काठमाडौं । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।
मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति
विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्शानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्शानी हुने देखिएको बताए । मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।
‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो, मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठूलो हानी नोक्शानी गरेको छ, हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ, ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ’, उनले भने ।
आगामी तीन महिनामा नेपालमा अत्याधिक वर्षा हुने
विज्ञ उप्रेतीले असारमा औषत भन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठूले क्षति हुने निश्चित रहेको जानकारी दिए ।
नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताए । मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई सचेत गराउन आवश्यक रहेको जानकारी दिए ।

‘मनसुनको पूर्वसन्ध्यामै ८ करोडको क्षति भयो भने बढी वर्षा हुने तीन महिनामा कति क्षति हुन्छ, अब आउने तीन महिना बढी जोखिमपूर्ण छ, हामी विकासमा काम गर्दैछौँ, नेपाल धनी देश होइन, भनेपछि हामीले २५ दिनमा ८ करोडको क्षति व्यहोर्नु भनेको हाम्रो लागि ठूलो क्षति हो, त्यो ८ करोडमा हामी अर्को विकासको योजनामा काम गर्नसक्थ्यौँ’, उनले भने ।
न्युनचापीय रेखा नेपाल नजिक, आइतबारसम्म भारी वर्षा हुने
विज्ञ उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपाउन आग्रह गरे । उनले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दीपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताए । भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको जानकारी दिए ।
‘पोखराको वरपर, सुदूरपश्चिममा दीपायलदेखि त्यो स्थानमा, काठमाडौं वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै भारी वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम वर्षा र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, जुन ठाउँमा भारी वर्षा हुन्छ, त्यो ठाउँको थ्रेसहोल्ड त्यहाँको भूबनावटले थेग्ने भन्दा बढी भयो भने त्यहाँ पहिरो जाने हुन्छ’, उनले भने ।
पानी पर्ने तरिकामा परिवर्तन भयो
विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पार्नी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरे । तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको बताए । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने जानकारी दिए ।
‘आगामी दिनमा पनि सिमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ, भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ, तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको छ, संवेदनशील क्षेत्रलाई जोगाउने कुरामा पनि बढी ध्यान दिनुपर्छ । साथै जुन ठाउँमा बढी पानी पर्दैछ, त्यो क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुन्छन्’, उनले भने ।
भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ
निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै उर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताए । भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।
‘एउटा ५ वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियटलाई ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउनसक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो, त्यसलाई अलिकति बाढीको जोखिम हुने क्षेत्र, बाढीको जोखिम हुने औषत रैथाने ज्ञानबाट पनि थाहा हुन्छ’, उनले भने ।
उनले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताए । बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिए ।