विकासन्युज

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख गरेका छन् ।

एसईई पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि सरकारले पुनः परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ। परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन नपाउने जनाएको छ। पूरक परीक्षाको बोर्डको वेबसाइट www.see.gov.np बाट आवेदन दिन सक्नेछन् । साथै, ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने बोर्डले जनाएको छ। बोर्डले २०८० चैत १५ गतेदेखि संचालन गरेको एसईई परीक्षाको नतिजा गत बिहीबार सार्वजनिक गरेको थियो । यस वर्षको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थियो ।  तालिका

ड्रागन फल खेती गर्ने बढ्दै, एक पटक लगानी गर्दा २५ वर्षसम्म आम्दानी गर्न सकिने

बेलबारी । ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ । प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९.२२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय छन् । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका छन् । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहेका छन् । खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उनले बताए । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिए । बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उनले बताए । उनले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गरेका थिए । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उनको भनाइ छ । कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लागेका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताउँछन् । तत्कालीन समयमा ठूलो जोखिम लिएर एक  करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेको बताउँछन् । उनको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिन्छन् । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाएका छन् । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उनको भनाइ छ । एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उनले बताए । सुरु थोकमा प्रतिकेज तीन सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी तीन सय रुपैयाँका दरले बिक्री भइरहेको उनको भनाइ छ । राईले भने, ‘ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ’, उनले भने । मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । रासस

कामना सेवा विकासले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले यस्ताे सेयरमा मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र बिक्री गरिने निर्णय गरेकाे बैंकले जनाएको छ ।

एक महिना सरकारमै बस्ने प्रचण्डको रणनीति, विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन भए पनि राजीनामा नदिएर संसदको सामना गर्ने योजना उनले बनाएका हुन् । आज बिहान नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले राजीनामा नदिने जानकारी गराएका हुन् । उनले अझैं पनि एमाले र काँग्रेससँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएका छन् । उनले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने तयारी गरेका हुन् । यस्तै, माओवादीले मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने निष्कर्ष पनि निकालेको छ ।

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म एक सय १८ महिला र दुईजना बालिकाले सेवा पाएका हुन् । सेफ हाउसमार्फत हिंसाजन्य घटनामा परेका महिला र बालिकालाई आश्रय दिई न्यायका लागि पहल हुँदै आएको छ । सेफ हाउस सञ्चालक समितिका अध्यक्ष पुष्पा केसीका अनुसार घरेलु हिंसामा परेका ६५, जबर्जस्ती करणीका दुई, बहुविवाहका तीन, अलपत्र परेका १२, गालिगलौज र लेनदेनका २४ र अंशसम्बन्धी विवादका दुईजनालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ । ‘सेफ हाउसमा मद्दत माग्न आएका हिंसापीडित महिला र पीडकलाई प्रहरीको रोहवरमा छलफल गरी मेलमिलाप पद्धतिबाट मिलापत्र गराउने कार्य गरिएको छ’, उनले भने, ‘मिलापत्र गर्न नमिल्ने विवादलाई प्रहरीको सहयोगमा न्यायका लागि अदालतसम्म पुर्याएर पीडित महिलालाई न्याय दिलाउने कार्य गरेका छौँ ।’ हिंसाजन्य घटनामा परेर मानसिक तनावमा रहेका २४ जना महिलालाई मनोविमर्श दिने कार्य गरिएको उनले उल्लेख गरे । इलाका प्रहरी कार्यालय झलारीमा महिलालाई राख्ने ठाउँ अभाव हुँदा सेफ हाउसमै ल्याएर राख्दै आइएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले घरेलु हिंसामा परी अलपत्र परेका महिलालाई न्याय नपाउँदासम्म आश्रय दिने स्थलका रूपमा सेफ हाउस रहेको बताए । ‘सेफ हाउसमा अल्पकालीन रूपमा पीडित महिलालाई एक हप्तासम्म राख्न सकिने व्यवस्था छ’, उनले भने, ‘त्यस्ता महिलालाई खान, बस्न, सामान्य उपचारको व्यवस्था सेफ हाउसले गर्दै आएको छ ।’ नगरपालिकाले विनियोजन गर्ने बजेट थोरै हुँदा सेफ हाउस बन्द हुने अवस्थामा पुगेको सेफ हाउस सञ्चालक समितिका सचिव मधु बोहराले बताए । ‘बजेटकै कारण सेफ हाउस बन्द हुनबाट जोगाउन नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘पीडित महिलाको आश्रयस्थल बन्द हुनबाट जोगाउन आवश्यक छ ।’ सेफ हाउसका कानुनी सल्लाहकार उद्धवराज भट्टले सेफ हाउस सञ्चालनको सम्पूर्ण जिम्मा नगरपालिकाले लिएर सेफ हाउस सहज रूपमा सञ्चालन गर्नुपर्ने बताए । नगरउपप्रमुख कल्पना पन्तले सेफ हाउस बन्द नहुने दाबी गर्दै आवश्यक बजेटका लागि पहल भइरहेको बताए । स्वास्थ्योपचार र औषधिका लागि स्वास्थ्य शाखासँग समन्वय गरी व्यवस्था गरिने उनको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले सेफ हाउसका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । रासस

एमाले र काँग्रेसको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको छ । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन, यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि नेता सन्तोष परियारले भने ।