देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ अझै फरार
काठमाडौं । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राससलाई जानकारी दिए । उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने छ ।’ दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौं–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गंगा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए । उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रूपमा सङ्लग्नहरूमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजी कार्य जारी छ । उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । यसअघि सिआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
विवादबीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट
इटहरी । इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ । वडाध्यक्ष पोखरेलले पेस गरेको बजेटमा चालुतर्फ एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ दुई अर्ब १५ करोड ६० लाख रुपैयाँ रहेको छ । इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ । पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगरस्तरका योजनामा ४५ करोड रुपैयाँ समावेश गरिएको छ । प्रस्तुत बजेटको स्रोत व्यवस्थामा संघीय समानीकरण अनुदान २९ करोड ५६ लाख, संघीय शसर्त अनुदान चालु खर्चतर्फ ४९ करोड ४३ लाख १५ हजार, संघीय ससर्त अनुदान पुँजीगत खर्चतर्फ ८१ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको छ । संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड, प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख ४५ हजार र प्रदेश शसर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार रुपैयाँ रहेको छ । प्रदेश ससर्त अनुदान पुँजीगत खर्चतर्फ २ करोड ४४ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) २ करोड ३३ लाख ४१ हजार र प्रदेश राजस्व बाँडफाँड (मालपोत रजिष्ट्रेशन) ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । इटहरी उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट ९६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले पहल गर्ने
काठमाडौं । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आज नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले संघीय राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल थाल्ने बताएका हुन् । ‘पर्यटक बसलाई पशुपति क्षेत्रबाट सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग छलफल भइरहेको छ, एक दुई महिनाभित्रै पर्यटक बसपार्कको समस्या समाधान हुने विश्वास लिएका छौँ,’ अध्यक्ष थपलियाले भने । पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै उनले विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । टिवानका अध्यक्ष कृष्ण आचार्यले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन बसलाई अगाडि बढाउन टिवान र नाट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नाट्टाको ५७औं साधारणसभा तथा २४औं अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।
साढे ७ प्रतिशत बढ्यो जीवन बीमा व्यवसाय, एशियनलाई पच्छ्याउँदै प्रभु महालक्ष्मी, आइएमई र नेशनल लाइफ
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ७ प्रतिशत बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्म १४ वटा जीवन बीमा कम्पनीहरूको व्यवसाय ७.२९ प्रतिशत बढेर १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले समीक्षा अवधिमा १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख बिक्री गरी सो बराबर व्यवसाय आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए । गत वर्षको ११ महिनामा १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख बिक्री गरेका थिए । समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा व्यवसाय विस्तार गरेको देखिन्छ । यस कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशत व्यवसाय वृद्धि गरेर ७ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै प्रभु महालक्ष्मी लाइफले १३.७२ प्रतिशत बढाएर ३ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्र्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै आइएमई लाइफले १३.६४ प्रतिशत वृद्धि गरेर ४ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको जेठमा कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँ बराबर व्यवसाय गरेको थियो । यस्तै नेशनल लाइफले १३.५७ प्रतिशत बढाएर १५ अर्ब ९८ करोड रुपैयाँ, रिलायबल लाइफले १२.३० प्रतिशत बढाएर ३ अर्ब ६९ करोड रुपैयाँ, हिमालयन लाइफले ११.५० प्रतिशत बढाएर १४ अर्ब ६४ करोड रुपैयाँ, नेपाल लाइफले ९.८७ प्रतिशत बढाएर ३५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्याङ्क छ । सानीमा रिलायन्सको ९.५३ प्रतिशत बढेर ५ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन लाइफको ९.३३ प्रतिशत बढेर ५ अर्ब २९ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ६.८३ प्रतिशत बढेर ८ अर्ब ६८ लाख रुपैयाँ, मेट लाइफको ६.५२ प्रतिशत बढेर ५ अर्ब ८ करोड रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको २.६५ प्रतिशत बढेर १५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय आर्जन गरेका हुन् । समीक्षा अवधिमा दुई कम्पनीको बीमाशुल्क आर्जन भने गत वर्षको तुलनामा घटेको देखिन्छ । सन नेपाल लाइफको ०.९० प्रतिशत घटेर ३ अर्ब ३९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमाको २४.२८ प्रतिशत घटेर ५ अर्ब ९५ करोड रुपैयाँ बराबर बीमा व्यवसाय गरेका हुन् ।
ट्रक पार्किङ स्थल निर्माणका लागि २ करोड बजेट
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ । लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिएवापत् प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति बिराटनगरका पूर्व अध्यक्ष मेघराज सिग्देलले जानकारी दिए । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए । पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ । पूर्व अध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए । उनले अन्य प्रदेश सरकारहरुले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनुपनेमा जोड दिए ।
यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार (असार ११ गते) इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।
मकवानपुरका ९ पालिकाले ल्याए बजेट
बागमती । मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घटाएर ल्याएका छन् । मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन । सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाशा र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए । आर्थिक तरलता, राजस्व संकलनमा गिरावट, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरुले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि ९० करोड १३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवको तुलनामा ३ करोड रुपैयाँ कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार ६ सय २३ रुपैयाँ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे । मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा ४ करोड ६ लाख ७६ हजार रुपैयाँ बजेट घटाएर ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका लागि ७४ करोड ३६ लाख ७३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा १ करोड रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेका थिए ।