जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ । महानिर्देशकस्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आग्रह गरिएको हो । विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् । नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ ९दोस्रो संशोधन २०७१० को दफा १६ को उपदफा (२० तथा ९३) बमोजिम सूचीकृत हुन १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो । यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । सोमबार चाँदी १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
लुतो फ्याक्ने पर्व : हराउँदै गएको चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो । सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो । धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन । आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ । यसै कारण होला लुतो फ्याक्ने प्रचलन हराउँदै गएको छ । लुतो फ्याक्ने प्रचलनलाई सुक्ष्म दृष्टिले हेरेमा यो मनोरञ्जनको माध्यम हो, स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने माध्यम हो । नेपालको कृषिप्रधान युगको संस्कृति हो, तत्कालीन समाजको जनविश्वास पनि हो । नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ । साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ । विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ । लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा धमाधम हुँदा केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन । हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो । रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो । त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो । यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए । तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ । लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ । कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ । हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो । खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पु¥याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ । श्रावण १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो । विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन् । यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ । सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पात बिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ । त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ । झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ । कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ । कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ । अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो । । तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै । विसं २०१५ अघिसम्म जिल्लाजिल्लामा सरकारी स्तरबाटै गर्ने गरिन्थ्यो । धनकुटा जिल्लाको निशानस्थानमा सबै अड्डाका प्रमुखसहित बडाहाकिमको उपस्थिति हुन्थ्यो । माथि उल्लिखित विधिद्वारा राजपुरोहितको निर्देशनमा पूजाआजा हुने र मूलकर्ता बडाहाकिम वा उनले तोकेको अधिकारी हुने चलन थियो । कन्दारकको पूजा आराधनापश्चात् १० दिशामा अगुल्टो फाल्दै लुतो फालिन्थ्यो । यो बढाइ सकेपछि गाउँघरमा लुतो फाल्ने कार्य प्रारम्भ हुन्थ्यो । त्यतिबेला लुतो फाल्ने दिनदेखि तीन दिनसम्म गोरु जोत्नु हुँदैन भन्ने मान्यता थियो । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरलगायत केही धार्मिक स्थलमा सामूहिक रूपमा लुतो फाल्ने कार्यक्रम चलेको देखिन्छ । यस्ता प्रकारका मौलिक संस्कार अब सहरबाट प्रायः लोप भइसके भने पनि हुन्छ तर गाउँघर विशेषगरी कर्णाली क्षेत्रमा यो परम्परा अहिले पनि कायमै रहेको छ । बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ । रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो । लुतो फाल्ने उत्सवको महत्त्व र गरिमा विषयमा चिन्तन मनन् नहुँदा र यसको उपादेयताको विषयमा भावी पुस्तालाई जानकारी गराउन नसक्दा यस्ता कतिपय संस्कार–परम्परा लोप हुने स्थितिमा छन् । लुतो फाल्ने उत्सव नेपालको समाज, संस्कृति, इतिहास र जनविश्वाससँग गाँसिएको छ भन्ने जानकारी गराउन आवश्यक छ । यस पर्वलाई सचेतना दिवसका रूपमा पनि लिन सकिन्छ । सफा हुनाले छालाको रोग लाग्दैन भन्ने सन्देश यस पर्वले दिएको छ । यसैगरी विभिन्न जङ्गली झारपात तथा रुख–लहरा सञ्जीवनी बुटी हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि यस लुते सङ्क्रान्तिले जगाएको छ । आयुर्वेद उपचार पद्धतिमा यस्ता वनसम्पदाको ठूलो महत्त्व छ तर हामीले यस्ता पद्धतिप्रतिको अविश्वास वा आधुनिक चिकित्साप्रतिको मोहका कारणले यस्ता वनस्पति चिन्न सकेका छैनौँ । यी प्राकृतिक विधि लोप हुने स्थितिमा छन् । तिउरी लगाउँदा हिलोले खाएका हात खुट्टालाई फाइदा हुन्छ भन्ने कुरा नै धेरैले बिर्सिसकेका छन् । तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न छालाका रोगबाट बच्न सकिने जनविश्वासका साथ कर्णाली क्षेत्रको ग्रामीण भेगमा यो चलन अहिले पनि चलिरहेको पाइन्छ । अनिकाललगायतका प्राकृतिक प्रकोप झेल्न नपरोस् भन्ने आशयले पनि यो लुते पर्वको चलन चलेको भनाइ पनि छ । साउने सङ्क्रान्तिको दिन दिउँसो खरानीमा कपडा पकाएर धुने चलनबाट त्यतिबेलाको सामाजिक स्थिति बुझ्न सकिन्छ । त्यो बेला साबुन, पाउडर जस्ता लुगा सफा गर्न प्रयोग हुने वस्तुको अभाव हुने हुँदा स्थानीय तवरबाटमा नै उपलब्ध हुने वस्तुको प्रयोग गरिन्थ्यो । लुते सङ्क्रान्तिदेखि तीन दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ । यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो । यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो । यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो । यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो । यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका रिसराग विसङ्गति जस्ता समाजमा देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो । वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो । हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुते फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व र उपादेयता देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो । यस्ता संस्कारलाई भावी पुस्तासम्म पुर्याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ । रासस (लेखक संस्कृतिविद् हुन्)
नेप्सेमा सरकारका दुई विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल सरकारका दुई वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले उक्त विकास ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।
काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् । प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् । काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो । त्यस्तै यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनले बताएका छन् । मेयर शाहले लेखेका छन्,‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’ महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवतीहरू रोजगार/स्वरोजगार भएको पनि मेयर शाहको दाबी छ ।
भारतमा थोक मुद्रास्फीति बढ्यो
काठमाडौं । अखिल भारतीय थोक मूल्य सूचकांक (डब्ल्युपिआई) मा आधारित मुद्रास्फीतिको वार्षिक दर जुनमा ३.३६ प्रतिशत कायम रहेको छ । मेमा २.६१ प्रतिशत रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । जुन २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन, आदिको कारण रहेको मन्त्रालयले बताएको छ । यसले डब्ल्युपिआई खाद्य सूचकांकमा आधारित मुद्रास्फीतिको वार्षिक दर जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतमा वृद्धि भएको र मे २०२४ मा ७.४० प्रतिशतको तुलनामा थपिएको छ । खाद्यान्नको मूल्यहरू जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो । जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । तरकारीको मूल्य अघिल्लो महिनाको ३२.४२ प्रतिशत वृद्धिको तुलनामा ३८.७६ प्रतिशतले बढेको थियो । यद्यपि सबैभन्दा ठूलो उछाल देखापरेको थियो । प्याजको हकमा मे महिनामा ५८.०५ प्रतिशतबाट जुन ९३.३५ प्रतिशत पुगेको छ । फलफूलको डब्ल्यूपीआई पनि मे महिनामा ५.८१ प्रतिशतबाट बढेर जुनमा १०.१४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांकले देखाएको छ ।
नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड
काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । ‘तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो’, उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’ उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए । उनले भने, ‘नबिल बैंकसँग नयाँ ढाँचाको व्यावसायिक साझेदारीबाट दोहोरो व्यावसायिक प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो, त्यसबाहेक समाजले पनि मुलुकमा भइरहेको विकासलाई तस्बिरमार्फत नजिकबाट अनुभव गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।’ प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतिघरमा रहेका घर भत्काउँदैका तस्बिरदेखि ५० सालतिर काठमाडौंको भरपर्दो यातायातको साधन बिक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो । त्यसै गरी नेपाल वायुसेवा निगमले २०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्बिर पनि प्रदर्शनीमा राखिएको छ । कुपण्डोलका अमृत खड्गी आइतबार दिउँसो दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालय परिसरमा जारी तस्बिर प्रदर्शनी अवलोकनपछि निकै खुसी देखिन्थे । कामका सिलसिलामा बैंक आएका उनले सोही अवसरमा प्रदर्शनीमा ऐतिहासिक तस्बिर हेर्न पाउँदा रमाइलो लागेको सुनाए । ‘तस्बिर हेरेपछि पछिल्लो ४० वर्षमा मुलुकले ठुलो विकास गरेको रहेछ भन्ने लाग्यो, विभिन्न क्षेत्रमा भएका विकासलाई एकै ठाउँमा हेर्न पाउँदा निकै खुसी लाग्यो’, उनले भने । प्रदर्शनीमा नबिल बैंकको इतिहास सुरुआती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पुरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ ।
ह्वावे नेपालले घोषणा गर्यो ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता
काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको ह्वावेले जनाएको छ । कम्पनीका अनुसार ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थीमध्येबाट ३० जनालाई छनोट गरिएको थियो । तीमध्ये निर्णायकमण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तर्वार्ताको सूचीमा परेका विद्यार्थीबाट विजेता चयन भएका छन् । कार्यक्रमको शीर्ष स्थानमा रहन सफल विद्यार्थीमा आशिष कार्की, एनजिलिना घिमिरे, प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की छन् । उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिने ह्वावेले जनाएको छ । आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले २५ वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ । डिजिटल प्रविधिमा विश्वव्यापीरूपमा युवा प्रतिभाहरूको प्रवर्धनका लागि समर्पित ‘सिड्स फर द फ्युचर’ हुवावेको प्रमुख कार्यक्रम हो । कार्यक्रमको स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह रहेका थिए ।