विकासन्युज

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो। संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नपर्ने संस्थाले जनाएको छ । लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्न सक्नेछन । संस्थाका अनुसार तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको नवीकरण शुल्क बुझाउन खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिज् हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका खातावालाहरूलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो । डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाहरूले आगामी साउन १५ गतेभित्र एनएमबि बैंक वा एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट वा आइएमई पे, खल्ती, कनेक्ट आईपीएस र प्रभु पेमार्फत भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुनेछ ।

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए। योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए । उनले भने, ‘यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ ।’ कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताए । हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ । ‘म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ,’ योजना प्रमुख मगरले भने । म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए । ‘नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ,’ उनले भने, ‘छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्ने नै हो ।’ सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उनले बताए । नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमारा, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताए । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उनले बताए । । बेस तयार भएको काम सके यात्रुलाई छ(सात किलोमिटर थप यात्रामा सहज हुने उनले बताए । रासस

ठेउलेखोलाको बाढीले सडक बगायो, कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा करिडोर अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन बाटोमै रोकिएका बताए । वर्षा रोकिएपछि आयोजनाले खुलाउने प्रयास गर्ने उनले बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ । खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २७ गतेदेखि प्रतिकित्ता ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको जनाएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। साउन १० गते बैंकिङ समयपछि यो आईपीओ निष्कासन बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।

नेशनल फण्डको हकप्रद सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि हकप्रद सेयर बिक्री खुला गरेकाे छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद सेयर बिक्री खुला गरेकाे हो । कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद बिक्री खुला गरेकाे छ । कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद सेयर खरिद गर्न इच्छुकले साउन २२ गते कार्यालय समयभित्र ललितपुर कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु सक्नेछन् ।

यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । देशभरि साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै, दोलखा र महोत्तरीमा पनि पानी परिरहेको छ । कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले त्यहाँ उच्च सतर्कता अपनाउन महाशााखले अनुरोध गरेको छ । यस्तै लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले खुदी खोला लगायत यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । आज पनि बागमती र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा कही भारी र कही अति भारी वर्षा हुने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।