गण्डकी प्रदेशमा खेतीयोग्य जमिन नासिँदै
कास्की । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको उनको भनाइ छ । ‘अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिन्छ, बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ,’ उनले भने, ‘अहिले रोपाइँका लागि मलको पनि अभाव छैन, वर्षात् पनि भइरहेकाले किसानलाई राहत पुगेको छ ।’ निर्देशनालयले हरेक आइतबार रोपाइँको जिल्लागत तथ्यांक संकलन गरेर केन्द्रमा पठाउने गरेको छ । प्रदेशको कुल चार लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिए । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । निर्देशनालयका प्रमुख रेग्मीले धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको बताए । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । निर्देशनालयको तथ्यांकअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूलाठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा नासिँदै गएको छ ।
धान रोप्दै कोशीका मुख्यमन्त्री कार्कीले भने- युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औं राष्ट्रिय धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको उनको भनाइ थियो ।मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य शुरू गरेको बताए । उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । ुजलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ,ु उनले भने । सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बिउ उत्पादन वृद्धि हुने विचार राखे । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका थिए । रासस
‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पहुना भित्र्याउन सकेन’
वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन । यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटर द्ुरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जंगली जनावरको अवलोकन गर्न सक्नेछन् । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिदस्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् । सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकिएको बताए । ‘सुनाखरी घरबास मधेस प्रदेशकै पहिलो घरबास हो, तर पर्याप्त प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पहुना भित्र्याउन सकिएको छैन,’ उनले भने, ‘यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ, यहाँ स्थानीयस्तरमा उत्पादन हुने परिकारलाई राम्रोसँग ‘ब्रान्डिङ’ गर्न सकिरहेका छैनौँ ।’ घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले मधेस प्रदेशको सानका रूपमा रहेको पहिलो घरबासलाई प्रभावकारी ढंगले प्रचारप्रसार तथा ब्रान्डिङ गर्नुपर्ने बताए । ‘होमस्टेका गतिविधिलाई अहिलेका आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो प्रचारप्रसार गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘घरबाससँग विभिन्न ठाउँमा सचेतनामूलक ब्यानर तथा सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न सकिन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्न जरूरी छ ।’ कार्यालयले शुक्रबार बजार विस्तारसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेको थियो । प्रमुख सिंहले कार्यालयले सामुदायिकरूपमा घरबास सञ्चालन गर्दै आइरहेका उद्यमीलाई आगामी दिनमा लेखा तथा बजारीकरण सम्बन्धित जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम अघि बढाइने बताए । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले समितिले सुरुवाती चरणमा ३०÷३० हजार रकम ऋण दिएर सुरुवात भएको सामुदायिक घरबासले पूर्वाधार निर्माणमा धेरै फेरिएको बताए । ‘सुनाखरी सामुदायिक घरबास निकै कष्टका साथमा सुरुवात भएको थियो, तर अहिले घरबासका सामुदायिक भवन तयार भएर सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘१५ घरबासमा सञ्चालनमा रहेका छन्, केही वर्षअघि प्रदेश सरकारले घरबास पूर्वाधार सुधार गर्न बजेट उपलब्ध गराएको थियो ।’ मध्यवर्ती सामुदायिक घरबासका सञ्चालक ज्योति लामाले स्थानीयस्तरमा पाइने खानेकुरालाई प्राथमिकता राख्दै आइरहेको बताए । ‘यहाँ उत्पादन हुने मकैको विशेष परिकार पर्यटकले निकै रूचाएर खाइरहनुभएको छ,’ उनले भने, ‘लोकल कुखुरा र मकैको ढिँडाको पनि पहुनाले धेरै रुचाइरहनुभएको छ ।’ सञ्चालक लामाले घरबास मध्यमस्तरमा चल्दा पनि आफ्नो जीविकोपार्जन गर्न धेरै सहयोग पुगेको बताए । ‘हामीले निकै सस्तो र सुलभ दरमा घरबासले पाहुनाको सेवा सत्कार गर्दै आइरहेका छौँ,’ उनले भने, ‘समूहमा पाहुना आउँदा तामाङ सामुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छौँ ।’ घरबासका अध्यक्ष पौडेलले मधेस प्रदेशमा कानुन अभावले घरबास नवीकरण गर्न पनि पनि समस्या भोगिरहेको बताए । ‘विगतमा घरबास संघीय सरकार मातहत दर्ता तथा नवीकरण हुने गथ्र्यो, तर पर्यटन कार्यालय प्रदेश सरकार मातहत कार्यालयमा गाभिएसँगै अहिले घरबास दर्ता र नवीकरणसँग सम्बन्धित कानुनको अभाव देखिएको छ,’ उनले भने, ‘कानुन अभावले दुई वर्षदेखि नयाँ दर्ता र नवीकरणको काम रोकिरहेको छ ।’ रासस
एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरूले थाले काम
काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम थालेका छन् । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन आरआरटीहरूले काम गर्नेछन् । आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । असार १२ गते बुधबार कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा अवरोध सृजना भएको थियो । तर, एनसेलको आरआरटी टोलीले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा डलेर विद्युत् आपूर्तिमा असर परेको थियो । आरआरटीहरूलाई विशेष रूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यअनुरूप आरआरटीहरू गठन गरिएको हो । अहिलेको अवस्थामा विशेष गरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गई केही समयको लागि सेवा अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथाशक्य चाँडो सेवा पुनः सञ्चालनमा ल्याउन र्यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ । यसैगरी, एनसेलले विपद् पूर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिने कम्पनीले जनाएको छ ।
कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् । एक्काइसौं राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ नुवाकोटमा गरेको रोपाइँमा उनले यस्तो बताएका हुन् । जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । ‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ,’ उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन्, यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’ किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गरे । ‘किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्,’ उनले भने, ‘गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।’ बिउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।
धरानको कृषि बजारमा खसीबोकाको बिक्री बढ्दै, मनग्य आम्दानी गर्दै किसान
सुनसरी । धरान उपमहानगरपालिका(१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी र बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् । मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आएका छन्। ‘केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु, यहाँ पहिलोपटक आएकाले चार वटा खसी मात्र ल्याएको छु,’ उनले भने, ‘साना खसी रहेकाले जोडीको १५ हजार रूपैयाँमा बिक्री गरिरहेको छु ।’ उनका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् । धनकुटा सागुडीगडी–७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाए । खसी, बोका बिक्रीबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । पशुपालन पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताए। ‘घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु। घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छु’ उनले भने । मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउँछन् । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उनले जानकारी दिए । ‘यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु, यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ,’ उनले भने । काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाए । उनका अनुसार सबै खर्च कटाएर मासिक ७० हजार रूपैयाँसम्म नाफा हुने गरेको छ । बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा दुई अर्ब रुपैयाँको कारोबार भएको छ । व्यवस्थापक अध्यक्ष भट्टराईले भने, ‘पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ, वार्षिक १ लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।’ धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उनको भनाइ छ। यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उनले जानकारी दिए । रासस
श्रीलंकामा महँगियो खाद्यान्न
कोलम्बो । संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलंकाले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्यांक विभागको यो तथ्यांक सार्वजनिक भएको हो । खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलंकाले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक संकट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो । श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ । देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् । आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत बढी
महोत्तरी । राष्ट्रिय जनगणना-२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो संख्या ३७.२ प्रतिशत हुन्छ । १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको संख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए । मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै बाक्लै रहेका उनको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए । बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् । मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।