एक लाख तिरेर भाडाका चोर, बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट
काठमाडौं । २०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए । सो पसलका व्यवस्थापक विश्वकर्मा र गौतम सुनका गर गहना बनाउन व्यस्त थिए । त्यतिबेलै पसल अगाडिको सडकमा एउटा मोटरसाइकल रोकियो । कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाईकल सडक छेउमै पार्किङ्ग भयाे । र, त्यो मोटरसाइकलमा सवार दुई जना छेउकै घरको माथिल्लो तलामा रहेको बिनोद सुनचाँदी पसलमा प्रवेश गरे । त्यो अज्ञात समूहको मुखमा मुखौरो । हातमा खुकुरी र चक्कु । विजय विश्वकर्मा र बापिधर गौतम डराए । अज्ञात दुई व्यक्तिले धारिलो खुकरी र चक्कु घाँटीमा राख्दै पसलभित्र राखिएको पैसा र गरगहना दिन धम्की दिए । डर त्रासले विजय र बापिधरले प्रतिकार गरेनन् । उनीहरूले पसलमा रहेको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँबराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनको गरगहना लुटेर भागे । लगत्तै विजय र बापिधरले पसलका सञ्चालक बिनोद सुनारलाई खबर गरे । बिनाेद पनि केही समयपछि त्यहीँ पुगे । उनीहरू मिलेर जिल्ला प्रहरी कार्यालय चितवनलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्यो । चितवन प्रहरीले सोही दिनदेखि अनुसन्धान थाल्यो । प्रहरीले लामो अनुसन्धान गर्यो । चोरको खोजी गर्यो । तर, भेटाएन । त्यसपछि स्थानीय प्रहरीले केन्द्रसँग सहयोग माग्यो । नेपाल प्रहरीको हेड क्वाटरले केन्द्रीय अनुसन्धान ब्यूराेलाई सहयाेगका लागि पत्र पठायो । सीआईबीले इन्स्पेक्टर शान्ता लामाको नेतृत्वमा टोली अनुसन्धानमा खटायो । सीआईबीले अनुसन्धान गर्दा त्यो पसल लुट्ने तिनै पसलका सञ्चालक बिनोद सुनार नै रहेको खुलासा भयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सञ्चालक सुनारले यो सबै योजनाबद्ध रुपमा गरेका रहेछन् । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनले पसलको बीमा गरेका रहेछन्, सो बीमा असुल्नका लागि सो योजना बुनेको अनुसन्धानबाट खुलेको बोगटी बताउँछन् । ‘बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएकोमा उक्त कार्यमा संलग्न पाँच जना ब्यक्तिहरू पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-२०, चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भनेको छ । प्रवक्ता बोगटीले पसल सञ्चालक सुनारले नै दुई जना (पूर्ण बहादुुर र पवन कुमार)लाई ५०/५० हजार रुपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुलेको बताए । बोगटीका अनुसार पसल घाटामा गएपछि बीमा गरेको रकम असुल्नका लागि यो योजना गरेका थिए । उनले पसलबाट झण्डै तीन केजी सुन र ३५ केजी चाँदी लुटपाट गराएको अनुसन्धानबाट खुलेकाे जानकारी दिए । सीआईबीका अनुसार पक्राउ पर्नेमा बिनोद सुन चाँदी पसलका सञ्चालक बिनोद सुनार (योजनाकार), सो पसलका मेनेजर विजय विश्वकर्मा, पूर्ण बहादुर बिश्वकर्मा, पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने अन्जना पुडासैनी रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरु दमौली र नवलपरासी लगायतका ठाउँहरुबाट पक्राउ परेको बोगटीले जानकारी दिए ।
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ मा सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै रिट दायर गरेका हुन् । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभाशं पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २३औं र २४औं वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ । मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशले लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदनमा छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी आव २०७९/८० को लागि लेखापरीक्षक एसएआर एसाेसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । सभाले आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारण सभाले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसका साथै सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश दिएकाे हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ ।
सुरेश अधिकारी प्रतिनिधि सभा सचिव नियुक्त
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घरजग्गा कारोबारको हब बने धनगढी, पोखरा र विराटनगर
काठमाडाैं । पछिल्लो समय काठमाडौं उपत्यका बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबारले तीव्रता पाउन थालेको छ । कोरोना महामारीपछि सुस्ताएको अर्थतन्त्रले सिथिल बनेको घरजग्गा कारोबार अहिले पुनः पुरानै लयमा फर्कने प्रयास गरिरहेको छ । पछिल्ला तथ्यांकहरूले काठमाडौं बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबार बढ्न थालेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनमा विभिन्न प्रदेशका राजधानीमा घरजग्गा कारोबार देखिएको छ । पछिल्लो समय मुख्य गरेर सुदूरपश्चिमको कैलाली, गण्डकीको पोखरा र कोसी प्रदेशको विराटनगर घरजग्गा कारोबारको केन्द्र बनिरहेका छन् । तथ्यांक ती ठाउँमा घरजग्गा कारोबार बढेको देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश आर्थिक गतिविधि अर्धवार्षिक प्रतिवेदनका अनुसार सुदूरपश्चिम प्रदेशमा समीक्षा अवधिमा समग्र घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा सो संख्या ३८.९५ प्रतिशतले घटेको थियो । यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ३.३५ प्रतिशतले वृद्धि भई ३१ करोड ३६ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९.४२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १४.७७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या २७.७३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ५२७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा घर/भवन नक्सा पास भएको छैन । समीक्षा अवधीमा कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशेन संख्या ६ हजार ९४० पुगेको छ । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १.९६ प्रतिशतले वृद्धि भई ५१९ पुगेको छ । गत अवधिमा त्यस्तो नक्सा पास संख्यामा २७.१८ प्रतिशतले कमी आएको थियो । त्यसैगरी, समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व गत अवधिको तुलनामा १०.३७ प्रतिशतले वृद्धि भई ११ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, समीक्षा अवधिमा गण्डकी प्रदेशमा रहेका महानगर/नगरपालिकाहरूबाट स्वीकृत घर/जग्गा रजिष्ट्रेशन संख्यामा २६.३९ प्रतिशतले वृद्धि भई १५ हजार ५ सय ८५ रहेको छ भने नक्सा पास संख्यामा ३४.७२ प्रतिशतले कमी आई ६ सय ९२ रहेको छ । घर जग्गा रजिष्ट्रेशन वापतको राजस्व गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई ७८ करोड ७५ लाख रुपैयाँ सङ्कलन भएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी घरजग्गा कारोबार कास्की पोखरामा भएको छ । मधेश प्रदेशमा समीक्षा अवधिमा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ३.२० प्रतिशतले वृद्धि भई ४४ हजार ६ सय ५२ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्यामा ५१.७२ प्रतिशतले वृद्धि भएकोथियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन राजस्वमा ०.००४ प्रतिशतले घट्न गइ ९६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन भएकोछ । गत वर्षको सोही अवधिमा यस्तो रकम ९६ करोड २५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा घर/भवन स्थायी नक्शा पास संख्या १०.२७ प्रतिशतले घटेर १ हजार ८ सय ३४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या २ हजार ४४ रहेको थियो । जग्गामा अधिक लगानी तथा कृषि योग्य जग्गाको कित्ताकाट भई रहेकोले जग्गाको वर्गीकरणपश्चात्मात्रै कित्ताकाट गर्ने भनी कित्ताकाटमा रोक लगाएकोले घरजग्गा रजिष्ट्रेशन संख्या तथा घरजग्गा रजिष्ट्रेशन राजस्वमा कमी आएको प्रतिवदनमा उल्लेख छ । कोसीमा समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५५.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन वापतको राजस्वमा १६.१ प्रतिशतले वृद्धि भई १ अर्ब १९ करोड रुपैयाँ राजस्व परिचालन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ राजस्व परिचालन भएको थियो । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या ६.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । कोसीको राजधानी विराटनगर हो । विराटनगर पनि घरजग्गा कारोबारीको नजरमा परेको सहर हो । गत वर्ष सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागु गरेपश्चात् ठूला क्षेत्रफल भएका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लागेको बन्देज समीक्षा अवधिमा खुल्ला गरेका कारणले घरजग्गा कारोबारमा वृद्धि भई घरजग्गा रजिष्ट्रेसन संख्या र राजस्व रकम दुवै बढेको प्रतिवेदनमा उल्लेख छ ।
ऋण लिएका ग्राहकलाई एनआईसी एशियाले ३५ प्रतिशतसम्म छुट दिने
काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । आइतबार बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याएको बताएको छ । बैंकका अनुसार २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आसार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिइने छ । साथै, साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैकले जनाएको छ । ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयका लागि १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्मका लागि २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिका लागि ३५ प्रतिशतसम्म ब्याज छुट दिने बैंकले जनाएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने जनाएको छ । बैंकको सूचनाअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी गरिने छ । बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले साउन ३ देखि २०८२ साउन ३ गतेसम्मका लागि उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ ।