आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । साथै, सोही अवसरमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशीले नोभा हस्पिटलले आफना ग्राहकहरुलाई इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । गत असार १८ गते अदालतले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही मुद्दामा शुक्रबार बसेको न्यायाधीश मल्ल र ढकालको संयुक्त इजालासले नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो । सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अध्यक्ष छनोट समितिले पाँच जनामध्ये तीन जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए । तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।
बेलायतको लेबर पार्टीको संसदमा बहुमत, स्टारमर नयाँ प्रधानमन्त्री बन्ने
काठमाडौं । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ । कुनै पनि मिडिया आउटलेटले ३२६ सिटको सीमा पुगेको घोषणा गर्नु अघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनमा हार भएको स्वीकार गरेका थिए। बीबीसी, आइटीवी, र स्काई न्यूजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको सङ्ख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो । लेबर पार्टीले यो आम चुनाव जितेको बताउँदै नेता स्टार्मरलाई जीतका लागि बधाई दिएको सुनकले उल्लेख गरेका छन् । बेलायती जनताले गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उनले हानिको जिम्मेवारी लिने उल्लेख गरेका छन् । प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ । यसले स्टार्मरललाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ । स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा जनतालाई सम्बोधन गर्दै भने, ‘हामीले जित्यौँ । तपाईँले यसका लागि अभियान चलाउनुभयो, सङ्घर्ष गर्नुभयो, र जितको अवस्था आइपुगेकोले परिवर्तनको अनुभूति छिट्टै हुनेछ ।’ उनले भने, ‘बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विस्वास गरेका छन् र हामी उनीहरूको हितको लागि काम गर्न सक्छौँ ।’ नेता स्टार्मरले लेबरको जीतमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गरेका छन् ।
प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छन् । विद्यार्थीहरुलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क थियो । शुक्रबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिइन् । उनले खर्ब भन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि पटकपटक दोहोर्याइन् । ‘३० करोड भन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ अल्रेडी फङसनिङ अस्पताल छ, प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा संचालन गर्नेमा हामीले जोड दिनुपर्छ लागत १ खर्ब भन्दा बढी लाग्छ, प्रादेशिक अस्पताललाई हामीले मेडिकल प्रतिष्ठान बनाएपनि, मेडिकल कलेज बनाएपनि हाम्रा विद्यार्थीहरुले पढ्न पाउँछन्’, उनले भनिन् । मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर जाने कुरामा पनि सरकारले जोड दिने बताइन् ।
म्यान पावर व्यवसायीले गैरबैंकिङ च्यानलबाट वार्षिक २ खर्ब उठाइरहेका छन् : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयले विदेश जाने श्रमीकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने जानकारी दिए । नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरुले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए । विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि जानकारी दिए । ‘नेपालबाट विदेशिने तमाम नागरिकहरुको बारेमा हामीले सुक्ष्म तरिकाले अध्ययन गरेका छौँ, मेरो करिव १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ, मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरुले उठाइरहेको नेपाली नागरिकहरुसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्यांकमा पनि हामीले काम गरिरहेका छाैँ, उनले भने । मन्त्री अर्यालले श्रमीकहरुलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारीश्रमीकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।
सहरमा बास, गाउँकै खान्कीमा चाख
गलेश्वर । भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन । पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भनिन्, ‘सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जंगलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।’ लालकुमारीको असन्तोषी अभिव्यक्तिले सहरको सुविधा र गाउँको स्वादको प्रतिविम्ब झल्काएको छ । पैसा कमाएपछि र सहरमा बस्न सक्ने हौसियत बनाएपछि सुख सुविधाको खोजीमा गाउँ छोडेर सहर पस्नेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँहरु रित्ता हुँदै जान थालेका छन् । खेतबारी बाँझिदै र वनपाखा झ्यांगीदै गइरहेको अहिलेको अवस्थामा सहर पसेकाहरुको जिब्रोमा गाउँले अर्गानिक उत्पादनको स्वाद लिने चाहना भने बढ्दै गएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा बस्दै आएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी ७२ वर्षीया टीकाकुमारी थापा, मालिका गाउँपालिका–१ निस्कोट गाउँबाट १४ वर्षअघि बेनी झरेका भवहादुर पुन, देवीस्थानको रुन्माबाट झरेर दरबाङ बजारमा बस्दै आएका वीरबहादुर सिउथानी गाउँको अर्गानिक उत्पादन झिकाएर खाने गर्छन् । उनीहरु मात्रै होइन, गाउँ छोडेर सहर पसेका अधिकांश व्यक्तिको भान्छामा मौसमी गाउँले अर्गानिक खानेकुराहरु पाक्ने गर्दछ । उनीहरु भन्छन्, ‘सहरको बास भए पनि खान्कीमा भने गाउँले उत्पादनको चाख छ ।’ श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको दरबाङका व्यवसायी भरत सुवेदीले बताए । ‘पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा छ/सात जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबा–आमा मात्र भेटिन्छन्’, उनले भने, ‘घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।’ सुख र सुविधाको खोजी गर्दै सहरमा बसाइँ सरेका मान्छेहरुले गाउँको परम्परागत खान्कीलाई भने भुल्न सकेका छैनन् । ग्रामीण घरका अगेनामा पकाइने खान्की छोडेर सहर पसेकाहरु सहरका भव्य भवनका आधुनिक भान्छामा पकाइएका परिकारहरुमा गाउँले खान्कीको स्वाद खोज्न थालेपछि गाउँका खेतबारी, खोल्साखाल्सी र वन जंगलमा उत्पादन हुने अर्गानिक उत्पादनहरुको माग सहरमा बढ्दै जान थालेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘गाउँ छोडेर सहर पसेका मात्रै होइन, विभिन्न ठाउँहरुबाट म्याग्दी घुम्न आएका आन्तरिक पर्यटकहरुले समेत गाउँको अर्गानिक उत्पादन खोज्ने गरेका छन्’ अध्यक्ष श्रेष्ठले भने ‘म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँ उत्पादन हुने अर्गानिक खानेकुरा, तरकारी र फलफूलको बजारीकरणका लागि सदरमुकाम बेनी र ग्रामीण क्षेत्रमा समेत कोशेली घर सञ्चालन गरेर अर्गानिक उत्पादनहरुको खरिद विक्री हुने गरेको छ ।’ सदरमुकाम बेनीबजारमा मात्रै सातओटा अर्गानिक उत्पादनहरुको खरिद बिक्री हुने पसलहरु सञ्चालनमा छन् । त्यसैगरी पश्चिम म्याग्दीको दरबाङमा पनि अर्गानिक उत्पादनको माग बढ्दै गएपछि पसल सञ्चालन गर्नेहरु बढ्दै गएका दरबाङका होटल व्यवसायी अमृत सापकोटाले बताए । सहरको स्वादले मात्र सन्तुष्ट नहुने र गाउँले अर्गानिक उत्पादनको स्वाद बिर्सन नसकेका उपभोक्तालाई लक्षित गरी बजार र गाउँगाउँमा स्थानीय कृषि उत्पादन राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’ र ‘सौगात घर’ खोलिएका छन् । ती पसलहरुमा कृषकले फलाएका ससानो परिमाणका कृषि उपज जुटाएर बेच्न राखिन्छ । म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यान्न काठमाडौं, पोखरा, चितवनलगायतका देशभित्रका सहरमा मात्रै होइन, विदेशका भान्छाहरुमा समेत पुग्न थालेका बेनी कोशेली घरका सञ्चालक सुमन पौडेलले बताए । प्रायः सबैको रोजाइमा अर्गानिक उत्पादन पर्ने गरेका छन् । गाउँबाट सहर पसेका, पुख्र्यौदेखि सहरमै बसेका र विदेशबाट नेपाल घुम्न आएकाहरु सबैले अर्गानिक वस्तुको सोधीखोजी गर्ने र धेरैथोरै किनेर कोशेली लैजाने गरेका छन् । गाउँका किसानहरुले उत्पादन गरेका जैविक खाद्यान्न, तरकारी र जंगल तथा सिमसार क्षेत्रमा प्राकृतिक रुपमा नै उत्पादन हुने च्याउ, टुसा, मुना, निगुरो, ढकायो आदि ग्राहकहरुको रोजाइमा रहेको उनले बताए । कोसेलीघरमा मार्सी, गौरिया, गुडुरा, जेठोबूढो चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो, सातुजस्ता स्थानीय खाद्य सामग्री, लेकाली सिमी, बोडी, मुलाको जरा (सिन्धी), मूलाको गुन्द्रुक, घिउ, परम्परागत मुढेघारको मह, भीर मह, भाँगो, सिलम, जङ्गली रातो च्याउ, टुसा, निउरोको सुकुटी, ढकायोको गुन्द्रुक आदि बिक्रीका लागि राखिएको छ । मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुनका अनुसार म्याग्दीको दोवामा उत्पादन हुने ‘खैरो, छिर्केमिर्के सिमी, मुस्ताङको कालो सिमी र फापरको पिठो, तोरीपानीको टिम्मुर, रुममा उत्पादन हुने भाँगो, दोबा र बरन्जाका स्वादिष्ट बदाम, गुर्जाको रातोच्याउ र भीर मह अनि गौरिया, गुडुरा धानको चामल सहरमा बस्ने उपभोक्ताले बढी रुचाउने गरेका छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन) को जुससमेत खोजी गर्दै उपभोक्ताहरु आफ्नो पसलमा आउने गरेका उनले बताइन् । म्याग्दीमा पहिलोपटक १२ वर्षअघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो । कोसेली घर कृषकले घरमा उब्रेको थोरै कृषि उपज होस् वा कृषक समूहमा उत्पादित, फसल बजार पु¥याउने माध्यम भएका छन् । खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन, लेकाली प्राकृतिक हावापानीमा उत्पादित अर्गानिक खाद्य जे पनि बिक्री हुने व्यापारीहरु बताउँछन् । जंगलमा आँफै उत्पादन हुने निउरो, टुसा, ढकायो र रातो च्याउ टिपेर विक्री गरी वार्षिक रुपमा एक लाख रुपैयाँ बढी कमाइ गर्दै आएकी मालिका–२ रुमकी फारु विकले यस वर्षको असार दोस्रो सातासम्म २० हजार रुपैयाँको निगुरो र टुसा बिक्री गरेको बताइन् । ‘जेठदेखि साउनसम्म जङ्गलमा निगुरो, च्याउ, ढकायो, टुसा पाइन्छ । खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने चिन्ता पनि हुँदैन । जाँगर भएपछि पैसा जंगलमा पनि फल्छ’, विकले भनिन् । अर्गानिक समान बेच्न कोसेली घर सञ्चालन म्याग्दीको सदरमुकाम बेनीमा गत सोमबारदेखि जिल्लामा उत्पादित अर्गानिक सामानको खरिद र विक्रीका लागि कोशेली घरको उद्घाटन गरिएको छ । जिल्लाका किसानहरुले उत्पादन गरेका अर्गानिक वस्तुको बजारीकरण र प्रचारप्रसारका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालन गरिएको हो । म्याग्दीको ग्रामीण क्षेत्रहरुमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नागरपालिकाले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने उनीहरुले प्रतिबद्धता समेत जनाएका थिए । म्याग्दी उद्योग वाणिज्य संघको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ, म्याग्दीका अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको पाइएको छ’ नगर प्रमुख केसीले भने । महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमाया घतानेले सञ्चालन गरेको कोसेली घरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले जिल्लाका छ वटै स्थानीय तह र छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको जानकारी दिए । कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुरलगायत करिब सय थरिका सामान रहेको छ । त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी, बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आकर्षित गर्ने सञ्चालिका घतानेले बताए । म्याग्दीको अर्गानिक सामान (चिमखोले चोयाँको डोको, टिम्मुर, भीरमह, अल्लाका कपडालगायत) को माग विश्व बजारसम्म रहेको उनले बताए । उत्पादित वस्तुको बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्नेछ । रासस
वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए । पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने जानकारी दिए । आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताए । ‘सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्छौं’, उनले भने । अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको जानकारी दिए ।
देशका यी स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौंं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावमा छ । आगामी २४ घण्टामा सबै प्रदेशका मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न अनुरोध गरेको छ ।