काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने जानकारी दिए ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नयत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने जानकारी दिए ।
‘जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन्, उनले भने ।
उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।