स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सीएमसीमा गत वर्ष ५ करोड बढीको निःशुल्क सेवा
चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भई आएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट पारेको हो । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्वाधरूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।’ एक प्रश्नको जवाफमा अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा संघीय सरकारले दिएको १ लाख रुपैयाँसम्मको छुट लिने बिरामी सङ्ख्या ९ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार २ सय ३१ र भरतपुर महानगरका महिलाहरूको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत ४ हजार ३ सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताए । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । डा लम्सालले आर्थिक वर्ष २०८१÷८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने १ लाख ७ हजार ३ सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक
म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए । तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए । आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए । सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् । सार्कमुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उनले बताए।
अर्थमन्त्रीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेपछि ९ अर्ब बढीको कारोबार, दर्जन कम्पनीमा सर्किट
काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार सकारात्मक लयमा थियो । यसपटक पनि उनी अर्थमन्त्री हुने चर्चासँगै पुँजी बजार उकालो यात्रामा छ । अहिले पुँजी बजारमैत्री अर्थमन्त्री पाएको भन्दै लगानीकर्ता उत्साहित भएको मंगलबारको सेयर बजारले पनि प्रस्ट हुन्छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको हो । साढे २ वर्षपछि नेप्से परिसूचकले २३ सय अंक पार गरेको हो । मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढ्दा एक दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरूण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै सिक्लेस हाइड्रो, सिंगटी हाइड्रो, रिडी पावर कम्पनी, अरूण भ्याली हाइड्रो, इङ्ग्वा हाइड्रो, अपि पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । मंगलबार दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर १ करोड १९ लाख बढी पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्याङ्दी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरूण भ्यालीको १६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थमन्त्री पौडेलले सोमबार पदभार ग्रहण गर्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने र लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनको भनाइ छ । साथै साउन महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूका ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।
मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले ८० लाख रुपैयाँ बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए । ‘मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ’, उनले भने । घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा ३० लाख रुपैयाँ बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुंगाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ । मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ । बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ । घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो । थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ । १० लाख रुपैयाँ बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । १० लाख रुपैयाँ बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । १०/१० लाख रुपैयाँ बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए । आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा दुई करोड १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । रासस
साढे २ करोड खचेर पाउँदीमा बन्यो १०८ फिट अग्लो महादेवको मूर्ति
लमजुङ । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याग्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदवको मूर्ति निर्माण गरेको हो । समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह)को मूर्तिसमेत निर्माण गरिएको बताए । काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ । त्यसका लागि दुई करोड ५० लाख खर्च रुपैयाँ भएको उनले जानकारी दिए । मूर्तिमा रङरोगन सम्पन्न भएको छ । सोही परिसरमा १०८ शिवलिंग र १०८ धारा निर्माण गर्न लागिएको छ । धाराका लागि पर्खाल सम्पन्न भइसकेको छ । राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ । हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । धारा तथा शिवलिंग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम रु ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ । बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ । उनका अनुसार त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख रुपैयाँ बढी चन्दा संकलन भएको छ । यहाँ मर्स्याग्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । डुम्रे–बेँसीसहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ । यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिंग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गतन्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । रासस
विदेशी खोपको डम्पिङ साइट बन्दै नेपाल, ‘आयात हुन्छ, प्रयोग हुँदैन’
काठमाडौं । कुनैबेला खोप लगाउनकै लागि तछाड मछाडको अवस्था थियो । जुन बेला कोरोनाको कहरले मान्छेलाई घरभित्रै थुनिनु पर्ने अवस्था थियो । मान्छेले मान्छेलाई देख्दै भाग्नुपर्ने अवस्था थियो । कोभिड संक्रमणको त्रासमा रहेका नागरिकले तब राहातको महसुस गरे जब कोभिड १९ विरुद्धको खोप बन्यो र लगाउन सुरु भयो । नेपाल सरकारले विभिन्न देशबाट खोप ल्याइसकेपछि खोप लगाउन नागरिकको दौडधुप सुरु भयो । मान्छे खोप लगाउन काम छोडेरै अस्पताल पुगे । खोपकै लागि घण्टौं लाइनमा बसे । यति सम्म कि खोप पाउन सोर्स फार्स नै लगाउनुपर्यो । कतिपय ठाउँमा भ्याक्सिन नै गायव पारिएका समाचारहरू पनि आए । अझ विदेश जानेहरूले त लाइनमा बस्दा खोप नै नपाएपछि पहुँचको आधारमा खोप नलगाएर कार्ड बनाउन समेत भ्याए । धेरैजसोले पहिलो, दोस्रो र बुस्टरडोज पनि लगाए भने कतिपयले पहिलो र दोस्रो मात्र लगाए । तर, अहिले खोप नागरिकको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अहिले कोरोना विरुद्धको खोप नागरिकले लगाउन छोडेको बताउँछन् । ‘खोप लगाउँदा कसैलाई हानी गर्देन, बरु राम्रो हुन्छ,’ उनी भन्छन, ‘यति भन्दा पनि खोपप्रति नागरिकको रुची घट्दै गएको छ, नागरिकले खोप नलगाइदिँदा खोप खेर जान थालेको छ ।’ नेपाल सरकारले भेरोसेल, कोभिडसिल्ड, स्ट्राजेनेका, जोनसोन एण्ड जोनसेन, मोडर्ना र फाइजर लगायतका खोपहरू ल्याउँदै आएको छ । नागरिकहरूले खोप लगाउन छोडेपछि धेरै खोप खेर नै गएको छ । खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती एकातिर छ भने अर्कोतिर सरकारले फेरि १६ लाख बढी कोरोना विरुद्धको खोप ल्याएको छ । ल्याएको खोप कहिले कहाँ र कसरी लगाउन सुरु गर्ने भन्ने ठोस निर्णय नै बनाएको छैन । डा. प्रकाश बुढाथोकी । नागरिकले खोप लगाउन छोडेको बेला सरकारले खोप ल्याएपछि कतिपयले आलोचना समेत गरेका छन् । नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्र्तगत कोभिडविरुद्धको खोप आउँछ । खेर गएको खोप नस्ट गर्न चुनौती नेपालमा खरिद तथा अनुदान गरी अहिलेसम्म ६ करोड ७७ लाखा मात्रा खोप ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९१.१ प्रतिशत नागरिकले पहिलो मात्रा, ९४.२ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् भने पहिलो बुस्टरको मात्रा ४६ प्रतिशत र दोस्रो बुस्टरको मात्रा ७ प्रतिशतले लगाएका छन् । खोप ल्याउनु राम्रो भएपनि त्यो भन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीमा ध्यान नदिँदा खोप खेर गइरहेको छ । जुन राम्रो अभ्यास नभएको जानकारहरु बताउँछन् । सरकारले चीनबाट अनुदानमा ल्याएको ४० लाख खोप खेर गएको छ । लामो समयसम्म पनि प्रयोगमा नआएपछि सनोभ्याक-कोरोनाभ्याक खोप खेर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोग नभएर खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेको छैन । यो खोप चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल ल्याइएको थियो । किन यति धेरै मात्रामा खोप खेर गयो भन्ने प्रश्नमा आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका व्यक्तिले मात्र लगाउन मिल्ने हुँदा खेर गएको जवाफ दिन्छन् । खोप खेर जानुको दुई/तीन कारण छन् । ‘त्यो बेला अधिकांश नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका थिए,’ डा. चौरासिया भन्छन्, ‘यो खोप आइसकेपछि खोप सल्लाहकार समिति र डब्लूएचओले प्राइमरी सेयरिङमा लगाउन नमिल्ने अथवा कनै पनि खोपको पहिलो र दोस्रो मात्रा लगाएकोले लगाउन नमिल्ने निर्णय गर्यो, अर्को कुरा हामीले अनुदानमै त्यो भन्दा राम्रो खोप पायौं, त्यसैले पनि यो खोप प्राथमिकतामा परेन र खेर गयो ।’ ‘राम्रो खोप ल्याएका हौं’ सरकारसँग भएको खोप नागरिकले नलगाई थन्किरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने फेरि कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । गत साता स्वास्थ्य मन्त्रालयले १६ लाख ६८ हजार चार सय ८० मात्रा फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका उनका अनुसार यो खोप वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख १ हजार २८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार २ सय मात्रा खोप ल्याएको हो । असार १६ गते २ लाख ७६ हजार ४८० मात्रा, असार १७ गते २ लाख ७० हजार ७२० मात्रा, असार १८ गते २ लाख ७६ हजार ४८० मात्रा, असार २० गते २ लाख ७६ हजार ४८० मात्रा, असार २१ गते २ लाख ७० हजार ७२० मात्रा र असार २३ गते २ लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो । खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) बाट अनुदानमा ल्याइएको जनाइएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतम अहिले ल्याएको खोप कुनै पनि खोप नलगाएका व्यक्ति र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने बताउँछन् । खोप खेर गइरहेको बेला फेरि किन खोप ल्याइयो भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाले अहिले पनि कोभिड संक्रणका बिरामी भेटिरहेकाले सुरक्षित रहन खोप ल्याएको बताएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । शाखाका प्रमुख डा. चौरासिया अहिलेको नयाँ सम्झौता नभई पहिले नै खोप दिने प्रतिबद्धता अनुरुप खोप आएको बताउँछन् । कतिपय देशले अहिले पनि खोप लगाएको प्रमाण मागिरहकाले विदेश जाने युवा, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीका लागि खोप आवश्यक रहेको बताउँछन् । सित्तैमा पाउँदा जतिपनि ल्याउने प्रवृत्ति कोरोनाको खोपमात्र होइन नेपालमा बालबालिकालाई लगाइने खोप पनि वर्सेनि लाखौं डोज खेर गइरहेको हुन्छ । यत्तिकै मात्रामा औषधी पनि खेर जान्छ । नेपालमा औषधीजन्य पदार्थ यसरी खेर जानुमा नेपालले आवश्यक छैन भनेर भन्ने हैसियत नराखेकोले भएको जानकारहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी आवश्यक नभएको सामान कसैले लैजा भन्दा नाइँ भन्न नसक्नु पनि यसको एक कारण रहेको बताउँछन् । ‘कतिपय संघ सस्थाले नेपाललाई खोप लगायतका धेरै जस्तो स्वास्थ्य सामाग्री सहयोग गर्छन्, यो राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘तर आवश्यक नभएको सामान फाल्नलाई मात्र ल्याउनु हुँदैन, कुनै सामान ल्याउनुअघि यसको उपयोग कसरी गर्ने भन्ने योजना हुनुपर्छ ।’ कतिपय सरोकारावाला भने नेपाललाई विदेशी संघसस्थालदे डम्पिङसाइडको रुपमा प्रयोग गरिरहेको बताउँछन् । विज्ञहरूको यस्तो प्रश्नमा डा. चौरासिया आपत्ति जनाउँछन् । उनी आवश्यक नभएका कतिपय सामानलाई पर्दैन भनेर नल्याएको बताउँदै नाइ भन्न सक्ने हिम्मत भएको र भनिरहेको बताउँछन् । व्यवस्थापनमा चुनौती सेवाग्राहीले प्रयोग नगरी म्याद सकिएको कोराना भ्याक्सिन कसरी नष्ट गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले कुनै निर्णय गरेको छैन । भ्याक्सिन नष्ट गर्दा झोल कसरी नस्ट गर्ने सीसा के गर्ने भन्ने योजना पनि बनाउन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा, व्यवस्थापन महाशाखाका प्रमुख उपेन्द्र ढुंगाना खेर गएको औषधि र भ्याक्सिन व्यवस्थापनका लागि भइरहेको बताउँछन् । कुनै पनि सामग्री नस्ट गर्न जिन्सी निरीक्षण प्रतिवेदन बनाउनुपर्ने कार्यविधमा उल्लेख छ । यसका लागि अब यो साउनमा समिति बनाएर खेर गएका औषधी र भ्याक्सिनबारे छलफल गर्ने उनी बताउँछन् । समितिले जिन्सी निरीक्षण प्रतिवेददन बनाइ बुझाइसकेपछि प्राविधिक रुपमा कसरी नस्ट गर्ने भन्ने कुरा अगाडि बढ्छ,’ ढुंगाना भन्छन्,’ ‘हामीसँग म्याद सकिएका औषधी नस्ट गर्ने दुई/तीन वटा उपाय छन्, यीमध्ये कसरी खोप नस्ट गर्ने भन्नेबारे छलफल गर्न बाँकी छ ।’ कार्यविधि अनुसार म्याद गुज्रेका अथवा प्रयोगमा नआउने औषधी उत्पादकलाई फिर्ता गर्ने, केमिकल विधिबाट नस्ट गर्ने र अल्ट्रा हाइ टेम्प्रेचर अथार्त अधिक तापक्रमले नस्ट गर्न सकिने उल्लेख छ । कोभिडको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले गैर–खतरानाक औषधिजन्य फोहोर भनेको छ ।
नवनियुक्त महिलामन्त्रीले पदभार सम्हाँल्दै भने : जनतालाई केन्द्रमा राखेर काम गरौं
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हालेका छन् । पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।’ यसअघि उनी वन तथा वातावरणमन्त्री भएका थिए । विसं २०४७ देखि राजनीतिमा सक्रिय उहाँ जनता समाजवादी पार्टीमा आबद्ध छन् । उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सप्तरीको हनुमाननगर कङ्कालीनी–९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो ।