काठमाडौं । बर्खा मौसम सुरु भएपछि नेपाल घुम्न आउने पर्यटक घटेका छन् । सामान्यतया बर्खा मौसममा पर्यटकहरू घुम्न त्यति रुचि पनि देखाउँदैनन् ।
सन् २०२४ को जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटकले नेपाल घुमेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जुन महिनामा जम्मा ७६ हजार ७ सय ३६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
यससँगै सन् २०२४ को ६ महिनामा नेपाल घुम्ने पर्यटककाे संख्या ५ लाख ८३ हजार १६ पुगेकाे छ ।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को जुनमा ७२ हजार २ सय ५० जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सोहि अवधिमा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८ सय ३५ भारतीय पर्यटकले नेपाल घुमेका छन् ।
त्यस्तै, अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट ३ हजार ८ सय ५७, बेलायतबाट १ हजार ९ सय ६९, अष्ट्रेलियाबाट एक हजार ५ सय ८९ पर्यटक भित्रिएका छन् ।
