विकासन्युज

ग्राहकलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न बैंकले ग्राहकलाई आग्रह गरेको हो । बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकको भनाइ छ । आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने छ  । बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि पनि प्यान अत्यावश्यक छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सो प्यानमा प्रबिष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकको छ ।

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ । उक्त साझेदारीमार्फत् बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ । नास आईटीमार्फत बैंकको डिजिटल बैंकिङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन् । नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन् ।  ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष शुरू गरेको छ ।

क्रेस्ट माइक्रोको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ । समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्ष देखि अधिकतम ६० वर्ष सम्म रहेको कम्पनीले जनाएको छ । बीमा अवधि ५ वर्ष देखि २० वर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको जनाइएको छ । न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषता यस योजनामा रहेको कम्पनीले उल्लेख गरेको छ ।  कम्पनीका अनुसार योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुनेछ । आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस विषयमा सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ । सम्झौता अनुसार देशभर रहेका १३ हेयर एन्ड शान्ति ब्युटी पार्लरका शाखाहरूबाट सेवा लिए बापतको भुक्तानी बैंक कार्ड वा मोबाइल बैंकिङ मार्फत गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौताबाट नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन्, ‘दिन बिताउन साह्रै गाह्रो भयो’

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुई जना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिक सत्रमा दुई जनामा सीमित भएको छ । उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् । धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउँछन् । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनी बताउँछन् । उनले भने, ‘विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ। पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि शहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।’ खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उनले जानकारी दिए ।  उनले भने ,’नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ ।’ जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए ।  रासस

हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन्-‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ । राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् । ‘हिउँदभरि बनायो, बर्खाभरि बगायो भइरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैँ पीडित हुने गरेका छौँ,’ काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘मध्यपहाडीबाट आएको भलबाढी घरघरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो ।’ जिल्लाका अधिकांश सडक रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् । हिलो र गेग्रायनले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ –१२ का शिव पाठक बताउँछन् । सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिराका कारण समयमा सडक खुल्दैनन् । ‘नगरले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम गरिरहेकै छ तर निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन्, ‘बर्खा रहुञ्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।’

राष्ट्र बैंकले नयाँ लघुवित्तलाई लाइसेन्स दिँदै, यस कारण जन्मियो सम्पदा लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त ‘सम्पदा’ वित्तीय संस्थालाई अनुमति दिने भएको छ । यस लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । यस्तै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् । राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र (लाइसेन्स) प्राप्त लघुवित्त संस्थालाई लघुवित्तीय कारोबार गर्न अनुमति दिने तयारी गरेको हो । यसरी जन्मियो सम्पदा लघुवित्त  साधना लघुवित्त र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भयो । दुई संस्थाको वार्षिक साधारण सभाले मर्जरको प्रारम्भिक सम्झौता पारित गरे । गत बैशाख १२ गते दुवैबीच मर्जरमा जाने अन्तिम सम्झौता भयो । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति थियो । एकीकृत कारोबार गर्ने प्रयोजनका लागि अन्तिम स्वीकृति माग्दै दुवै संस्थाले राष्ट्र बैंकमा अन्तिम सम्झौतापत्र पेस गरे । राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति पनि दियो । तर, राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न भन्यो । आफ्नो नाम र अस्तित्व समाप्त भएपछि सबैको लघुवित्तका कर्मचारी असन्तुष्ट थिए । तर, नियामक राष्ट्र बैंकको निर्णय नकार्न सकेनन् । यता साधना लघुवित्तका कर्मचारीहरू भने साधना लघुवित्त नाम आएपछि खुसीयाली मनाउन थाले । उनीहरूले ‘साधना टू बी कन्टिन्यूड’ भनेर उत्सव मनाए । केक काटेर मनोरञ्जन गरिरहेका फोटाहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सबैको लघुवित्त परिवार थप असन्तुष्टि बन्यो । ‘राष्ट्र बैंकले नाम हटाएपछि असन्तुष्ट थिए तर, अन्तिम स्वीकृति पाएपछि साधना लघुवित्तका कर्मचारीहरूले ‘साधना टू बी कन्टिन्यूड’ उल्लेख गरेको केक काटेर सेलिब्रेसन गरेपछि थप असन्तुष्ट बने,’ स्रोतले भन्यो, ‘साधना लघुवित्तका कर्मचारीले केक काटेपछि एकीकृत कारोबार अगावै हेपेको भन्दै सबैको लघुवित्तका कर्मचारीहरूले विरोध जनाए ।’ दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएपनि आफ्नो नाम र अस्तित्व समाप्त हुने गरी भएको निर्णय निन्दनिय र मर्जरपश्चात् सम्झौता अनुरूप नै नाम हुनुपर्ने माग राखे । त्यसपछि नयाँ नामाकरण गर्दै सम्पदा लघुवित्तको नामबाट कारोबार गर्ने गरी सहमति भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा मर्ज भई एकीकृत कारोबारको अन्तिम तयारीमा छन् । नयाँ नामको प्रक्रिया अघि बढेको र सबै निकायबाट अनुमति पाउने बित्तीकै एकीकृत कारोबार गर्ने बताइएको छ । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर–१ डुम्रे र साधना लघुवित्तको गोरखाको गोरखा–६, हरमटारीमा छ । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ । कुन सूचकमा को बलियो ? चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ र जगेडा कोष १७ करोड ५९ लाख रुपैयाँ छ । लघवित्तले १ अर्ब ३६ करोड रुपैयाँ संकलन गरी ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) ४.१० प्रतिशत, प्रतिसेयर आम्दानी २१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.४३ गुणा र प्रतिसेयर नेटवर्थ १४८.०८ रुपैयाँ रहेको छ । चैतसम्म लघुवित्तले खुद नाफा ६ करोड १२ लाख रुपैयाँ, खुद ब्याज आम्दानी २१ करोड २४ लाख रुपैयाँ गरेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ र जगेडा कोष ६ करोड ८८ लाख रुपैयाँ छ । यस्तै, लघुवित्तले १ अर्ब १९ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २० करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तकको एनपीएल ४.६१ प्रतिशत, प्रतिसेयर आम्दानी ८.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९३.६८ गुणा र प्रतिसेयर नेटवर्थ १३८.९६ रुपैयाँ रहेको छ । चैतसम्म लघुवित्तले १ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेका छ भने १४ करोड १९ लाख रपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

एनसीएचएलको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । विद्यमान संस्थापक सेयरधनीका लागि आजदेखि लिलामीमार्फत बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेस गर्दा इन्छुक संस्थापक सेयरधनीले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असार २५ गते रहेको छ ।