व

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार ५ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै ६ करोड २४ लाख ४० हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ ६९ करोड ७७ लाख ८९ हजार ७ सय ७९, प्रशासनिक सेवा शुल्कवापत १ करोड ७९ लाख ९३ हजार १ सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १६ लाख ८८ हजार १ सय ६७ रुपैयाँ राजस्व असुली गरेको छ । चालु आवको ११ महिनाको अवधिमा ९ हजार ५ सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार १ सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताए । सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५ सय ४८ को नामसारी हुँदा १० हजार २ सय ६३ सवारी जाँचपास भएका उनले जानकारी दिए । चालु आर्थिक वर्षको ११ महिनामा ६ हजार ७ सय १४ मोटरसाइकल दर्ता हुँदा १ हजार ६ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ साताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र साताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।

समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट हुने भएको छ । फाइनान्सले मंगलबार क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले यही असार १२ गतेदेखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिङ र डेबिट कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल बागबजार, काठमाडौं स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन र प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क) मा १० प्रतिशत सामान्य शल्यक्रिया (अपरेशन र प्रक्रिया शुल्क) मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत, बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।

कोशी सरकारविरुद्ध दायर रिट खारेज

काठमाडौं । कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले खारेज गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । रिट खारेज भएपछि हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारले नै वैधानिकता पाएको छ । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले केदार कार्कीको माग अस्वीकार गर्दै रिट खारेज हुने फैसला सुनाएको हो । फैसलाको लिखित पाठ भने आउन बाँकी छ ।

मनप्रिय मनाङ

गण्डकी । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर । कठिन भू-बनोटबीच पनि मनाङ आफैमा चित्रमय लाग्छ । हिमालले घेरिएको मनाङ जो कोहीको मनप्रिय गन्तव्य हो । यो प्रकृति र संस्कृतिको अनुमप थलो हो । जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा भने फुरुङ्ग हुन्छन् । गाह्रोसाह्रो बिर्सिदिन्छन् । मस्र्याङ्दीको सुसाहट, झरनाको छङ्छङ् र सिरसिरे हावाको स्पर्शमा रमाउँछन् । बेँशीसहर-चामे सडक छेउछाउका बुङ्ग, अक्टोपसआदि झरना हेरेर उनीहरु रोमाञ्चित बन्छन् । मनाङ पुग्न भीमकाय पहाड, भीरपाखा, खोल्सा र खोँच छिचोलेर अघि बढ्नुपर्छ । पदयात्रा र मोटरयात्रामा मनाङ पुग्न सकिन्छ । त्यहाँको हुम्डे विमानस्थल भने अहिले बन्द छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ पदयात्राका लागि लोकप्रिय गन्तव्य मानिन्छ । एक दशकअघि मोटर पुगेपछि सडकमार्गबाट मनाङ जाने घुम्न जाने पर्यटक पनि उत्तिकै छन् । मनाङ पुग्ने अधिकांशको सपना संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हुन्छ । तर त्यो सबैका लागि सम्भव हुँदैन । आँटिला र स्वस्थ व्यक्तिले मात्र थोरङ भञ्ज्याङ पार गर्न सक्छन् । मनाङ ङिस्याङ गाउँपालिका-९ मा पर्ने तिलिचो ताल सामुद्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । पाँच हजार चार सय १४ मिटरको उचाइमा रहेको थोरङ भञ्ज्याङ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हो । थोरङ भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मुस्ताङको मुक्तिनाथ क्षेत्र पुग्छन् । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको पवित्र धार्मिकस्थल हो । मनाङ ङिस्याङ-१ भ्राताङमा भेटिएका पर्यटक पथप्रदर्शक अनिल लामा अमेरिकामा बस्ने नेपाली परिवारका सदस्यलाई लिएर थोरङ भञ्ज्याङ जाँदै थिए । सदरमुकाम चामेबाट पदयात्रा सुरु गरेको उनले सुनाए । चामे समुद्री सतहदेखि दुई हजार आठ सय ३१ मिटर उचाइमा अवस्थित छ । अग्ला पहाडको खोँच र मर्स्याङ्दी नदीको किनारमा रहेको चामेबजारमा एक रात बिताएर उनीहरु मनाङ गाउँतिर जाँदै थिए । ‘तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हो, छ-सात दिन जति लाग्ला’, उनले भने, ‘पहिलो दिन पिसाङ, दोस्रो दिन मनाङ गाउँ र तेस्रो दिन तिलिचो आधार शिविरमा बास बसेर बल्ल तिलिचो ताल पुग्ने योजना छ ।’ तिलिचोबाट फर्केर श्रीखर्क हुँदै थोरङ भञ्ज्याङ जाने तालिका रहेको लामाले सुनाए । तिलिचोबाट दुई दिनमा थोरङ भञ्ज्याङ पुग्न सकिन्छ । थोरङ भञ्ज्याङ जान नसक्नेहरु श्रीखर्कबाट खाङ्सार हुँदै मनाङ गाउँ फर्कन्छन् । बेँशीसहरबाट मोटरयात्रामा सिधैँ खाङ्सार पुगेर त्यहाँदेखि दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिने लामाले बताए । चामेबाट पदयात्रामा जाँदा भने चार दिन लाग्ने उनको भनाइ छ । चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले पदयात्रीले लिने विश्रामको अवधिले तिलिचो र थोरङ भञ्ज्याङ जान लाग्ने समयको निर्धारण गर्ने बताउँछन् । ‘प्रायः विदेशीहरु चामेबाट पदयात्रा सुरु गर्छन्, चाररपाँच दिन लगाएर तिलिचो पुग्छन्, नेपालीहरु भने अलि छिट्टै पुग्छन्’, उनले भने । पहिलो पटक पुग्ने पर्यटकले तिलिचोलाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरेको उनले सुनाए । ‘तिलिचोलाई चारैतिरबाट हिमालले घेरेको छ, भगवान् शिवले तपस्या गरेको किंबदन्ती रहेकाले धार्मिक हिसाबले पनि यो तालको महत्व छ’, फुर्वाले भने, ‘तिलिचोसँगै गङ्गापूर्ण, ग्रीन लेक, काजिन्सारालगायतका तालतलैयाले मनाङको सौन्दर्य बढाएका छन् ।’ कतिपय तालको अझै पहिचान नै हुन नसकेको उनले बताए । तिलिचो र थोरङ भञ्ज्याङबाट अन्नपूर्ण-२, अन्नपूर्ण-४, लमजुङ, मनास्लु, गङ्गापूर्णलगायत कैयौँ हिमशृङ्खलाकौ एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । चामे होटल व्यवस्थापन उपसमितिका अध्यक्ष फुर्वाले पाँच हजार एक सय छ मिटर उचाइको लार्के भञ्ज्याङ पनि पर्यटकको रोजाइमा पर्ने गरेको बताए । गोरखाको मनास्लु संरक्षण क्षेत्रबाट लार्के भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मनाङ छिर्ने गरेको उनको भनाइ छ । ‘मनाङको धारापानीबाट तिल्चे, भीमथाङहुँदै लार्के भञ्ज्याङ पार परेर मनास्लु क्षेत्र पनि पुग्न सकिन्छ’, उनले भने । पाँच हजार तीन सय २० मिटर उचाइमा अवस्थित काङ्ला भञ्ज्याङले पनि मनाङ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । काङ्ला भञ्ज्याङ काटेर मनाङकै पर्यटकीय गाउँ नार पुग्न सकिन्छ । अध्यक्ष फुर्वाले सडक आएपछि अन्नपूर्ण चक्रीय पदमार्गको साख भने गुम्दै गएको बताए । ‘विशेष गरी पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा मनाङ पर्ने गर्छ, तर पछिल्लो समय सडक निर्माणका क्रममा पदमार्ग नासिएका छन्, कतै छोटिएका छन्’, उनले भने, ‘मनाङको पर्यटनलाई चलायमान बनाइराख्न र विदेशी पर्यटकलाई आकर्षित गर्न वैकल्पिक पदमार्ग बनाउनुपर्छ ।’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पदमार्ग सङ्कटमा पर्दा लमजुङ र मनाङका पर्यटन व्यावसायी नै विस्थापित हुने अवस्था आएको  बताए । ‘पदयात्रा पर्यटनमा आधारित व्यवसायी पलायन भइरहेका छन्, कति त बस्ती नै विस्थापित भएँ’, उनले भने, ‘पुराना पदमार्ग नासिँदा सडकको धुलो र हिलो सहँदै पदयात्रा गर्न पर्यटक बाध्य छन्, यस विषयमा सम्बद्ध सबै पक्ष संवेदनशील र जिम्मेवार हुनुपर्छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म मनाङमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रने गरेको बताए । ‘दुई वटा मुख्य याममा मनाङका गन्तव्यस्थल पर्यटकले भरिभराउ हुन्छन्, वर्षात् र जाडोयाममा पनि फाटफुट रुपमा स्वदेशी तथा विदेशी पर्यटक मनाङ घुम्न आइरहन्छन्’, उनले भने । प्रमुख भुजेलका अनुसार सन् २०२३ मा २२ हजारभन्दा बढी विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको उनको भनाइ छ । हमास(इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको प्रमुख भुजेलले बताए । आन्तरिक पर्यटकको भने यकिन तथ्यांक ‘एक्याप’सँग पनि छैन । भारतीय र नेपाली पर्यटक मोटरबाइक लिएरै मनाङ पुग्ने गरेका छन् । विकट भूगोल र जोखिमपूर्ण सडकका कारण पनि वर्षात्का बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गर्छ । कतिपय होटल तथा रेष्टुराँ अहिले बन्द भइसकेका छन् । ‘अफसिजन’मा पर्यटकीय गतिविधि कम हुने भएकाले कतिपय होटल तथा रेष्टुराँ सञ्चालकहरु व्यवसाय नै बन्द गरेर काठमाडौं, पोखरालगायत ठाउँमा जाने गरेका छन् । प्रमुख भुजेलले मनाङमा तीन सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए । ‘पर्यटकस्तीय होटल, रेष्टुराँ, चिया-खाजाघर छन्, यहाँ आउने पर्यटकको सुविधालाई हेरेर व्यवसायीले विभिन्न सेवा पनि थपिरहेका छन्’, उनले भने, ‘एक्यापले पनि पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यस्थलको प्रवर्द्धनलगायतमा स्थानीय बासिन्दालाई सघाउँदै आएको छ ।’ रोमाञ्चक र साहसिक पदयात्रा रुचाउनेलाई मनाङ उत्कृष्ट गन्तव्य रहेको प्रमुख भुजेलले बताए । मनोरम प्रकृति, संस्कृति, बौद्ध परम्परा, हिमाली जनजीवन आदि मनाङका पहिचान र आकर्षण हुन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किमि मोटरयात्रा लमजुङ सदरमुकाम बेँशीसहर पुग्न सकिन्छ । बेँशीसहरबाट छ घण्टाको मोटरयात्रामा मनाङको चामे र चामेदेखि मनाङ गाउँसम्म साढे दुई घण्टामा पुग्न सकिन्छ । मनाङ गाउँबाट भने खाङ्सारसम्म आधा घण्टामै पुग्न सकिन्छ । खाङ्सारबाट अघि सडक पुगेको छैन । चामेबाट भ्राताङ, पिसाङ, हुम्डे हुँदै मनाङ गाउँ जोडिन्छ । मनाङ गाउँबाट नजिकै गङ्गापूर्ण हिमताल अवस्थित छ । पिसाङमा ग्रीन लेकपर्छ । काजिन्सारा ताल पुग्न भने चामेबाट दुई दिनको पदयात्रा गर्नुपर्छ । मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्द्धनका लागि सक्दो पहल लिने गाउँपालिका अध्यक्ष घलेले बताए । मनाङ जोड्ने सडक स्तरोन्नति गर्न सके बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक मनाङ भित्र्याउन सकिने उनको बुझाइ छ । ‘पर्यटकीय याममा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनाङ भित्रने गरेका छन्’, अध्यक्ष घलेले भने, ‘पहिले विदेशी पर्यटक बढी आउथे, पछिल्लो समय आन्तरिक पर्यटकको पनि आवागमन बढेको छ ।’ रासस

मौद्रिक नीतिमा मोह, कर्जामा कमिसन

काठमाडौं । अहिले अधिकांशले मौद्रिक नीति कस्तो आउँदैछ भनेर चासो दिन थालेका छन् । तर, मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नेपाल राष्ट्र बैंक धेरै बोल्दैन । अधिकांशले मौद्रिक नीतिमा धेरै अपेक्षा गरेको देखिन्छ । कसका के अपेक्षा छन् भनेर राष्ट्र बैंकले सुझावका रूपमा संकलन गरिरहेको छ । सबैले आआफ्नो क्षेत्रबाट सुझाव तथा माग गरिराख्नु भएको छ । तथ्य तथ्याङ्क, वर्तमान अवस्थाका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तयार पार्छ । देशको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति कडा आउँछ भने मूल्यवृद्धि सहज वा भएका बेला केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउनु स्वाभाविक हो । केन्द्रीय बैंक तथ्याङ्कभन्दा बाहिर नगई सन्तुलन भएर मौद्रिक नीति ल्याउँछ । राष्ट्र बैंकका गभर्नरले लचिलो मौद्रिक नीति ल्याउँछु भन्नु भएको छ भनेर यस विषयलाई सहज रूपमा नलिनु होला । वर्तमान अवस्था र तथ्याङ्कलाई अध्ययन गरेर राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भनेर सहज रूपमा अनुमान गर्न सक्नुहुन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिसँगै फाइनान्सियल सेक्टर पोलिसी पनि ल्याउँछ । र, अधिकांशको चासो त्यतातिर देखिन्छ । कोभिड महामारीमा धेरै महत्वपूर्ण काम गर्दा अवस्था सहज अवस्था बन्यो । त्यसैले कोभिडकालमा ल्याइएको जस्तो मौद्रिक नीतिको अपेक्षा आफूहरूले नगरेको निजी क्षेत्रले स्पष्ट रूपमा भनिरहेको छ । अर्थात् कोभिडको समयमा जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अहिले नरहेको निजी क्षेत्रले भनिरहेको छ । तर, व्यक्तिगत समस्यालाई सामान्यीकरण गरेको देखिन्छ । आफू अनुकुल गर्न खोजिरहेका छन् । व्यक्तिले आक्रामक रूपमा कर्जा लिएका छन् । त्यसबाट कसरी निस्किने भनेर विभिन्न उपाय खोजिरहेका छन् । त्यो सकसबाट बाहिर निस्किन राज्य, राष्ट्र बैंकले सहयोग गर्छ कि भनेर आशा राखिएको छ । र, ती आशालाई अन्तिममा राष्ट्र बैंकको मौद्रिक नीतिमा ठोक्काउन खोजेको महसुस हामीहरूलाई भइरहेको छ । मौद्रिक नीतिका आफ्नै सीमा छन् । त्यसैले धेरै हात फैलाउन वा हाँगा फिजाउन सक्दैन । सीमाभित्र रहेर राष्ट्र बैंकले काम गर्छ । यो विषय सबैले बुझिदिनुपर्छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा दैनिक दुईटा कार्यक्रममा भइरहेका छन् । ती कार्यक्रममा कतिपय साथीभाईहरूले यो–यो वस्तुमा लोन टू भ्यालू रेसियो बढाइदिनुपर्याे भनेर माग गर्नुहुन्छ । अहिलेको लोन टू भ्यालू रेसियो हुँदा त धेरै आत्तिनु भएको छ । अझै योभन्दा बढाउँदा अर्काे वर्ष साँचो बुझाउन आउनुहुन्छ । राष्ट्र बैंकले कसैलाई ऋणमा डुबाउने गरी नीति ल्याउँदैन । व्यक्तिलाई उद्यमी बनाउने हो । व्यवसाय धान्ने वातावरण वा नीति बनाइदिने हो । साथै सुधारका कार्यक्रम पनि ल्याउँछौं । वर्किङ क्यापिटल गाइडलाइन पनि सुधार नीतिका रूपमा अघि सारिएको हो । सुरुवातमा धेरै विरोध भयो । तर, पछिल्लो समय पचाइसक्नु भएको छ । सकारात्मक प्रभाव परेको देखिन्छ । वर्किङ क्यापिटल गाइडलाइनले ऋणीलाई ऋण लिन कुनै बाधा–अड्चन हुने छैन भनेर विभिन्न सार्वजनिक फोरमहरूमा भनिरहेको छु । यदि कहीँकतै समस्या देखियो भने सिधैं राष्ट्र बैंकमा गुनासो वा सुझावका रूपमा पेस गर्दा हुन्छ । ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले छुट्टै डिभिजन नै खडा गरेको छ । आगामी आर्थिक वर्षदेखि मार्केट कण्डक्सन (बजार संचालन) को काम पनि गर्ने योजनामा छ । अब संस्थाको नियमन मात्रै नभएर ग्राहक संरक्षणसँग सम्बन्धित विषयमा पनि सुपरीवेक्षण राष्ट्र बैंकले गर्नेछ । एक जना ठूलो व्यवसायी म कहाँ आएर वर्किङ क्यापिटलका कारण मेरो व्यवसाय रोकियो, बैंकले पनि विभिन्न कुराहरू गर्न थालेको छ भनेर गुनासो गर्न थाल्नुभयो । त्यसपछि म आफैंले विगत ५ वर्षको फाइनान्सियल विवरण अध्ययन गर्दा पर्मानेन्ट वर्किङ क्यापिटल रिक्वायरमेन्ट धेरै ठूलो देखियो । रेगुलर बस्नुपर्ने स्टक प्रशस्त छ । त्यसका लागि ३ देखि १० वर्षको वर्किङ क्यापिटल लिन सकिने व्यवस्था छ । त्यसैले विरोधका लागि विरोध नगर्न आग्रह छ । व्यवहारिक हिसाबमा समस्या परेको छ भने राष्ट्र बैंकको ढोका खुला छ । बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको सार्वजनिक कार्यक्रममा एक जना इन्जिनियर र विकास बैंकका अध्यक्षले गुनासो गर्नुभयो । यो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन । राष्ट्र बैंकले सयौं जनालाई कारबाही गरेको छ । ग्राहकसँग खाता लिंक भएकै संकेतका आधारमा राष्ट्र बैंकले कारवाही गरेको हो । तर, तपाईहरू सार्वजनिक कार्यक्रममा कर्जा लिँदा कमिसन लिएको प्रमाण देखाउँछु भनिराख्नु भएको छ । केन्द्रीय बैंकका लागि यो विषय गम्भीर हो । योभन्दा ठूलो आक्षेप बैंकका लागि अरू केही हुँदैन । कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण केन्द्रीय बैंकलाई दिनुपर्छ । होइन भने सार्वजनिक कार्यक्रममा बोल्न पाए भन्दैमा जे पायो त्यही बोल्न मिल्दैन । नेपालको अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्र जरूरी छ । भलै विकसित अर्थतन्त्रमा यस्ता विषयले अर्थ नराख्न सक्छ । प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा १० प्रतिशत कर्जा अनिवार्य नगरेको भए यति धेरै पीपीए हुने थिएनन् । हाल ३३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । आगामी वर्ष ४५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ । अब अरूण तेस्रोबाट पनि बिजुली उत्पादन भएपछि क्षमता अझै व्यापक बन्छ । बैंकहरू जहाँ कम जोखिम छ त्यहाँ बढी कर्जा दिन रुचाउनुहुन्छ । आयात गर्ने, आयातको फाइनान्सिङ गर्ने, सामान बेच्ने र कर्जा तिर्नेलाई कर्जा दिन बैंकहरू सहज मान्नुहुन्छ । तर, राज्यको उद्देश्य आयात गर्ने मात्रै होइन । आन्तरिक उत्पादन बढाउने र रोजगारी श्रृजना गर्नु पनि हो । त्यसका लागि बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ । २०८४ सालसम्म कृषिमा १५ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्छ । त्यसपछि कृषिमा ३ खर्ब बराबरको आयात रोकिन्छ । साना उद्यमीलाई पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरू अर्थतन्त्रका खम्बा हुन् । १५ प्रतिशत साना उद्यममा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गतर्फ ३० लाख ग्राहकहरू छन् । जसमध्ये अधिकांश महिला छन् । उहाँहरूले ससानो ऋण विपन्न वर्ग क्षेत्रका माध्यमबाट पाउनु भएको हो । व्यक्तिगत जीवन परिवर्तन गर्न र जीवन निर्वाहका लागि ठूलो योगदान पुर्याएको छ । कहिलेकाहीँ काम गर्ने शिलशिलामा केही समस्या आउँछन् । जसले काम गर्छ उसका बारेमा धेरे कुराहरू आउनु स्वभाविक हुन्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । काम गर्दैगर्दा समस्या आयो भने डराउनु हुँदैन । समस्या र चुनौती व्यवस्थापकका लागि कच्चा पदार्थ जस्तै हुन् । ती समस्या र चुनौतीसँग जुधेर समाधान गर्न अग्रसर हुनुपर्छ । त्यसैले हाम्रो अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा आवश्यक छ । बजार सोही अनुसार परिपक्व हुनुपर्छ । बैंकहरू स्वनियमन र अनुशासित हुनुपर्छ । आफ्नो पोर्टफोलियो विविधिकरण, व्यवस्थापन, सन्तुलित र राष्ट्रिय आवश्यकता अनुसार परिचालन गर्नुपर्छ । वित्तीय प्रणालीमा नियमन भएन भने सहकारीको जस्तै स्थिती हुन्छ । त्यसैले नियमन हुँदैमा आत्तिनु पर्दैन । तर, ती नियमन बजारमैत्री, बैंकिङमैत्री छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण हो । नियमन हुँदा नै बैंकिङ प्रणाली जोगिएको छ, रिजनेबल बनाएको छ, विश्वास जगाएको छ । तापनि बैंकहरूमाथि शंका गरिरहेका छन् । त्यसकारण नियमन आवश्यक छ, राष्ट्र बैंकले सोही अनुसार काम गरिरहेको छ ।