विकासन्युज

५ करोड ७५ लाखमा ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

पाटन । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । ५ करोड ७५ लाख ९२ हजार ६ सय २७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिबार उद्घाटन गरे । त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई प्रत्यक्ष लाभान्वित हुने बताइन् । ‘कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ,’ उनले भनिन् । कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे ।

दाङको राजपुरबाट एसईईमा एक जना विद्यार्थी मात्रै उत्तिर्ण, ७ विद्यालयको नतिजा शून्य

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका २ सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमुना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए । सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंकर मावि खरदरियाबाट ४५ , माध्यमिक विद्यालय दुलैयाबाट ९ , बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए । माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसईई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए । ‘हामीले शिक्षामा धेरै लगानी गर्यौं,’ उनले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।’ ८ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।

पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध

गलकोट । गएराति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् । कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका-३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका-२ हाँडीखोलामा पहिरोले रडक पूर्णरूपले अवरुद्ध भएको छ । पहिरोका कारण बागलुङ- कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए।

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्दनमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषिकर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्दन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताए । भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताइन् । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताइन् ।

बलिउड अभिनेता डेनी भारतकै तेस्रो ठूलो बियर उत्पादक कम्पनी सञ्चालक

काठमाडौं । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता हुन् डेनी डेन्जोङ्पा । उनको वास्तविक नाम छिरिङ फिन्त्सो हो । कुशल अभिनेता हुनुका अलावा, डेनी एक अनुभवी व्यवसायी पनि हुन् । डेनीले सन् १९८७ मा दक्षिण सिक्किममा युक्सम ब्रुअरी सुरु गरेका थिए । १९८७ मै उनले उडिशाको डेन्जोङ ब्रुअरीसँग आफ्नो व्यवसाय विस्तार गरे । चार वर्षपछि डेनीले असमको राइनो एजेन्सी किनेका थिए । यी तीनवटा ब्रुअरीको कुल उत्पादन क्षमता वार्षिक ६.८ लाख हेक्टोलिटर छ । यसले युक्समलाई भारतको तेस्रो ठूलो बियर कम्पनी बनाएको छ । ‘डान्सबर्ग’ र ‘हे–म्यान९०००’ जस्ता लोकप्रिय ब्रान्डहरू यस कम्पनीका हुन् । युक्सम ब्रुअरीले उत्तरपूर्वी क्षेत्रको अर्थतन्त्रमा वार्षिक १अर्ब रुपैयाँ बराबर योगदान गर्छ । यसले २ सय ५० जनालाई रोजगारी दिएको छ । सन् २००१ मा राइनो एजेन्सीको अधिग्रहण डेनीका लागि महत्त्वपूर्ण कदम थियो । त्यसबेला विजय माल्या उत्तरपूर्वी बजारमा प्रवेश गर्ने योजनामा ​​थिए । युनाइटेड ब्रुअरीज (यूबी) असममा दुई महिना पुरानो राइनो किन्न चाहन्थ्यो । यस क्षेत्रमा आफ्नो बजार हिस्सा सुरक्षित गर्नका लागि यूबीको योजना विफल पार्दै युक्समले राइनो अधिग्रहण गर्‍यो । यो रणनीतिक कदमले बजारमा डेनीको स्थितिलाई बलियो मात्र बनाएन, विजय माल्याको विस्तार योजनालाई पनि विफल बनायो । युक्समको वार्षिक आम्दानी १ अर्ब रुपैयाँ छ । डेनीले १९७१ मा बीआर इशाराको फिल्म ‘जरूरत’बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । ‘मेरे अपने’ र ‘धुन्ध’ जस्ता फिल्मबाट उनको पहिचान बन्यो । १९७० र १९८० को दशकमा उनले ‘चोर मचाए शोर’, ‘कालीचरण’, ‘धर्मात्मा’, ‘द बर्निङ ट्रेन’, ‘लभ स्टोरी’ र ‘बुलन्दी’ जस्ता धेरै ठूला फिल्महरूमा भूमिका निर्वाह गरे । १९८० को दशक अन्त्यमा उनले नकारात्मक भूमिकामा काम गर्न थाले । उनले ‘धर्म और कानुन’, ‘अग्निपथ’, ‘घातक’, ‘क्रान्तिवीर’, ‘भारतीय’ जस्ता फिल्ममा आफ्नो अभिनयका लागि धेरै तारिफ पाएका थिए । विगत २० वर्षमा उनले ‘अशोका’, ‘एन्थिरन’ र ‘बैंग बैंग’ जस्ता धेरै ब्लकबस्टर फिल्महरूमा सहायक भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । यसबाहेक उनले ‘सेभेन इयर्स इन तिब्बत’ जस्ता अन्तर्राष्ट्रिय फिल्ममा पनि अभिनय गरेका छन् । एजेन्सी

बुद्धले थप्यो नयाँ जहाज, एटीआर-७२ को संख्या १५ पुग्यो

काठमाडौं । बुद्ध एयरले एटीआर ७२-५०० नामक ७२ सिट क्षमताको जहाज थप गरेको छ । नयाँ जहाज थप गरेसँगै बुद्धसँग एटीआर ७२ जहाजको संख्या १५ पुगेको छ । बुद्ध एयरसँग ३ वटा एटीआर-४२–३२० र १५ वटा एटीआर-७२-५०० जहाज छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ जहाज थपिएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । उनले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएअनुरूप यात्रुलाई थप सेवा दिन जहाज संख्या बढाएका हौं, उडान तालिकालाई प्रभावकारी बनाएर यात्रुलाई थप सेवा दिने उद्देश्य हो ।’ बुद्धले शुक्रबार थप गरेको नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अगामी साउन १ देखि सुर्खेत र धनगढीमा एक अतिरित्त उडान गर्ने भएको छ । हाल उडान भएकै गन्तव्यमा नयाँ जहाजले अतिरिक्त उडान गर्ने बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्ज उडान पनि भरिरहेको छ ।

‘सामाजिक सञ्जालमा तस्बिर राखेर चर्चा कमाउन होइन, एक हेक्टरमै धान रोपेर फर्किन्छौं’

आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्यांक कार्यालयको आर्थिक वर्ष २०७९र८० अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन सरकारले पनि हरदम प्रयास गरिरहेको छ । सरकारले आगामी आर्थिक बजेटमा कृषि लगानी दशक मनाउने घोषणासमेत गरेको छ । कृषि क्षेत्रलाई उकास्न सरकारका अन्य भावी योजना के के छन् ? धान दिवसलाई प्रचारबाजी नभई अर्थपूर्ण बनाउन सरकारले कस्ता कार्यक्रम बनाउँदैछ ? कृषि क्षेत्रका विभिन्न आयामबारे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँग गरिएको गरेको कुराकानीः राष्ट्रिय धान दिवस प्रत्येक वर्ष मनाइन्छ । यसपटक कसरी मनाउँदै हुनुहुन्छ ? विगतभन्दा फरक तरिकाले धान दिवस मनाउँदैछौँ । यो पटक काठमाडौँ बाहिर चितवनमा मनाउने तयारीमा छौं । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमै जोड दिने गरी यो दिवस मनाउँदैछौँ । सौराहाको बच्छौलीमा धान दिवस मनाउन जाँदैछौँ । प्रधानमन्त्रीको उपस्थितिमा औपचारिक कार्यक्रम हुनेछ तर हामीहरू चाहीँ एक हेक्टर खेतमा धान पूरै रोपेर मात्रै फर्किनेछौँ । यसपटक विगतमा भन्दा अलि फरक ढङ्गले धान दिवस मनाउँदैछौँ । यस्तो नौलो शैलीमा धान दिवस मनाउनुको तात्पर्य के थियो होला ? विगतमा कसैले गमलामा रोपाइँ गर्ने, कसैले सामाजिक सञ्जालमा धान रोपाइँ त कसैले सेल्फीको लागि धान रोप्ने भन्दै धान दिवसलाई हलुको बताउने गरियो । यसले जनस्तरमा धान दिवस विकृतिको रूपमा देखिएको छ । साथै यसले गर्दा वास्तविक किसानलाई हिनताबोध भएको छ । सामाजिक सञ्जालमा तस्बिर राखेर चर्चा कमाउन धान दिवस मनाएको आलोचना सुन्दै आएको छु र देखेको पनि छु । म यस्तो प्रवृत्तिलाई चिर्नको लागि र व्यावहारिक कृषि भाव जागृत गराउन मन्त्रालयले केही उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने लाग्यो । पूरै खेत धान रोपेर फर्किने भनेको मन्त्रालयले कृषिमा गम्भीर छ भन्ने अनुभूति गराउनु पनि हो । साथै, कृषिमा सकारात्मक हौसला प्रदान गर्ने प्रचारप्रसार गर्न पनि खोजिएको हो । अहिले मुलुकको कृषिको अवस्था कस्तो पाउनुहुन्छ ? विगतभन्दा अहिले धान उत्पादनमा वृद्धि आएको छ । धान उत्पादन अहिले करिब ४ दशमलव ३३ प्रतिशतले बढी वृद्धि भएको छ भने गत चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । वर्तमान अवस्थामा १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर जमिनमा धान उत्पादन गर्दै आएका छौं । त्यसैगरी ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान उत्पादन भइहरको छ । अब हामीलाई लगभग पाँच लाख ८० हजार मेट्रिक टन चामल अपुग भएकाले आयात भइरहेको छ । यो अपुग चामलको पूर्ति गर्नको लागि मन्त्रालयले चैते धान उत्पादनमा जोड दिन थालेको छ । हाइब्रेड जातका धानका बीउ खोज्ने र पानी नहुने खेतमा सिँचाइ उपलब्ध गराउने र जहाँ सुक्खा छ, त्यहाँ पनि खेती गर्ने उपयुक्त वातावरण मिलाइदिने योजना छ । त्यस्तो कृषि क्षेत्र कहाँ कहाँ छन्, अनुसन्धान गरिरहेका छौँ । सरकारबाट कृषकलाई उपलब्ध गराएको अनुदान वा अन्य सुविधाबाट अहिले पनि वास्तविक किसान वञ्चित छन् । यसबारे मन्त्रालयले कसरी सोचेको छ ? सरकारले कृषि क्षेत्रको विकासका लागि किसान लक्षित विभिन्न अनुदान र सुविधा प्रदान गरेको छ तर त्यस्ता अनुदान वा सुविधाहरु वास्तविक किसानको पहुँचमा नपुगेको भन्ने सरकारलाई पनि लागेको छ । यस्तो हुनुमा वास्तविक किसानको पहिचान नहुनाले समस्या निम्त्याएको हो । को किसान हो र उसले कस्तो खाले अनुदान पाउनुपर्छ भन्ने खोजी गर्नु जरुरी छ । मन्त्रालयले यस विषयमा पनि गृहकार्य सुरु गर्दैछ । मन्त्रालयले वास्तविक किसानको पहिचान कसरी गर्दैछ त ? वास्तविक किसान को हुन् रु भन्ने पहिचान नहुँदासम्म अनुदान सदुपयोग हुन सक्दैन भन्ने मैले अनुभव गरेको छु । मन्त्रालयले केही महिनाभित्रै प्रत्येक वास्तविक किसानको खोजी गर्छ र उनीहरुलाई किसान कार्ड वितरण गर्ने गृहकार्य गरिरहेको छ । किसान कार्ड पाएपछि उनीहरुले पाउनुपर्ने अधिकार निर्धक्करुपमा पाउन सक्छन् र दुरुपयोग हुने सम्भावना निकै कम हुन्छ । हरेक पालिकामा कृषि मन्त्रालयको तर्फबाट सबैभन्दा द्रुत गतिमा अनलाइनमार्फत किसान रकेर्ड वितरण गरिनेछ । आगामी नौ महिनाभित्र किसानको हातहातमा कार्ड पुर्‍याउने हाम्रो लक्ष्य छ । कृषिमा आमूल परिवर्तन ल्याउने तपाईको योजनालाई साकार पार्ने स्रोत पर्याप्त छ ? कृषिमा मल, सिँचाइ, बीउ, अनुदानलगायतको समस्या किसानले भोग्दै आएका छन् । हामीसँग पर्याप्त बजेट छैन । मन्त्रालयको कूल बजेटको ५० प्रतिशत रकमअर्थात् रु ३० अर्ब त रासायनिक मलकै लागि छुट्याइएको छ । केही प्रतिशत रकम प्रशासन चलाउन जान्छ भने बाँकी रु १२ अर्ब बजेटभित्र रहेर मन्त्रालयले किसान लक्षित कार्यक्रम गर्नुपर्नेछ । यो पर्याप्त होइन । त्यसैले प्रचारप्रसार, तालिम, अभिमुखीकरणजस्तो कार्य गर्न बजेट सीमित छ । कृषि मन्त्रालयलाई सरकारले नै कम महत्वको रुपमा लिएको छ । आम जनताको पेट पाल्ने कृषि मन्त्रालय बजेटमा खुम्चिनु न्यायोचित होइन तर पनि जे जति स्रोत छ, मन्त्रालयले उपलब्धिमूलक कार्य सम्पादन गर्न सक्रिय छ । स्रोत कम हुँदा मन्त्रालयका कस्ता काम बढी प्रभावित छन् ? कृषि मन्त्रालयको जिम्मेवारी खेती लगाउने, उत्पादन गर्ने, बजार व्यवस्थापन गर्नेदेखि किसानलाई प्रोत्साहन गर्नेलगायत थुप्रै जिम्मेवारी बहन गर्नुपर्छ । उत्पादित वस्तुसमेत हामीले सुरक्षित राख्नुपर्ने दायित्व हुन्छ । किसानलाई राहत हुने खालका प्रोत्साहनमूलक कार्यक्रम गर्नुपर्छ । जस्तैः महिला किसान कृषिमा बढी सक्रिय छन् पुरुषको तुलनामा । मैले देखेको छु बच्चा बोकेर खेती गरेका महिला छन् । यस्ता महिलामा किसान लक्षित कार्यक्रम ल्याउनुपर्नेछ । बजेट कम हुँदा यी प्रोत्साहन स्वरूपका कार्यक्रम ओझेलमा पर्छन् । महिला किसानका लागि के गर्दै हुनुहुन्छ ? सबैभन्दा पहिला त हाम्रो कृषिमा अधिकांश किसान महिला हुनुहुन्छ । पुरुषको तुलनामा महिलाले खेती सम्हाल्दै आएका छन् । मैले देखेको छु, बच्चा बोकेर खेतीपाती धान्नुभएका महिला किसानको दैनिकी रहेको छ । उहाँहरूले घर मात्रै होइन, अन्नतः कृषि उत्पादनमा समेत योगदान दिदै आउनुभएको छ । विडम्बना हामीले त्यसको मूल्याङ्कन गर्न सकेका छैनौँ । कृषिका योजना जति पनि आउँछन् त्यसमा महिला कृषक धेरै भएकै कारणले गर्दा उहाँहरु स्वभाविक रुपले लाभान्वित हुनुहुन्छ भन्ने विश्वास लिएको छु । अर्को कुरा किसान कार्ड बनाएपछि महिला किसान कति छन् भन्ने तथ्यांक प्राप्त हुन्छ । त्यसैअनुरुप मन्त्रालयले आवश्यकताका आधारमा महिला किसानलाई प्रोत्साहन गर्ने खालका योजना अघि बढाउन सहयोग पुग्नेछ । मेरो विचारमा ५० प्रतिशतभन्दा बढी महिला कृषिमा सक्रिय भई लाग्नुभएको छ । उहाँहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेछ । यससम्बन्धी थुप्रै कार्य तालिका छन् जुन कार्ययोजनामै छन् । किसानलाई प्रदान गरिने अनुदानलाई प्रभावकारी कसरी बनाउने सोच्नुभएको छ ? निरीक्षर किसानलाई राहत पुगोस् भनेर ग्रामीण उद्यम आर्थिक कार्यक्रम कार्यान्वयनमा रहेको छ । त्यो कार्यक्रममार्फत समूहद्वारा युवा महिला, वृद्धलाई आत्मनिर्भर गराउने कार्यहरू भइहेको छ । त्यो कार्यक्रम देशभर चलिरहको छ । हाल देशका छवटा प्रदेशमा लागू छ भने अर्को प्रधानमन्त्री कृषि परियोजना पनि चलिरहेको छ । यसले अनुगमन गरेर उपयुक्त किसानलाई अनुदान दिन्छ । यो कार्यक्रम कृषि मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेको छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दाराख्दै पनि समग्रह कृषि उत्पादन सन्तोषजनक छैन । यसलाई कसरी दिनुभएको छ ? मेरो बुझाइमा हाम्रो मल वितरण प्रणाली सुधार गर्न जरुरी छ । कार्यविधिलाई नयाँ ढाँचामा ढाल्नुपर्छ भनेर जोड गरिरहेको छु । मल अभाव होइन, वितरणमा जटिलता देखेको छु । किसानलाई सहजीकरण गर्न सरकार सधैँ सकारात्मक छ । पन्धौँ योजनामा पनि कृषि क्षेत्रको विकासका लागि थुप्रै कार्यक्रम योजनाहरु समावेश गरिएका छन् । किसानलाई सहजीकरण गर्न सरकारको सकारात्मक दिशा कस्ता रहेछन् ? हरेक प्रदेशमा मल कारखाना सञ्चालन गर्न थालिएको छ । स्थानीयस्तरमा गड्यौला मल उद्योग सञ्चालन पनि भइरहेको छ । कम्पोष्ट मल उत्पादन गर्न मन्त्रालयले प्रोत्साहन गर्दैछ । यसको लागि बजेट छुट्याउने प्रयास भइरहेको छ । मल कारखाना हामीले खोल्ने होइन, उद्योग मन्त्रालयबाट हुन्छ । कृषि मन्त्रालयले उत्पादनमा मात्रै जोड दिने हो । कृषि बीमा, मल, किसानलाई प्रोत्साहन अनुदानमा प्रोत्साहन गर्नुपर्छ । यसअन्तर्गत मन्त्रालयले कृषि बीमा र पशु बीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ । सरकारले कृषिमा लगानी वर्ष घोषणा गरेको छ । यसमा युवा, महिलालाई विशेष केन्द्रित हुने गरी हामी काम गर्छौ । अहिले पनि युरिया मलमा ७०, डिएपीमा ५५ प्रतिशत पोटासमा ४७ प्रतिशतको हाराहारी अनुदान गइहरेको छ । यो अनुदान हचुवाको भरमा वितरण भइरहेको छ । वास्तविक किसानको पहिचान हुन नसक्दा नै राज्यले सोचे अनुकूल कृषिमा परिणाम आउन नसकेको भन्ने मेरो बुझाइ छ । तसर्थ, अब मन्त्रालयले अनुदान किसानकै घरमा पुर्याउने कार्ययोजनामा परेको छ । अबको दश वर्षमा कृषि क्षेत्रमा लक्ष्यअनुरुप परिणाम आउँछ भन्ने विश्वास राखेकी छु । रासस

नेपाल टेलिकमले हटायो नक्सालको कपर प्रविधि, एफटीटीएच नेटवर्कमा स्तरोन्नति

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्णरूपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ । बिहीबार दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरिन् । सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समय अनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताउँदै नेपाल टेलिकमप्रति सेवाग्राहीहरुमा भएको सकारात्मक धारणालाई चीरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरूले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्ने बताए । दूरसञ्चार कार्यालय, नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको बताए । एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रूपमा भइरहको छ र केही समयपछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।