विकासन्युज

मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौंसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम-पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् । प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए । ‘लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायताका साधान ठप्प भएका छन्, यहाँ वर्षा हुँदा वित्तिकै पहिरो खस्ने समस्या भएकाले यात्रीले सास्ती खेप्नुपरेको छ,’ प्रहरी उपरीक्षक कँडेलले भने । लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ ।

भू-क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण

म्याग्दी । म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा १ सय ६६ योजना निर्माण गरिएका छन् । म्याग्दीमा १९, बागलुङमा ४७, मुस्ताङमा नौ, पर्वतमा ४५ र स्याङ्जामा ५३ वटा नदी, बाढी र पहिरो नियन्त्रणसम्बन्धी योजना निर्माण भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए । ‘पुँजीगत शीर्षकमा एक सय ७३ वटा योजनाका लागि ८ करोड ९१ लाख ५० हजार बजेट विनियोजन भएकामा सातवटाबाहेक सबै कार्यान्वयन भए,’ उनले भने । ती आयोजनाबाट तीन हजार परिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्न ८ करोड २७ लाख ७ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख पौडेलले बताए । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा ग्याबियन पर्खाल, तटबन्ध निर्माण गर्ने, भलबाढी तर्काउने नाली निर्माण, खोल्सी संरक्षण, पोखरी निर्माण र मर्मतसम्बन्धी काम भएको छ । समग्रमा ९५ प्रतिशत भौतिक र ८८.९४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । १४ वटा पानीका मुहान संरक्षण र १३ वटा पोखरी निर्माण तथा मर्मतसम्भार गरिएका छन् । कार्यालयअन्तर्गतका नर्सरीमा ६५ हजार घाँसका बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ। म्याग्दीको मालिका गाउँपालिकामा दरबाङ, फूलबारी, खोप्टी, चिउरीबोट, मङ्गलाको पीपलबोट, ताराखेत, थापाचौर, सिद्धथान, रघुगङ्गाको दर्मीजा तातोपानी कुण्ड, सिजलगाउँ बाहुनबारी, धौलागिरि गाउँपालिकाको पन्थोक भूमेथान, बेनी नगरपालिकाको चिप्लेटी बस्ती र ढोल्थान दरवार संरक्षण योजना निर्माण भएको कार्यालयका सवइञ्जिनियर देवान विकले बताए । यसैगरी बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान संरक्षण, रघुगङ्गा–२ बुझबुझेमा पोखरी निर्माण र बेनपा–२ खबरामा सिम्ले पोखरी मर्मत भएको छ । आगामी आवका लागि म्याग्दीका १६ वटा योजनाका लागि ७९ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । आर्थिक वर्षमा कुल १२ करोड ९० लाख बजेट प्राप्त गरेको कार्यालयमार्फत कार्यान्वयन हुने पर्वतमा ५१, बागलुङमा ४६, स्याङ्जामा ३८ र मुस्ताङमा आठ योजना छनोट भएका छन् ।

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

भरतपुर । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताए । ‘बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौं,’ उनले भने। आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आएका छन् । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ । पटेलले भने, ‘शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।’ बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उनले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गरे । पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताए । ‘नदीमा पानीको बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौं,’ उनले भने । यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताए । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । रासस

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

बागलुङ । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए। अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ। कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउँछन् । ‘पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ,’ उनले भने । कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन्। बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए । उनले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै दुई हजार तिर्नुपरेको गुनासो पोखे । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाए। ‘बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन,अझै कति दिन लाग्ने हो रु हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ,’ उनले भने, ‘अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौं ।’

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान, ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । यससँगै कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् । नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएको शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आज के–के भयो ?

काठमाडौं । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उनले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए । ‘नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट ३÷४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन,’ उनले भने । नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको उनको भनाइ छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए । उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

अवैध क्यास एपमा वालेट र बैंकखाता लिङ्कअप गरी ५ करोड कारोबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौं रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार आरोपितहरूले ‘क्यास एप’ नामक अनलाइनको प्रयोग गरी अवैध आर्थिक कारोबार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरूले ‘नगद एप सर्भर’ को पहुँच दिई ६ वटा इसेवा वालेट, ५ टा आइपीएस खाता जडान र सोही खाता मेरो लिङ्कअप भएका १९ वटा विभिन्न बैंकका खाताहरू समेतमा अवैध तरिकाले क्यास एपमार्फत ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट आइफोन ५ थान, ल्यापटप ३ थान बरामद गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो । राष्ट्रिय सहकारी बैंकका सूचना तथा प्रविधि शाखा प्रमुख नवीनकुमार कार्कीले ‘अण्डरस्ट्याण्डिङ्ग साइबर रिस्कः टेक्निक्स फर जर्नलिष्ट’ विषयमा प्रशिक्षण दिएका थिए । प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने भन्दै उनले सामाजिक सञ्जाल र प्रविधिद्वारा आएको सूचनालाई सहजै विश्वास गर्न नहुने बताए । पछिल्लो समय साइबर सुरक्षाको जोखिम बढ्दै गएकाले पत्रकारहरु यसतर्फ सावधान रहेर आफ्ना गतिविधिलाई अगाडि बढानुपर्नेमा उनको जोड छ । कार्कीले फेसबुक, ह्वाट्सएप, भाइबर, वेबसाईट तथा इमेलबाट ह्याकरहरूले प्रहार गर्नेहुँदा यसतर्फ सबै सचेत हुनुपर्ने बताए । आफ्ना व्यक्तिगत विवरण जथाभावी प्रयोग गर्दा थप जोखिम आउन सक्ने उनको भनाई थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी थिए । उनीहले तालिमले व्यक्तिगत जीवन र कार्यक्षेत्रमा उपयोगी हुने धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए ।