इजिप्ट र ईयूबीच ३३ अर्ब डलरको लगानी सम्झौता
काठमाडौं । दुई दिने इजिप्ट-युरोपियन लगानी सम्मेलन आइतबार कायरोमा सम्पन्न भएको छ । दुवै पक्षले दशौं अर्ब अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । कायरोमा इजिप्ट-ईयू लगानी सम्मेलनको छेउमा इजिप्टको सार्वभौम कोष र स्वेज नहर आर्थिक क्षेत्र (एससीजोन) ले युरोपेली र अन्य विकासकर्ताहरूसँग हरित अमोनियाको क्षेत्रमा करिब ३३ अर्ब डलर बराबरको चार सम्झौतामा हस्ताक्षर गरेकाे इजिप्टको मन्त्रिपरिषद्ले बताएको छ । ११ अर्ब डलरको पहिलो सम्झौता जर्मन कम्पनीसँग र दोस्रोमा ४ अर्ब २५ करोड डलरको भारतको ओसियर इनर्जीसँग हस्ताक्षर भएको थियो । ३ अर्ब ४६ करोड डलर बराबरको तेस्रो सम्झौता इजिप्टको अरेबिया र फ्रान्सेली कम्पनी भोल्टालियासँग र चौथोमा १४ अर्ब डलरको बेलायतको बीपी, संयुक्त अरब इमिरेट्सको मस्दार, इजिप्टको हसन अल्लाम युटिलिटीजसँग हस्ताक्षर भएको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्मेलनको उद्घाटनमा आफ्नो भाषणमा युरोपेली कम्पनीहरूले इजिप्टका साझेदारहरूसँग २० वटा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताए ।
२ मिनटेमै सेयर बजार ‘हल्ट’, नयाँ गठबन्धनसँग लगानीकर्ता उत्साहित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्ने भएपछि नेप्से परिसूचक ४ प्रतिशत बढेर केही समयका लागि बन्द भएको हो । नेप्से सूचक ४ प्रतिशत बढ्दा पहिलो सर्किटमा २० मिनेटको लागि कारोबार बन्द हुने व्यवस्था छ । बजार खुलेको २ मिनटेमा ८२.४८ अंकले बढेको हो । काँग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । २ मिनटेको अवधिमा २२२ कम्पनीको २ लाख २४ हजार ६६ कित्ता सेयर १ हजार ४९९ पटक खरिदबिक्री हुँदा ८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । साथै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सत्ता सहकार्य गर्न प्रचण्डलाई ओलीको आग्रह, के भने प्रचण्डले ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता सहकार्य गर्न प्रस्ताव गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका ओलीले यस्तो प्रस्ताव गरेका हुन् । ओलीले प्रचण्डसँग नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे जानकारी पनि गराएका छन् । एमाले र काँग्रेसबीच भागबण्डा मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न प्रचण्डलाई आग्रह गरेका हुन् । एमाले र काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको बुझिएको छ । पहिलो चरणमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बुझिएको हो । प्रचण्डले भने सहकार्य गर्ने विषयमा ओलीलाई कुनै जानकारी गराएका छैनन् । तर, उनले तत्काल राजीनामा दिने योजना नबनाएको स्रोतको दाबी छ ।
देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न कांग्रेस-एमालेको नयाँ सरकार गठन हुन्छ : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए । आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको जानकारी दिए । उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताए । दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए । समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्ने जानकारी दिए । ‘संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसावले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’ उनले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुगेको भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।
प्रिओपन सेसनमा ३२.४४ अंक बढ्यो नेप्से सूचक
काठमाडौं । नयाँ सरकारको गठन प्रक्रिया अघि बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक प्रिओपन सेसनमा ३२.४४ अंकले बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्ने लगभग पक्कापक्की भएपछि सेयर बजारको प्रिओपन सेसनमा उचाल आएको हो । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । प्रिओपनमा १७८ कम्पनीको ६५ हजार ३२२ कित्ता सेयर ६७३ पटक खरिदबिक्री हुँदा २ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आईरहेको कम्पनीले जनाएको छ ।
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
ढोरपाटन । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । उनले भने, ‘अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।’ यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।
व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ । नाट्टाको प्रतिनिधिमण्डलले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानुनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो । जवाफमा श्रममन्त्री अर्यालले यस्तो प्रक्तिका घटना निराकरणका लागी प्रतिबद्धता व्यक्त गरे । उनले वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँगं सोधपुछ, छानविन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दिनुभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियालले जानकारी दिए । मन्त्री अर्यालले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरुले आधारभूत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिएको पनि थपलियाले जानकारी दिए । अध्यक्ष थपलियाले विभागले हवाई टिकट बिक्रेतामाथि टिकट बिक्री गरेकै भरमा विना कुनै छानबिन, स्पष्ट अध्ययन नगरी व्यवसायीलाई त्रसित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए । भेटका क्रममा नाट्टाको टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रवर्द्धनका लागि सात बुँदे सुझाव पनि पेश गरेको थियो ।